राजनीति


मातृका यादवका तीन सनक

मातृका यादवका तीन सनक

नेकपा माओवादी केन्द्रका नेता मातृका यादव


सागर न्यौपाने
चैत ९, २०७८ बुधबार २२:३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका नेता मातृका यादव पार्टीभित्र र बाहिर अहिले चर्चामा छन्। धनुषा क्षेत्र नम्बर १ का सांसद यादवले मंगलबार आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएको कार्यक्रम बहिष्कार गरे।

अध्यक्ष प्रचण्डले दुई पटक बोलाउँदा पनि उनी कार्यक्रम स्थलको मञ्चमा गएनन्। प्रचण्डले मञ्चबाटै असन्तुष्टि जनाए। तर, यादव ती सबै दृश्य कार्यक्रमस्थलकै एक कुनाबाट नियालिरहेका थिए।

प्रचण्डको स्वागत र विदाई गर्न विमानस्थलसम्म पुगेका यादवले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका कारण राजनीतिक प्रशिक्षण कार्यक्रमका लागि बनाइएको मञ्च टेक्न नचाहेको नेपालखबरलाई बताएका छन्। 

जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएपछि यादव पटकपटक विवादमा परेका नेता हुन्। मन्त्री हुँदा पनि यादव विवादमा मुछिएका थिए। यादव अहिलेसम्म तीन पटक मन्त्री बनेका छन्। उनी पछिल्लो पटक केपी शर्मा ओली नेतृत्वको सरकारबाट २०७६ मंसिरमा मन्त्रिमण्डल पुनर्गठन हुँदा हटाइएका थिए।

यादव ०६४ को अन्तरिम संसद् सदस्य बनेका थिए। एमालेको जत्तिकै (८३ सिट) लिएर माओवादी संसद प्रवेश गरेको थियो। त्यही बेलामा गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषदमा यादव वनमन्त्री बने।

ललितपुरमा अवैध रुपमा सञ्चालित ढुंगाखानी बन्द गर्न मन्त्री यादवले निर्देशन दिए। तर, त्यो निर्देशन कार्यान्वयन भएन। खानी सञ्चालन जारी रह्यो। 

उनी अनुगमनमा निस्किए। अनि मन्त्रीको निर्देशन अटेर गरेको भन्दै लतिलपुरका स्थानीय विकास अधिकारी (एलडीओ) डण्डुराज घिमिरेलाई शौचालयमा थुनिदिए। त्यही कारण प्रधानमन्त्री कोइरालासँग विवाद भयो। अनि यादवले राजीनामा दिए।

०६४ को संविधानसभामा माओवादीले देशभर १ सय २१ सिट जित्यो। तर, यादव प्रत्यक्ष चुनाव लडेनन्। समानुपातिक सांसद बनाइए। त्यसबेला माओवादीले सय जना समानुपातिक सांसद बनाउने मत पाएको थियो।

संविधान सभामा सबैभन्दा ठूलो दल बनेपछि माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पायो। अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने। यादवले फेरि मन्त्री बन्ने अवसर पाए–भूमिसुधार तथा व्यवस्थामन्त्री।

तर, उनी पाँच महिनाभन्दा बढी सरकारमा टिक्न सकेनन्। सरकार र कर्मचारीबाट काममा सहयोग नपाएको गुनासो गर्दै उनले मन्त्री पद त्यागे।

नेकपा माओवादी र नारायणकाजी श्रेष्ठ समूहको नेकपा एकता केन्द्रबीच पार्टी एकता भयो। पार्टीको नाम राखियो–एकीकृत माओवादी।

त्यसप्रति यादव असन्तुष्ट बने र पार्टी छाडे। ०६५ माघ २९ गते उनले माओवादी पुनर्गठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएर गतिविधि गर्न थाले। ८ वर्षपछि अर्थात् २०७३ मा उनले फेरि प्रचण्ड नेतृत्वको एमाओवादीसँग पार्टी एकता गरे।

त्यसबेला विभिन्न कम्युनिस्ट घटकसहित एकता भएको थियो। रामबहादुर थापाको समूहले पनि एमाओवादीसँग एकता गरेको थियो। र, त्यसपछि पार्टीको नाम राखियो, नेकपा माओवादी केन्द्र।

२०७४ को संघीय संसदको निर्वाचनमा यादवले पहिलोपटक टिकट पाए धनुषा १ बाट र जिते। एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेलले उनलाई फाइदा पुर्यायो। 

२०७४ फागुन १४ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री पदको पदबहाली गर्दा यादवले एउटा निर्णयमा हस्ताक्षर गर्नुपर्ने चलन तोडेका थिए।

त्यसबेला ढुवानी पारवहनसम्बन्धी निर्णयमा हस्ताक्षर गर्न मानेनन् र भनिदिए– ‘तपाईंहरुलाई के लाग्छ, म जे पनि हेरेर स्वाट्टै सही गर्छु? म सबै पढेर मात्र हस्ताक्षर गर्छु, यसमा दबाब नदिनुहोला।’ 

२०७५ चैत १५ मा भएको लगानी सम्मेलनमा यादव आफूलाई बस्ने सिट नदिइएको भन्दै अलग्गै बसेका थिए।

यादवले सम्मेलनको पहिलो दिनमा उद्योगसम्बन्धी सत्रको अध्यक्षता गरे। सबै प्यानलिस्टहरुले बोलिसकेपछि मन्तव्य दिएका उनले अंग्रेजी शब्दहरुको उच्चारण बिगारेका थिए। त्यसपछि उनको चर्को आलोचना भयो।

यादव जति पटक मन्त्री भए, हरेक पटक प्रधानमन्त्रीसँग राम्रो सम्बन्ध कायम राख्न सकेनन्। सबैभन्दा बढी तनावपूर्ण सम्बन्ध केपी शर्मा ओलीसँग भएको थियो।

झापाको दमकमा निर्माण भइरहेको नेपाल–चीन औद्योगिक पार्कको विषयमा मन्त्री यादव र प्रधानमन्त्री ओलीबीच मन्त्रिपरिषदमा भनाभन नै चलेको थियो।

चीनले ठूलो सहयोग दिएर बन्न लागेको पार्क झापामै निर्माण किन गर्नुपर्यो भनेर आफूले सोध्दा प्रतिशोध साँधिएको उनले बताए।

त्यसपछि उनलाई मन्त्री बनेको २१ महिनामै ओलीले हटाए।

२०७८ साउन २८ गते प्रतिनिधि सभाको बैठकमा यादवले एमाले अध्यक्ष ओलीलाई लक्षित गरेर अमर्यादित शब्द बोलेका थिए। 

त्यसलाई संसदको रेकर्डबाट हटाइएको छ। 

अहिले फेरि आफ्नै पार्टीका अध्यक्ष सहभागी प्रशिक्षण कार्यक्रम बहिष्कार गरेर यादवले नयाँ विवाद झिकेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad