ad ad

राजनीति


विराटनगर महानगर : कांग्रेसको विरासत तोड्न सजिलो छैन अरुलाई

मेयरको टिकट लिने आकांक्षीबीच प्रतिस्पर्धा
विराटनगर महानगर : कांग्रेसको विरासत तोड्न सजिलो छैन अरुलाई

फाइल फोटो


कृष्ण बहाब
चैत १२, २०७८ शनिबार ७:१९, इटहरी

प्रदेश १ को एक मात्रै महानगरपालिका हो विराटनगर। जहाँ लामो समयदेखि कांग्रेसले प्रभुत्व जनाउँदै आएको छ।

कांग्रेसका कोइराला परिवारको लिगेसीसँग पनि जोडिएको विराटनगरमा अहिलेबाटै चुनावी रौनक सुरु भएको छ। प्रदेश १ कै हेभिवेट भिडन्त हुने भएकाले यहाँ प्रमुख दलको पनि नजर अडेको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा यहाँ नेपाली कांग्रेसका उम्मेदवार भीम पराजुली मेयर बनेका थिए। पराजुलीले २३ हजार ३१ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले १७ हजार ३२१ मत प्राप्त गरे। 

ढकालपछि तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार उमेशकुमार यादवले १४ हजार ९५८ मत ल्याएका थिए।

तत्कालीन अवस्थामा प्रतिस्पर्धामा रहेका कांग्रेस, एमाले र फोरम क्रमशः पहिलो दोस्रो र तेस्रो पार्टी भए। तर अहिले ती दलहरूको पोजिसन केही फेरिएको छ।

दलहरूको पोजिसन हेरफेरको अर्थ, एमाले २०७४ सालको निर्वाचनमा सग्लो पार्टी थियो। केपी शर्मा ओली नेतृत्वको एमालेमा माधव नेपाल र झलनाथ खनालहरू थिए । तर, अहिले यी दुई नेताले नेकपा एकीकृत समाजवादी बनाएका छन्। 

अर्कातिर फोरम भने टुटफुट भएर पनि पुरानै राजनीतिक पोजिसनमा देखिएको छ। २०७४ को निर्वाचनताका अशोक राई र उपेन्द्र यादवले संघीय समाजवादीको नेतृत्व गरेका थिए।

अहिले परिवर्तित नामसहितको जसपामा डा. बाबुराम भट्टराई पनि छन्। तर, बाबुरामले नेतृत्व गरेको तत्कालीन नयाँ शक्ति यसअघि पनि विराटनगरमा थिएन।

कांग्रेस पहिलेभन्दा अहिलेको अवस्थामा सांगठनिक रूपमा बलियो देखिएको छ । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) को विलयपछि कांग्रेसको शक्ति बढेको हो।

दलहरूको सांगठनिक अवस्थामा परिवर्तन आए पनि मतदातालाई कसले प्रभावित पार्छ भन्ने विषय कुरा चासोका साथ हेरिएको छ । 

एक्लो महानगरसँगै प्रदेश १ को राजधानी पनि भएकाले स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा अबको नेतृत्वका लागि बहस सुरु भएको छ।

निर्वाचन तालिका सार्वजनिक भएपछि केन्द्रीय राजनीतिका अनुहार पनि अहिले पालिकास्तरीय कार्यक्रममा देखिन थालेको छ ।

पहिलो शक्ति कांग्रेस
नेपाली कांग्रेसको आन्दोलनको जग भएकाले विराटनगर महानगर यही पार्टीभित्र पनि विशेष चासोको पालिका हो। २०७४ मा कांग्रेसले नै नेतृत्व गरेकाले त्यो विरासत भत्किन नदिने तयारी छ।

कांग्रेसभित्र दुई धार भएका बेला विराटनगरमा डा. शेखर कोइराला पक्ष र शेरबहादुर देउवा पक्षले भित्री चासो राखेका छन्। 

कोइराला समूहबाट २०७४ सालको टिकट अहिलेका मेयर भीम पराजुलीले लिएका थिए । तर, १४ औँ महाधिवेशनमा पराजुलीले गुट परिवर्तन गरे । देउवा समूहबाट पराजुली केही महिनाअघि मात्रै केन्द्रीय सदस्य बने । लाइन परिवर्तन गरेर पार्टी सत्तानिकट रहेका पराजुली मेयरमा दोहोरिने योजनामा छन्।

पार्टीभित्र मेयरका आकांक्षी पराजुली मात्रै होइनन् । उनको विकल्पमा देखिएका अर्का नेता हुन् नागेश कोइराला। मोरङ कांग्रेसका उपसभापति उनी ‘कोइराला’ परिवारनिकट रहेकाले टिकट पाउन सक्ने सम्भावना छ।

मेयरका अर्का स्वाभाविक दाबेदारमध्ये एक हुन् वर्तमान उपप्रमुख इन्दिरा कार्की । उपप्रमुखहरूले देशभर प्रमुखमा दाबी गरिरहेको अवस्थामा कार्कीले समेत यो दौडमा छिन् । महिलाले समेत पालिका हाँक्न सक्ने बताउँदै कार्कीले आफ्नो दाबी रहने बताउँदै आएकी छिन्।

विराटनगर उपमहानगरपालिका हुँदाका कार्यकारी अधिकृत गोपाल रेग्मी पनि कांग्रेसबाट मेयरको सम्भावित दाबेदार हुन्। अवकाश प्राप्त कर्मचारी भएकाले राजनीतिक नेतृत्व लिएर विराटनगर हाँक्ने इच्छा उनले व्यक्त गरेका छन्।

एमालेका आकांक्षी?

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले विनोद ढकाललाई उम्मेदवार बनाएको थियो । उनी भीम पराजुलीका निकट प्रतिस्पर्धी थिए । यो पटक ढकालले महानगरको मेयरमा त्यति धेरै इच्छा नदेखाएको एमाले स्रोत बताउँछ।

अघिल्लो पटकको निर्वाचनमा पराजित ढकालको योजना केन्द्र नभए प्रदेशको नेता बन्ने रहेको एमाले स्रोतको दाबी छ। 

त्यसैले उनको विकल्पमा अहिले एमालेका नगर अध्यक्ष सागर थापाको नाम चर्चामा छ। दुई पटक महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति रहेका थापा विराटनगरको मेयरको प्रतिस्पर्धामा देखिन सक्ने सम्भावना छ।

२०५७ सालमा सागर थापा महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापति हुँदा अहिलेका मेयर भीम पराजुली कोषाध्यक्ष थिए। 

‘म विद्यार्थी राजनीतिदेखि आएको मान्छे, दुई पटक महेन्द्र मोरङको स्ववियु सभापति भएँ। त्योबाहेक अहिलेसम्म संसदीय पदमा गएको छैन,’ थापाले भने, ‘अहिले महानगर कमिटीको अध्यक्षसमेत भएकाले मेरो दाबेदारी पनि स्वतः हुन्छ, अरू कुरा त पार्टीले गर्ने हो।’

मेयरको नाममा चर्चा आएका अर्का उम्मेदवार हुन जीवन घिमिरे। सामाजिक विकास मन्त्रीसमेत भइसकेका घिमिरे अहिले प्रदेश १ का सांसद हुन्। बाहिर चर्चा चर्चा भए पनि उनले आफ्नो ध्यान मेयरमा नभएको बताइसकेका छन्। 

विराटनगरबाट प्रकाशित हुने हाम्रो मतलाई अन्तर्वार्ता दिँदै घिमिरेले आफ्नो दाबी अब प्रदेश मुख्यमन्त्रीमा हुने बताएका छन्। 

घिमिरेले भनेका छन् ‘मेयरमा मेरो दाबी छैन। मैले इच्छा जाहेर गरेको पनि छैन। म अहिले प्रदेशसभाको सदस्य बहाल छु। अझै मेरो कार्यकाल मङ्सिर सम्म बाँकी नै छ । त्यसैले अहिले नै स्थानीय तहको निर्वाचनमा जाने सोच मैले बनाएको छैन’, उनले भनेका छन्, ‘तर, बजारमा मेरो नाम चर्चामा आएको सुनेको छु । साथीभाइले पनि के हो भनेर चासो राखिरहनुभएको छ। त्यो चर्चा मप्रतिको सदाशयताका रूपमा मैले ठानेको छु।’

जसपाले के गर्ला?
कांग्रेस र एमालेपछि ठूलो दलका रुपमा जनता समाजवादी देखिन्छ । उपेन्द्र यादवको गृह नगरका रूपमा चिनिने भएकाले जसपाको पकड विराटनगरमा राम्रो छ। २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादीका उम्मेदवार उमेश कुमार यादवले १४ हजार ९५८ मत ल्याएका थिए।

बलियो शक्ति जसपाले यो पटकको निर्वाचनमा कसलाई उम्मेदवार बनाउला? चासोका साथ हेर्न थालिएको छ।

जसपाबाट विराटनगरको मेयरमा प्रदेश स्वास्थ्यमन्त्री जयराम यादवको चर्चा छ । जसपा प्रदेश १ संसदीय दलका नेता यादवले मेयरमा उठ्न अहिलेको पदबाट राजीनामा दिनु पर्ने हुन्छ ।

यादवले पनि मेयरमा इच्छा देखाएको जसपाका एक नेताले नेपाल खबरलाई बताए। ‘तपाईँहरूले देख्नु भएकै छ नि प्रदेश मन्त्रीको हैसियत कस्तो छ भनेर’, ती नेताले भने, ‘प्रदेशको राजधानी पनि, त्यसमाथि महानगरको मेयरमा हाम्रा मन्त्री नै उठ्न सक्छन् ।’

जयराम यादवसँगै २०७४ मा संघीय समाजवादीका उम्मेदवार उमेश यादवको समेत यो पटक चर्चा छ । उमेशसँगै उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई पनि मेयरका प्रतिस्पर्धी मानिएको छ।

नेकपा एकीकृत समाजवादीले भने अहिलेसम्म उम्मेदवारबारे एकिन गरिसकेको छैन। तर विराटनगरका पुराना नेता महेश रेग्मीले मेयरको तयारी थालेको उनीनिकट नेताहरू बताउँछन् ।

माओवादीबाट
नेकपा माओवादी केन्द्रबाट मेयरको उम्मेदवारमा नमिना न्यौपाने र भोगेन्द्र यादवको नाम चर्चामा छ । न्यौपाने यसअघि उपमेयरमा पराजित भएकी हुन्। यादवले उम्मेदवारी दर्ता गराएर पनि  फिर्ता लिएका थिए।

उनीहरूमध्ये एक जनाले मेयरको टिकट पाउने सम्भावना छ। तर गठबन्धन हुने नहुने तय भइनसकेकाले माओवादीका उम्मेदवारबारे गहिरो चर्चा छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .