राजनीति


पोखरा महानगर : मेयरको उम्मेदवार बन्न रस्साकस्सी, मन्त्रीसमेत दौडमा

अन्य दललाई एमालेको विरासत तोड्ने चुनौती
पोखरा महानगर : मेयरको उम्मेदवार बन्न रस्साकस्सी, मन्त्रीसमेत दौडमा

फाइल तस्बिर


वाशुदेव मिश्र
चैत १०, २०७८ बिहिबार १८:४९, पोखरा

 राजनीतिक जमघटमा अक्सर भनिन्छ, ‘पोखरा डाँडाघरे वाइन खाएर हिमाल र ताल हेर्दै रमाउने सहर हो।’

फुर्सदमा पोखरा आउने नेताहरुले पर्यटन व्यवसायी झलक थापाले यहाँको कोसेलीका रुपमा उत्पादन गरेको ‘डाँडाघरे’ वाइन चाखे चाखेनन्? त्यो अर्को कुरा भयो। तर राजनीतिक कोणमा यो सहर सुस्त छ। 

राणाहरुले श्री ३ को पगरी गुत्थ्दा रोजिएको अर्को जिल्ला लमजुङले ‘हलो क्रान्ति’को बिगुल फुक्दा कास्की बडाहाकिमकै छत्र छायाँमा रह्यो। 

२००७ सालको क्रान्तिमा कास्कीको योगदान नै नभएको त होइन, तर छिमेकी जिल्लाको तुलनामा कास्कीले कम क्रान्तिकारिता प्रदर्शन गर्‍यो। 

पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीको संगतमा कम्युनिष्ट बनेकाहरूले पनि कास्कीबाटै ठूला नेता जन्माउन सकेनन्। 

पश्चिम बंगालमा चारु मजुम्दारले चलाएको नक्सलवादी आन्दोलनको प्रभावमा २०२५ साल जेठ ३० गते  स्थापित माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी कम्युनिष्ट दल (गण्डकी धौलागिरि) ले पनि राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेता जन्माउन सकेन। 

नक्सलवादीकै सिकोबाट २०२८ सालमा भएको झापा आन्दोलनबाट उदाएका केपी शर्मा ओली एमालेको शक्तिशाली नेता बन्दा यो तर्क अस्वभाविक लाग्दैन। भलै, सोमनाथ अधिकारी प्यासीजस्ता प्रखर नेता त्यही संगठनका उत्पादन किन नहुन् ! 

नेपाली कांग्रेसको हकमा पनि त्यही लागू हुन्छ। सुशील कोइरालाभन्दा अघि महामन्त्री बनेका तारानाथ रानाभाट राष्ट्रिय राजनीतिको मियो बन्न सकेनन्। 

एमालेका उदीयमान नेता रवीन्द्र अधिकारी कु–समयमा भगवानको प्यारो बने। जन्मले कास्केली प्रचण्डलाई आफ्नो भूमिको उत्पादन माने एउटा कुरा, नत्र कास्कीबाट राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेता नै भएनन्। 

त्यसैले पोखरा हरेक राजनीतिक परिवर्तनमा औसत छ। दृष्यका नेता नभएकाले चुनावकै बेला पनि यो राष्ट्रिय चर्चाको विषय बन्नबाट वञ्चित हुन्छ।  

चर्चा पोखराको
स्थानीय चुनाव नजिकिँदै छ। भूगोलले देशको सबैभन्दा ठूलो पोखरा महानगरको आगामी नेतृत्वबारे काठमाडौं खाल्डोमा खासै चर्चा छैन। 

बरु, धेरैका नज चितवनमा सोझिएका छन्। पोखरा पनि चर्चा बाहिरको सहर पक्कै होइन। पोखराको भावी मेयरबारे राजनीतिक दलहरुमा विमर्श सुरु भएको छ। विभिन्न दलमा आफूलाई अब्बल सावित गर्न आकांक्षीहरूले अभियान थालेका छन्। मुख्य पार्टीले उम्मेदवार घोषणा नगर्दासम्म आन्तरिक प्रतिस्पर्धा चलिरहेको छ। 

फर्केर हेर्दा
बहुदल प्राप्तिपछि २०४९ सालमा भएको पहिलो स्थानीय निर्वाचनमा पोखरामा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा भयो। उक्त चुनावमा नेपाली कांग्रेसका तर्फबाट भोला थापा मेयर र नरेशशंकर पालिखे उपमेयर बने। 

उनीहरुले एमालेका प्रत्यासी हितकाजी गुरुङ र कृष्ण थापालाई  २२ सय जति मतले हराएका थिए। २०५४ सालको चुनावमा परिणाम उल्टो भयो। एमालेका कृष्ण थापा र मानबहादुर गुरुङ मेयर र उपमेयरमा विजयी हुँदा कांग्रेसका नरेशशंकर पालिखे र  कुलप्रसाद गुरुङ अघिल्लो चुनावकै हाराहारीले पराजित भए। 

राजा ज्ञानेन्द्रले २०६२ सालमा गराएको चुनावमा भने प्रमुख दलले भाग लिएनन्। भीमसेन थापा राप्रपाको तर्फबाट मेयरमा विजयी बने।  

२०७४ सालको चुनावमा पनि एमालेले नै ३३ वडामा विस्तार गरिएको महानगरको नेतृत्व प्राप्त ग¥यो। वर्तमान मेयर मानबहादुर जिसीले निकटतम प्रत्यासी कांग्रेसका रामजी बराललाई १३ हजार ७०२ को भारी मतान्तरले पराजित गरे। 

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले १२ हजार ३१० मतले कांग्रेसकी सरस्वती गुरुङलाई पछि पारिन्। उक्त निर्वाचनमा १ लाख २५ हजार ८५३ मत खसेको थियो। जसमा मेयरका प्रत्यासी मानबहादुरले ६० हजार ११८, नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६, संघीय समाजवादी फोरमका हुमबहादुर गुरुङले ३ हजार १७० र राष्ट्रिय प्रजातन्त्र पार्टीकी गीता गुरुङले २ हजार २७२ मत पाएका थिए। 

उता, उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५६ हजार ४४८ मतसहित विजयी हुँदा कांग्रेसकी सरस्वतीले ४४ हजार ३३८, नेकपा माओवादी केन्द्रकी गोमा ढकालले ८ हजार ७९६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेशबहादुर खत्रीले २ हजार ८४० र स्वतन्त्र उम्मेदवार सिरोज कोइरालाले २ हजार १९९ मत ल्याए। 

त्यस चुनावमा ३३ मध्ये २२ वटामा एमालेको तर्फबाट वडाध्यक्ष विजयी बनेका थिए भने बाँकीमा कांग्रेस। २०७८ सालको जनगणना अनुसार पोखरामा ३९ हजार ६३८ जना मतदाता बढेका छन्। कुल मतदाताको संख्या २ लाख ७ हजार ७०६ पुगेको छ। 

२०७४ सालको चुनावलाई आधार मान्ने हो भने, वैशाखमा पनि एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने निश्चित छ। अघिल्लो चुनावमा एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो भने कांग्रेस र माओवादी केन्द्रबीच चर्चित ‘चितवन मोडल’को गठबन्धन थियो। 

तर, कास्कीको हकमा उक्त मोडलले काम गरेन। नेपाली कांग्रेसले सहमति अनुसार माओवादी केन्द्रलाई उपमेयर छाड्न मानेन। 

माओवादी केन्द्रको तर्फबाट मेयरका प्रत्यासी रहेका विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता गरे पनि उपमेयरमा कांग्रेस सहमतिमा नआउँदा माओवादी केन्द्रकी गोमा ढकाल मैदानमै रहिन्। 

जसले गर्दा माओवादी केन्द्रले गठबन्धनमै रहे पनि कांग्रेसलाई भोट माग्ने अवस्था आएन। माओवादी केन्द्र उपमेयरको चुनावी अभियानमा मात्रै होमियो र आफ्ना कार्यकर्तालाई मेयरको हकमा आफूखुसी निर्णय गर्न छादिदियो। 

गोमा ढकालले ल्याएको ८ हजार ७९६ लाई माओवादीको आधिकारिक मत मान्ने हो भने र त्यो मत मेयरका कांग्रेसकी उम्मेदवारलाई गएको भए पोखराको परिणाम फरक हुनसक्थ्यो।

‘पोखरामा ‘चितवन मोडल’ले काम नगर्दा उपमेयरमा मत माग्न हिँडेको माओवादीले मेयरलाई मत माग्ने अवस्था रहेन’,चुनावमा चासो राख्ने विश्लेषक विश्व सिग्देल तर्क गर्छन्,‘ कांग्रेस–माओवादी एउटै मञ्चमा रहेर भोट माग्ने अवस्था आएको भए परिणाम फरक हुनसक्थ्यो।’ 

त्यसो त माओवादीले वडाध्यक्षमा पनि आफ्नै उम्मेदवार खडा गरेको थिएन। जसले गर्दा वामपन्थी मत मानबहादुर जिसीतिर नै गएको आंकलन गर्नु अन्यथा रहेन।

आकांक्षीको लर्को 
अघिल्लो चुनाव भारी मतले जितेको एमाले यो चुनाव पनि आफ्नो पक्षमा पार्ने दाउमा छ। अघिल्लो चुनावमा एउटा प्रदेश सांसदबाहेक सबै संघीय र प्रदेश सांसद, मेयर,उपमेयरसहित २२ वटा वडाको विजयले पनि एमाले यहाँको बलियो शक्ति हो। 

त्यसले पनि, बलियो राजनीतिक र सांगठनिक पृष्ठभूमि रहेका एमाले नेताहरुले नै मेयरमा आँखा लगाएका छन्। हालका मेयर मानबहादुर जिसी अस्वस्थ हुँदा उनी प्रतिस्पर्धाबाट अलग्गिइसकेका छन्। 

उपमेयर मञ्जुदेवी गुरुङ स्वभाविक मेयरको दावेदार हुन् तर उनले मुख खोलेकी छैनन्। ‘पार्टीको निर्णय मान्छु र जहाँ खटाउँछ,त्यहीँ काम गर्छु’ भन्ने अभिव्यक्ति दिँदै आएकी उनी स्वयंले दावेदारी प्रस्तुत गरे पहिलो प्राथमिकतामा पर्ने सम्भावना बढी रहेको छ। मञ्जु एमाले केन्द्रीय सदस्य तथा राष्ट्रपति विद्यादेवि भण्डारीकी मितिनी पनि हुन्। 

उपमेयरको रुपमा विवादमा नआएकी मञ्जुले मुख खोले सम्भवत ः आउँदो चुनावमा उनी नै एमालेको तर्फबाट मेयरको उम्मेदवार बन्नेछन्। महिला र जनजाति पृष्ठभूमिलाई आधार मान्दा उनी एक नम्बर दावेदार रहेको एमालेका नेताहरुले नै बताउँदै आएका छन्। 

मञ्जुले टिकट नपाए  २ नम्बरमा छन्,–पूर्वमेयर तथा हाल गण्डकी प्रदेशका सांसद कृष्ण थापा। उनको संगत गरेकाहरु भन्छन्,‘पार्टीका पूर्व कास्की सभापति तथा हालका केन्द्रीय सदस्य थापा अहिले पनि ‘माननीयज्यू’ भन्दा ‘मेयरसाव’को सम्बोधन रुचाउँछन्।’

मानबहादुर जिसी मेयर हुँदा पनि उनी आफ्नो पालामा त्यहाँ रहेका र आफैले नियुक्त गरेका कर्मचारीमार्फत छुट्टै संयन्त्र चलाउँथे। आफूले मेयर हुँदा सुरु गरेका योजना कार्यान्वयन नभएको उनी सार्वजनिक रुपमै दुखेसो गर्छन्। 

२०५८ सालमा आफूले तयार पारेको पोखरा नगरको गुरुयोजना कार्यान्वयनमा उनको विशेष चासो छ। त्यसो त, सो गुरुयोजना तुलनात्मक रुपले पोखरा नगरको विकासको लागि उपर्युक्त पनि रहेको छ। 

एमालेमा उनी अध्यक्ष केपी ओली र संगठन विभाग प्रमुख खगराज अधिकारीनिकट हुन्। गण्डकीमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा मन्त्री हुने चाहना राखे पनि उनको सपना पूरा भएन। खगराजनिकट भएकाले थापालाई मन्त्री नबनाएको पृथ्वी सुब्बामाथि लागिरह्यो। 

प्रदेश सांसदभन्दा कार्यकारी मेयर बन्ने उनको चाहनामा सांसद पद घाँडो हुने सम्भावना पनि रहेको छ। त्यसो त, अर्का प्रदेश सांसद राजीव पहारीले पनि मेयरमै आकांक्षा राखेका छन्। टिकटको लागि केन्द्रीय नेतृत्वको सद्भाव खोजिरहेका छन्। 

तर, प्रदेश वा संघीय सांसदले मेयर हुन खोज्दा देशैभर त्यही नजिर लागू हुने र पार्टीलाई अप्ठेरो पर्नसक्ने भएकाले दुवैजनाले टिकट पाउन गाह्रो रहेको एमालेका नेताहरुको विश्लेषण छ। 

एमाले कास्की अध्यक्ष तथा सांसद मनबहादुर गुरुङले पनि सार्वजनिक रुपले नै मेयरको दावी गरेका छन्। जिल्ला अध्यक्ष भएपछि भूमिका फेरिए पनि उनले मेयरको दावी छाडेका छैनन्। 

यद्यपि, जित्नेलाई टिकट दिने पार्टी अध्यक्ष केपी ओलीको उद्‍घोषका कारण यसै भन्ने अवस्था नभएको पनि ती नेताले बताए। एमालेको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइराला, एमाले केन्द्रीय सदस्य भीम कार्की, होटल व्यवसायी भरत पहारी पुष्पराज अधिकारी, युवा नेताहरु दिलिप न्यौपाने र रश्मी आचार्यसम्मले मेयरमा दावी गरिरहेका छन्। 

यीमध्ये भीम कार्की एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज हुन्। २०५४ सालतिर एमाले विभाजन हुँदा तत्कालीन वैकल्पिक केन्द्रीय सदस्य पृथ्वी सुब्बासँगै पोखरा बसेर उनले संगठन विस्तारमा काम गरेका थिए। 

तत्कालीन समयमा उनलाई संगठन नै नभएको मनाङको इञ्चार्ज बनाएर काम दिइएको थियो। भरत पहारी भने इञ्जिनियर हुन्। पोखरामा स्वीस इन्टरन्यासनल होटल संचालन गर्ने उनी एमाले केन्द्रीय अनुशासन विभागको सचिव छन्। 

पुष्पराज अधिकारी पोखराको चर्चित रुपाकोट रिसोर्टका संचालक हुन्। दिलीप न्यौपाने एमाले पोखरा नगर कमिटीका अध्यक्ष हुन् भने रश्मी आचार्य अखिलको केन्द्रीय उपाध्यक्षपछि भूगोलको राजनीति गर्न कास्की आएका हुन्। 

कांग्रेसबाट पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विन्दुकुमार थापा प्रदेश सांसद र मन्त्री भएपछि संघकै पूर्व अध्यक्षसमेत रहेका सञ्जीवलाई निजी क्षेत्रको तर्फबाट मेयरको रुपमा हेरिएको हो। 

पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियू सभापति सन्तबहादुर कोइरालाका छोरा र राजनीतिमा निरन्तर सक्रिय रहेकाले पनि उनको चर्चा भएको हो। त्यसका अलावा हाल पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, हाइड्रोपावर व्यवसायी पुष्पज्योति ढुंगाना,पूर्वशिक्षक दीपक पौडेल,एमाले केन्द्रीय सदस्य मीना गुरुङको नाम पनि मेयरको चर्चामा छ। 

तीमध्ये मीना एमाले उपसचिव पृथ्वी सुब्बाकी सम्धिनी तथा एमाले कास्कीकी सह-इञ्चार्ज हुन्। अखिलको राजनीतिबाट आएकी उनी पोखराको अघिल्लो पुस्ताकी जुझारु नेतामध्ये गनिन्छिन्। हाल चर्चामा रहेका यी नाममध्ये केही मेयर नपाए उपमेयरमा चित्त बुझाउन तयार छन्। 

पहिला मेयर भए पुरुष र पुरुष मेयर भए महिला उपमेयर बनाउनुपर्ने प्रावधान अनुसार पनि उपमेयरमा मुखै खोलेर कसैले आकांक्षा देखाएका छैनन्। 

यता, कांग्रेसबाट कास्कीका निवर्तमान सभापति कृष्ण केसी, वर्तमान गण्डकीका कानूनमन्त्री विन्दुकुमार थापा, संचार उद्यमी विश्वशंकर पालिखे, पत्रकारिताबाट राजनीतिमा होमिएका गंगाधर पराजुली, पूर्वसचिव बाबुराम आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, अघिल्लो चुनावमा उपमेयरमा पराजित सरस्वती गुरुङ पनि मेयरका आकांक्षी हुन्।  

नगर कमिटीका पूर्वसभापति तथा पोखरा ८ का पूर्व वडाध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, पूर्व महाधिवेशन प्रतिनिधि ऋषि काफ्ले, पूर्व कानुनमन्त्री यज्ञबहादुर थापा, लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, कास्की कांग्रेसका निवर्तमान सचिव सुदीप मोहन भट्टराई र पूर्व महाधिवेशन प्रतिनिधि कृष्ण कार्की पनि मेयरको दौडमा छन्। 

तीमध्ये विश्वशंकर पालिखे प्रजातन्त्र सेनानी परिवारको सदस्य तथा नेपाल पर्यटन बोर्डका पूर्वसदस्य पनि हुन्। नेपाल चीन जनमैत्री संघका अध्यक्षसमेत रहेका उनले उज्यालो पोखरा अभियानअन्तर्गत पोखरामा सोलार बत्ती जडानलगायतका काम गरिसकेका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी बौद्धिक व्यक्तित्वको रुपमा परिचित छन्। प्रजातन्त्र सेनानी परिवारका सदस्य र कांग्रेसको थिङ्क ट्यांकको रुपमा परिचित  उनको योजना निर्माण र आर्थिक मामिलामा विशेष दक्खल छ। 

पूर्वसचिव बाबुराम आचार्य र लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरिलाई कांग्रेस गण्डकी अध्यक्ष शुक्रराज शर्माको साथ छ। 

उता, कांग्रेसको १४ औं महाधिवेशनमा कुनै पद नलिएका कृष्ण केसी सबैभन्दा बलियो दावेदार हुन्। यद्यपि, उनले मेयरमा आकांक्षा जनाइरहँदा फरक खेमामा रहेका पूर्वमन्त्री यज्ञबहादुर थापा र पूर्वसचिव सुदीप मोहन भट्टराई लगायतले पनि उम्मेदवारी घोषणा गर्दै चुनौती पेश गरिरहेका छन्। 

उपमेयरमा पराजित सरस्वती स्वत: मेयरका दावेदार हुन्। कांग्रेसका केन्द्रीय नेताहरुसम्मको सोझो पहुँच र सक्रियता उनको विशेषता हो। 

ऋषि काफ्ले जनस्तरमा भिजेका नेता हुन् भने पत्रकार गंगाधर पराजुली हालै पोखरा नगर सभापतिमा पराजित तर लोकप्रिय व्यक्ति हुन्। 

बहालवाला मन्त्री विन्दुकुमार थापाले मेयरमा आकांक्षा देखाइरहँदा आफू जित्ने उम्मेदवार भएको तर्क गरिरहेका छन्। परिस्थिति अनुकूल भए मन्त्री पदबाट राजीनामा दिने र मेयरमा उठ्ने चाहना उनले लुकाएका छैनन्। 

लामो समय स्वतन्त्र बसेका पोखरा महानगरका पूर्वमेयर गणेशबहादुर भट्टराई पनि मेयरका बलियो दावेदार हुन्। स्वच्छ छवि तथा सामाजिक व्यक्तित्व उनको परिचय हो। मेयरमा यी नाम चर्चामा भइरहँदा उपमेयरमा भने धेरैजसो महिला आकांक्षी छन्। 

कोपिला रानाभाट,लक्ष्मी पाण्डे, माया बराल र उद्योगी किरण केसीको नाम उपमेयरमा चर्चामा छ। तीमध्ये किरण पूर्वसांसद सूर्यबहादुर केसीका छोरा हुन्। कोपिला कांग्रेस गण्डकीकी सहमहामन्त्री हुन्। 

कांग्रेसले मेयरको उम्मेदवार केन्द्रबाटै तय हुने बताएको छ। अतः हाल मैदानमा आउन तयार भएकाहरुले आ–आफ्नो पक्षमा केन्द्रसम्मै लविङ थालेका छन्। 

माओवादीबाट
माओवादी केन्द्रबाट मेयरमा विश्वप्रकाश लामिछाने, हरिनारायण गिरी‘विज्ञान’, बखानसिंह गुरुङ लगायतको चर्चा छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो चुनावमा एक्लै लड्न तयार रहन निर्देशन दिएसँगै माओवादीले पनि उम्मेदवारबारे आन्तरिक छलफल थालेको छ। 

तीमध्ये उम्मेदवार नै उठाउने अवस्था आए पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्षसमेत रहेका विश्वप्रकाशको सम्भावना बढी रहेको माओवादीका एक नेताले बताएका छन्। 

तर, माओवादी केन्द्र अहिलेको गठबन्धन कायम रहे वडाअध्यक्षमै चित्त बुझाउने सुरमा रहेको पनि उनले लुकाएनन्। ‘हामीले पोखरा नगरमा मात्रै ८ हजारभन्दा बढी संगठित सदस्य बनाएका छौँ,कमजोर छैनौँ तर गठबन्धन बनेमा आवश्यकता अनुसार लचिलो बन्न तयार छौँ’, उनले भने, ‘हामी बलियो भएको वडामा गठबन्धनको तर्फबाट हामीले नै वडाध्यक्ष पाउनुपर्छ भन्ने माग रहेको छ।’

समाजवादीबाट
उता, गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको मेयरमा दावी गरेको छ। उक्त पार्टीबाट केन्द्रीय सदस्य तथा पार्टीका जिल्ला इन्चार्ज धनराज आचार्यको नाम चर्चामा छ। 

त्यसो त पार्टीका पोलिटब्युरो सदस्य तथा गण्डकी उपाध्यक्ष श्रीनाथ बराल पनि मेयरको दौडमा छन्। पार्टीले पोखरा वा काठमाडौंमध्ये एउटामा मेयर दावी गरिरहेको छ। सहमति भयो भने नेकपा एसबाट यी दुईमध्ये एक मेयरको उम्मेदवार बन्ने निश्चित छ। 

कास्कीमा नेकपा एसले ५ हजार संगठित सदस्य बनाएको जिकिर गरेको छ। यहाँका ७२ वटै स्थानीय तहमा संगठन बिस्तार गरेको नेकपा एसले काट्ने एमालेकै भोट हो। एमालेलाई हराउन सक्षम रहेको दल नै आफ्नो रहेको उनीहरुको दावी रहँदै आएको छ। 

गठबन्धन के होला?
कास्कीमा रहेका गठबन्धन दलका नेताहरु निरन्तर छलफलमा छन्। गठबन्धनको बैठकमा आउँदो चुनावसम्मै सहमति कायम हुनुपर्ने विषयले प्रवेश पाउँदै आएको छ। 

एक नेताका अनुसार पोखरामा एमालेसँग एक्लै लड्न सकिँदैन भन्ने सबैले स्वीकार्छन् तर सहमति नै होला भन्नेमा भने उनीहरु द्विविधामा छन्। 

‘हामी मात्र मिलेर नहुने, एक्लै अगाडि बढ्छौँ भन्न पनि नसकिने अवस्था छ’,नेपाली कांग्रेसका एक नेताले भने,‘अरु दल पाएसम्म हामीसँग भाग खोज्दैछन्, हामीले कति दिने र कति लिने भन्ने हो तर केन्द्रले नभनेसम्म एक्लै लड्न तयार भएर बसेको अवस्था हो।’

आक्रामक एमाले 
एमालेलाई अघिल्लो नतिजा कायमै राख्ने चुनौती छ। एमालेका नेताहरुमा माधवकुमार नेपालको कम प्रभाव रहेको कास्कीमा नेकपा एकीकृत समाजवादीले खासै बिगार्न नसक्ने आंकलन थियो। 

तर, पुराना नेता श्रीनाथ बराल तथा पोखराको पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियू सभापति तथा व्यवसायी धनराज आचार्यको आक्रामक रणनीतिका कारण त्यो अनुमान फेल खायो। 

नेकपा एसले सबै वडा तहमा संगठन विस्तार मात्रै गरेन, ४० कटेका र एमालेका खाँटी मतदातालाई संगठित गरिदियो। त्यसबाट झस्केको एमालेले बाहिरिएकालाई भित्र्याउने तथा अन्य पार्टीका नेताहरुलाई तान्ने अभियान चलाउँदै आएको छ। 

त्यही उपक्रममा एमालेले पूर्वएमाले नेता तथा पछिल्लो कालखण्डमा जनता समाजवादीका केन्द्रीय सदस्य रहेका गणेशमान गुरुङ तथा अघिल्लो चुनावमा मेयरका प्रत्यासी रहेका हुमबहादुर गुरुङलाई भित्र्याउने सफलता पायो।

कतिसम्म भने, ती नेतालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी ओली नै पोखरा आए। पछिल्लो एक महिनामा एमाले अध्यक्ष ओली ३ पटक पोखरा आइसकेका छन् र हरेक पटक उनले अन्य पार्टीका नेताहरुलाई पार्टीमा भित्र्याएका छन्। 

‘एमाले यसै पनि बलियो छ र हामी अझ बलियो बन्न चाहन्छौँ’,पार्टी सुदृढीकरण अभियानबारे एक एमाले नेताले टिप्पणी गरे,‘ माधव नेपाल समूहले पु¥याएको क्षति पूर्ति भइसकेको छ, हामी बलियो छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .