ad ad

राजनीति


वीरगञ्ज: सरावगी भित्र्याएर एमालेले जसपा र कांग्रेसलाई टक्कर दिन सक्ला?

वीरगञ्ज: सरावगी भित्र्याएर एमालेले जसपा र कांग्रेसलाई टक्कर दिन सक्ला?

वीरगञ्ज प्रमुख सरावगीलाई पार्टी प्रवेश गराउँदै एमाले अध्यक्ष केपी शर्मा ओली


केशव सावद
चैत ९, २०७८ बुधबार २०:१२, काठमाडौँ

स्थानीय तह निर्वाचनमा मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा त्रिपक्षीय भिडन्तको सम्भावना देखिएको छ। 

सत्ता गठबन्धनबीच चुनावी तालमेल नभए वीरगञ्जमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच प्रतिस्पर्धा हुने स्थिति छ। वीरगञ्जका वर्तमान प्रमुख विजयकुमार सरावगीलाई भित्र्याएपछि एमालेले  कांग्रेस र जसपासँगको प्रतिस्पर्धामा आफूलाई उभ्याएको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा २०७४ पाँचौँ स्थानमा चित्त बुझाएको एमाले सरावगी भित्र्याएपछि पहिलो र दोस्रो भएका दलसँग प्रतिस्पर्धा गर्ने हैसियतमा पुगेको हो। 

तत्कालीन संघीय समाजवादी फोरम नेपालका तर्फबाट वीरगञ्जको प्रमुखमा विजयी भएका जसपाका केन्द्रीय सदस्य सरावगी पार्टी परित्याग गरेर आएपछि एमाले हौसिएको छ। 

राजनीतिक विश्लेषक चन्द्रकिशोर झा भने महानगरका प्रमुख सरावगीको पार्टी प्रवेशले एमाले हौसिहाल्नुपर्ने अवस्था देख्दैनन्। आबद्ध दलले निर्वाचनमा फेरि टिकट दिन नसक्ने अवस्थामा पुगेका नेता भित्र्याउँदैमा फुर्किने दलहरुका बारेमा जनता जानकार रहेको टिप्पणी उनले गरे।

‘उहाँ (सरावगी) जुन दलमा हुनुहुन्थ्यो त्यो दल टिकट दिन नसक्ने अवस्थामा पुगिरहेको थियो भने त्यस्तो कबाडहरुलाई भित्र्याएर कुनै दल फुर्किन्छ भने जनता सबै जान्दछन्,’ उनले भने, ‘ठूला दलसँग जोडिँदैमा, ठूला घरको छोरा वा छोरी हुँदैमा असल हुन्छन् भन्ने ठोकुवा त छैन नि। जनताले त्यसको निर्णय गर्छ।’

एमालेले सरावगीका सकारात्मक पक्षलाई जनता माझ प्रष्ट्याएर जानसक्नुपर्ने उनले बताए।

‘मधेश प्रदेशको एक मात्र महानगरको प्रमुखको विकासको मोडल, सुशासन, महानगरपालिकाभित्रको समावेशिता, घरदैलोको सरकारको अन्तर्यलाई परिपूर्ति गर्ने सवालमा उहाँको अभ्यास अब्बल छ, त्यो अभ्यासलाई हामीले अरु ठाउँमा पनि देखाउन चाहन्छौँ, त्यसकारण विजयकुमार सरावगीलाई ल्यायौँ भनेर एमालेले भन्न सक्नु पर्यो नि,’ उनले भने।

तर, एमाले पर्सा भने सरावगीको प्रवेशले निर्वाचन जित्नेमा ढुक्क देखिन्छ। जिल्ला अध्यक्ष प्रभु हजारा महानगरका प्रमुख सरावगी र उनीसँगै एमाले प्रवेश गरेका वडाध्यक्षहरुका कारण चुनाव जित्न आफूहरुलाई सहज भएको जिकिर गर्छन्। 

‘गएको चुनावमा ५ वडा जितेका छौँ। ५÷७ वडामा थोरै मतले हारेका हौँ। सरावगीजीसँगै ४ वडाध्यक्ष, २४ वडा सदस्य र अन्य नेता–कार्यकर्ताहरु हामीसँग आउनुभएको छ,’ उनले भने, ‘अब हामीलाई महानगर जित्न सजिलो छ।’

उता सरावगीले परित्याग गरेको दल जसपाले उनको बहिर्गमनको पूर्ति गर्न गत निर्वाचनमा महानगर प्रमुखका प्रत्यासी राजेशमान सिंहलाई पार्टी प्रवेश गराएको छ। सरावगीको बहिर्गमनले पार्टीलाई कुनै फरक नपरेको जसपा पर्साको दाबी छ। 

‘सरावगीजी जाँदा व्यक्तिगत रुपमा दुःखै लागेको छ। पार्टीगत रुपमा कमजोर भएका छैनौँ,’ जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवले नेपालखबरसँग भने, ‘सिंहजी उहाँभन्दा बढी लोकप्रिय उम्मेदवार हुनुहुन्छ। मतमा कुनै फरक परेको छैन।’

उनले पार्टी परित्याग गर्दा सरावगीले १२ वडाध्यक्षमध्ये एक जना मात्रै आफूसँगै एमालेमा लगेको र सिंह जसपामा आउँदा तीन जना वडाध्यक्षसहित आएकाले पनि आफूहरुलाई ठूलो असर नपर्ने जिकिर गरे। 

‘१२ वडाध्यक्षमध्ये एक जना मात्र लिएर जान सक्नुभयो। बाँकी निर्वाचित जनप्रतिनिधिहरु हामीसँगै हुनुहुन्छ,’ जिल्ला अध्यक्ष यादवले भने, ‘सिंहजी आफैँमा राम्रो मत ल्याउनुभएको व्यक्ति हो। तीन जना वडाध्यक्ष नै ल्याउनुभएको छ। असर पर्दैन।’

उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेर जसपा प्रवेश गरेका सिंहलाई जनताको नजिक भएर काम गर्ने नेताका रुपमा चित्रित गरे। वीरगञ्ज महानगरपालिका प्रदेशका मुख्यमन्त्री लालबाबु यादवको गृहनगर भएका कारण पनि जसपालाई निर्वाचन जित्न गाह्रो नहुने जसपाको विश्वास छ। 

‘सिंहजी लामो समयदेखि राजनीतिमा सक्रिय, त्यो पनि पब्लिकसँग नजिक रहेर काम गर्ने नेता हो,’ अध्यक्ष यादवले भने, ‘फेरि वीरगञ्ज मुख्यमन्त्रीको क्षेत्र हो। एक सांसद र दुई विधायक यसै महानगरको हुनुहुन्छ। उहाँहरुले यहाँको राम्रो विकास गर्नुभएको छ। त्यसको मूल्यांकन त जनताले गरिहाल्छ नि।’

राजनीतिक विश्लेषक झाले लोसपा परित्याग गरेर जसपा प्रवेश गरेका सिंह महानगरमा जनाधारयुक्त व्यक्ति भएको बताए। सरावगी जसपाकै नेता भएका कारण महानगर प्रमुखका रुपमा उनले गरेको कामको जस–अपजस उनले परित्याग गरेको दलले लिनुपर्ने उनको भनाइ छ।  

‘स्वाभाविक रुपमा राजेशमानजीका केही आफ्ना मताधारहरु छन्। जसपाको पनि मेयर नै थियो। उसका पनि केही मताधारहरु छन्,’ झाले भने, ‘पार्टीले पनि केही न केही जिम्मेवारी बोक्नु पर्छ नि। राम्रो गरेको भए त्यसको जस पाउला। केही नगरेको भए त्यसको अपजस भोग्नुपर्छ।’

सरावगीको एमाले प्रवेशले २०७४ को निर्वाचनमा झिनो मतान्तरले पराजित कांग्रेसलाई अब जित्न सहज हुने सो पार्टीको दाबी छ। सरावगीले यसअघि कांग्रेसका उम्मेदवार अजय द्विवेदीलाई १ सय ९६ मतले पराजित गरेका थिए। 

सरावगी पाँचौँ भएको एमालेमा प्रवेश गरेपछि अब महानगरपालिकामा निर्वाचन जित्न सहज भएको केन्द्रीय सदस्य रमेशले बताए। 

‘हामीतिर कोही तितरबितर भएका छैनन्। गोलबद्ध छौँ। कुनै अप्ठ्यारो हुँदैन,’ केन्द्रीय सदस्य रिजालले भने, ‘यसअघि पनि थोरै मतको मात्रै फरक हो। अब चुनाव जित्नेमा ढुक्क छौँ।’

विश्लेषक झाले बलियो उम्मेदवार अघि सारे कांग्रेसले चुनाव जित्न सक्ने अनुमान गरे। तर, कांग्रेसमै फुट देखापर्न सक्ने उनको विश्लेषण छ।

‘कांग्रेस ऐक्यबद्ध भएर आयो र उसले उम्मेदवार पनि गतिलो दियो भने मजबुत भएर देखापर्न सक्छ। जित्ने सम्भावना रहन्छ,’ झाले भने, ‘ऐक्यवद्ध भएर चुनाव लड्छ भन्ने जस्तो देखिन्छ पनि। तर, व्यवहारमा कत्तिको लागू गर्छ? कांग्रेसको आज पनि बलियो आधार छ। कांग्रेस हार्ने भनेको कांग्रेसीसँग हो।’ 

चुनावको मुखमा वीरगञ्जमा किन दल परिवर्तनको खेल चलिरहेको छ त?

झा भन्छन्, ‘ठूला दलहरुभित्र लोकप्रिय अनुहारको अभाव छ। त्यही रिक्तता पूर्ति गर्न अन्य दलबाट नेतृत्वलाई ल्याउने काम भइराखेको छ।’ 

वीरगञ्जमा विपक्षी पार्टीका नेता भित्र्याउने दलहरुले उनीहरुलाई पार्टी प्रवेश गर्नुको कारण भने प्रष्ट्याउन नसकेको उनको भनाइ छ।

‘जुन दलले ल्याइराखेका छन्, ती दलले भन्न सक्नुपर्यो कि ल्याइएका मेयरका प्रत्यासीको राजनीति असल थियो। उनको विचार असल थियो र उनको वीरगञ्ज सहरका लागि आफ्ना कार्यकर्ताभन्दा फरक भिजन थियो,’ झाले भने, ‘जसले गर्दा उनलाई लिएर आउनुपर्ने वा प्रत्यासी बनाउनुपर्ने वा मेयरको टिकट दिन्छु भन्नु पर्ने अवस्था आयो भन्ने कुराको जवाफ दिन सकिरहेका छैनन्।’ 

गत निर्वाचनमा सरावगीले १९ हजार ३ सय ९३ मत प्राप्त गर्दा कांग्रेसका द्विवेदीले १९ हजार एक सय ९७ मत ल्याएका थिए। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट महानगर प्रमुखमा उठेका सिंह १२ हजार १ सय ६५ मतका साथ तेस्रो भएका थिए। 

गत स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको प्रमुख मेयर पदका एमालेबाट बसरुद्धिन अन्सारी, नेकपा माओवादी केन्द्रबाट रहबर अन्सारी र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट विमल श्रीवास्तव चुनावी प्रतिस्पर्धामा थिए।

चौथो भएका लोकतान्त्रिक फोरमका श्रीवास्तवले ८ हजार ७ सय १, पाँचौँ भएका एमालेका अन्सारीले ८ हजार ६ सय ८८ र छैठौँ भएका माओवादी केन्द्रका रहबर अन्सारीले ८ हजार ३ सय ५ मत पाएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .