राजनीति


चुनावको मुखमा किन भारत जाँदैछन् प्रधानमन्त्री देउवा?

भारतीय अधिकारी भन्छन्ः वामपन्थी पार्टीबीच गठबन्धन नहोस् भन्ने भारतको चाहना हो
चुनावको मुखमा किन भारत जाँदैछन् प्रधानमन्त्री देउवा?

सन्तोष घिमिरे
चैत १४, २०७८ सोमबार २३:३, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवा आगामी शुक्रबार तीन दिने औपचारिक भ्रमणमा भारत जाँदैछन्। नेपाल र भारतका परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकसाथ भ्रमणको घोषणा गरेका छन्। आठ महिनाअघि प्रधानमन्त्री नियुक्त भएयता देउवा पहिलो पटक भारत जान लागेका हुन्। 

देउवा स्थानीय चुनावको मुखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जाने भएका छन्। भारत सरकारका एक अधिकारीले नेपालको आउँदो चुनावलाई हेरेर प्रधानमन्त्री देउवाको भारत भ्रमण हुन लागेको बताए। 

‘भारतले नेपालको चुनावलाई विशेष महत्वका साथ लिएको छ। अहिले देउवालाई डाकेर मोदीले चुनावबारे सल्लाह गर्न खोजेका हुन्,’ ती अधिकारीले भने। 

उनका अनुसार भारत कांग्रेस र माओवादीबीच चुनावी तालमेल होस् भन्ने पक्षमा छ। वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ भने प्रदेश र संघीय संसदको चुनाव पनि अबको एक वर्षभित्र हुनेछ। 

‘वामपन्थी शक्तिबीच चुनावमा तालमेल नहोस् भन्ने भारत सरकारको चाहना हो,’ ती अधिकारीले थपे।

कांग्रेस र मधेशी दलबीच चुनावी तालमेल होस् भन्ने पक्षमा भारत देखिएको छ। मोदीले प्रधानमन्त्री देउवासँग हुने एकल भेटवार्तामा चुनावको विषयमा छलफल गर्नेछन्।

प्रधानमन्त्री देउवाले भ्रमणलाई भारतीय जनता पार्टी र मोदी सरकारसँग सम्बन्ध सुदृढ गर्ने अवसरका रुपमा लिन लागेको देखिन्छ। देउवाले दशैँअघि नेता प्रकाशशरण महतलाई भारत पठाएर सम्बन्ध सुधारको प्रयास थालेका थिए। त्यसअघि भाजापाका नेतालाई नेपाल पनि बोलाएका थिए। अहिले प्रधानमन्त्रीपत्नी आरजु राणा​ भाजपासँग निरन्तर सम्पर्कमा छिन्। डेढ महिनाअघि आरजुले नयाँ दिल्लीमा भाजपाका नेताहरुलाई भेटेकी थिइन्।

प्रधानमन्त्री देउवाको भारत भ्रमण भूराजनीतिक हिसाबले समेत महत्वपूर्ण समयमा हुन लागेको छ। पछिल्लो समयमा नेपाल मामिलामा चीन र अमेरिकाबीच टकराव देखिएको छ। गत महिना नेपाल मामिलालाई लिएर दुई मुलुकबीच भनावैरी समेत भएको थियो।  

चीनको असन्तुष्टिबीच नेपालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गरेपछि चीन संशकित छ। उसले अमेरिका लगायत पश्चिमा शक्ति नेपालमार्फत् आफूविरुद्ध घेराबन्दीमा उत्रिनसक्ने भन्दै सुरक्षा चासो देखाइसकेको छ। हालै नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई कसैले भूराजनीतिक चलखेलमा तान्ने कोसिस गरे चीनले प्रतिकार गर्ने चेतावनी प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कालाई दिएका छन्। 

चीन र अमेरिकाबीच नेपाल मामिलालाई लिएर टकराव भइरहँदा भारत चाहिँ मौन बस्यो। अमेरिका र नेपालबीचको मामिलामा प्रवेश गर्दा अमेरिका चिढिनसक्ने भारतीय बुझाइ थियो। किनकि अमेरिका र भारतबीच रणनीतिक सहकार्य छ। दक्षिण एसिया मामिलामा उनीहरुबीच समान धारणा बन्न थालेको छ। 

प्रधानमन्त्री देउवासँग भारतीय संस्थापन सशंकित छैन।

‘तर देउवा अमेरिकासँग अझै बढी नजिकिन लागेका हुन् कि भन्ने शंका भारतमा छ। त्यसबारे भारतीय प्रधानमन्त्रीले बुझ्न सक्छन् एकल भेटमा,’ ती भारतीय अधिकारीले भने।  

युक्रेन मामिलामा नेपालको पोजिसनमा पनि भारतको चासो 
देउवा सरकारले युक्रेन मामिलामा राष्ट्रसंघमा लिएको पोजिसनप्रति भारतमा पनि चासो देखिएको छ। किनकि युक्रेनमा रुसले गरेको सैन्य हस्तक्षेपविरुद्ध नेपालले राष्ट्रसंघमा मत दियो। तर भारत युक्रेन मामिलामा राष्ट्रसंघमा पुरै तटस्थ रहँदै आएको छ, खासगरी रुससँगको निकटताका कारण। 

रक्षा क्षेत्रमा भारत र रुस निकै नजिक छन्। यही महिना रुसका विदेशमन्त्री भारत उत्रिँदैछन्। युक्रेन मामिलामा नेपालले लिएको पोजिसनबाट पनि देउवा सरकार अमेरिका र पश्चिमा मुलुकसँग निकट रहेको बुझाई दिल्लीमा बनेको विश्लेषण भइरहेको छ। 

उता चीन र भारतबीच सम्बन्ध चिसिँदो छ। झण्डै तीन वर्षअघि लद्दाखमा भएको सैन्य झडपपछि उनीहरुबीच तनाव बढेको थियो। हालैको भारत भ्रमणमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीन–भारत सम्बन्धलाई नयाँ तरिकाले अगाडि बढाउने प्रस्ताव गरेका थिए। तर, भारतीय विदेशमन्त्री एस जयशंकरले सीमामा तनाव रहुञ्जेल दुई देशबीचको सम्बन्ध सामान्य बन्न नसक्ने संकेत गरेका छन्।

अचानक भ्रमण तय
नेपालका प्रधानमन्त्रीले मे २०१९ यता पहिलो पटक भारत भ्रमण गर्न लागेका हुन्। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउनु केही दिनअघि मात्रै भारतका तर्फबाट प्रधानमन्त्री देउवाको भारत भ्रमणको प्रस्ताव गरिएको थियो।

‘भारतको आग्रहमा प्रधानमन्त्रीको भ्रमण अचानक तय भएको हो,’ मन्त्रालयका एक अधिकारीले भने। 

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग गत बुधबार देउवाको भारत भ्रमणबारे छलफल गरेका थिए। गतसाता नै देउवा र मोदीबीच टेलिफोन कुराकानी भएपछि भ्रमणको मिति टुंगो भएको स्रोतले बतायो। 

भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मा सोमबारै नयाँ दिल्ली पुगेका छन्। केही दिनयता नेपालस्थित भारतीय राजदूत क्वात्रा पनि देउवाको भारत भ्रमण तयारीकै लागि दिल्लीमै छन्। 

प्रधानमन्त्रीको भ्रमणमा भारतले देशभर १३७ स्वास्थ्य चौकी निर्माण गरिदिने, भक्तपुरमा हिन्दू मठ बनाउनेलगायतका सम्झौतामा पनि हस्ताक्षर हुने अधिकारीहरूले बताए। प्रधानमन्त्रीले चुनावमा प्राविधिक सहयोगका लागि पनि भारतलाई आग्रह गर्ने भएका छन्। 

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवाको भ्रमण तयारी गरिरहेको छ। भ्रमणमा केही मन्त्री र मन्त्रालयका सचिवहरुलगायत सहभागी हुनेछन्। बिम्स्टेक सदस्य देशहरुको परराष्ट्रमन्त्रीस्तरीय बैठकमा भाग लिन सोमबार श्रीलंका पुगेका परराष्ट्रमन्त्री डा. खड्काले भारतीय समकक्षी जयशंकरसँग देउवाको भ्रमणबारे थप कुरा गर्नेछन्। मोदी र देउवाले पर्सि बिमस्टेक सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नेछन्। 

भ्रमणमा नेपालले उठाउने औपचारिक एजेन्डाबारे छलफल भइरहेको अधिकारीहरुले बताए। 

भ्रमणमा द्विपक्षीय सहकार्यका सबै क्षेत्रमा छलफल हुने भारतीय विदेशमन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। 

प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो औपचारिक विदेश यात्रा पनि हो। यद्यपि उनी नोभेम्बर पहिलो साता राष्ट्रसंघीय जलवायु सम्मेलनमा भाग लिन स्कटल्यान्ड गएका थिए। जुन अनौपचारिक भ्रमण थियो। देउवा र मोदीबीच जलवायु सम्मेलनको साइडलाइनमा ग्लास्गोमा द्विपक्षीय भेटवार्ता भएको थियो। 

गत पुस अन्तिम साता प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तय भए पनि अन्तिममा कोरोना महामारीका कारण रोकिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .