ad ad

राजनीति


इटहरी उपमहानगर : यस पटक कांग्रेस रोक्न सजिलो छैन एमालेलाई

अनेक विवादमा द्वारिकलाल, यी हुन् मेयरका दाबेदार
इटहरी उपमहानगर : यस पटक कांग्रेस रोक्न सजिलो छैन एमालेलाई

फाइल तस्बिर


कृष्ण बहाब
चैत १६, २०७८ बुधबार १८:४८, इटहरी

२०७४ को स्थानीय तह निर्वाचन ताका इटहरी उपमहानगरपालिकामा ७७ हजार ६९७ मतदाता थिए। २०७९ को स्थानीय तहको निर्वाचन आइपुग्दा बढेर १ लाख ४ हजार ६ सय २६ पुगेको छ।

२० वटा वडामा रहेको इटहरीमा २०७४ सालको निर्वाचनमा नेकपा एमालेले मेयर र उपमेयर सहित ८ वडा जितेको थियो। 

मेयर पदमा एमालेका द्वारिकलाल चौधरीले २२,६८९ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका रोहित प्रसाईंले १९,९८५ मत ल्याएका थिए। त्यसैगरि, उपमेयरमा एमालेकी लक्ष्मी गौतमले २१ हजार ८४२ मत ल्याउँदा कांग्रेसकी विमला ढकालले १८ हजार ३५२ मत ल्याइन्।

मेयर–उपमेयरमा करिब ३ हजार मतान्तरले हार ब्यहोरे पनि कांग्रेसले २० मध्ये १२ वटा वडा जितेको थियो। ५ वर्षअगाडिको परिणाम उस्तै–उस्तै हैसियतको थियो। अबको निर्वाचनमा एमाले र कांग्रेसमध्ये अबको निर्वाचनमा कसले बाजी मार्ला? बहस बढेको छ।

तर कांग्रेसले माओवादीसहितका अन्य चार दलसँग चुनावी गठबन्धन गर्ने निर्णय लिएपछि यहाँ पनि एमालेलाई झन् चुनौती थपिएको छ।

एक्ला एक्लै भिड्दा पनि २०७४ सालमा कांग्रेसले कडा टक्कर दिएको थियो। तर अहिले परिस्थिति फेरिएर एकातिर एमाले विभाजित भएको छ भने अर्कातिर कांग्रेसले अन्य दलसँग मोर्चाबन्दी गरेको छ।

इटहरीमा गठबन्धनबाट कांग्रेसले टिकट लिएमा माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीको पनि साथ लिएर दिने चुनौती विवादै विवादमा रहेको एमालेलाई सामना गर्न सहज हुने छैन।

कमजोर बन्दै एमाले !
प्रदेश १ दुई उपमहानगरपालिकामध्ये एउटा हो इटहरी। २०५४ सालमा नगरपालिका घोषणा हुँदादेखि नै इटहरीमा एमालेको नेतृत्व हाबी थियो। ५४ सालको निर्वाचनमा तत्कालीन इटहरी नगरपालिकामा मेयर–उपमेयरसहित ९ मध्ये ८ वडामा एमालेले जितेको थियो। तत्कालीन नगर परिषद्का ४७ जनामध्ये ४१ जना एमालेबाट विजयी भए। 

हाल सुनसरी २ ‘क’ का प्रदेश सांसद सर्वध्वज साँवाले तीन कार्यकाल इटहरी गाउँ पञ्चायतको प्रधानपञ्च चलाएका रामकुमार सुब्बालाई हराएर मेयर भएका थिए। ०५४ सालको निर्वाचनमा झन्डै क्लिन स्विप पारेको एमाले २०७४ सालसम्म आइपुग्दा अलिक कमजोर देखियो।

२० वटा वडामा ८ वडा मात्रै एमालेले २०७४ मा जित्यो। स्थानीय तह निर्वाचनपछि भएका पालिकास्तरका सार्वजनिक संगठनहरूमा समेत अलि पछि नै छ। २०७६ असारमा भएको इटहरी उद्योग वाणिज्य महासंघको चुनावमासमेत कांग्रेस प्यानलका भीम पौडेलको नतिजाले एमालेलाई धक्का दियो। 

को छन् उम्मेदवार!
२०७४ मा निर्वाचित भएपछि मेयर चौधरी बारम्बार विवादमा आइरहे। मेयरको विवादित छविका कारण इटहरी उपमहानगर राष्ट्रिय चर्चामा रहिरह्यो। यस्तोमा कोशी पहाड उक्लिने केन्द्र इटहरीको मेयर को बन्ला? छिमेकी पालिकाहरु पनि चर्चा चल्न थालेको छ। चुनाव नजिकिएसँगै इटहरीका नयाँ मेयरको हुन्छ अनुहारबारे चिया पसलमा पनि कुरा चल्न थालेको छ।

इटहरी उपमहानगरको मेयरसहितका पदहरुमा प्रमुख प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीचमै हुने गरेको छ। दुवै पार्टीबीच अनेक खालका चुनावी मैदानमा भिडन्त हुने गरेको छ। तर यो पटकको निर्वाचनमा दुवै दलबाट मेयरको प्रतिस्पर्धामा आउने पात्रबारे अझै प्रष्ट भइसकेको छैन। 

कांग्रेस र एमालेमा आकांक्षी कम छैनन्। दुवै दलमा करिब आधा दर्जन बढी मेयरका आकांक्षी नेताहरु देखिएका छन्। 

एमालेमा आफ्नैबीच मारामार
यहाँ मेयर र उपमेयर दुवै एमालेकै भएकाले धेरैको ध्यान यहीँ छ। एमालेमा मेयरको टिकटको आकांक्षीहरुको सख्ंया बढ्दो छ। एमालेमा मेयरका लागि तत्काल ४ जना दाबेदार देखिएका छन्। 

द्वारिकलाल चौधरी : इटहरी उपमहानगरका पहिलो मेयरका रूपमा निर्वाचित द्वारिकलाल चौधरी फेरि दोहोरिने दाउमा छन्। पहिलो पटक मेयर बन्दा एमाले सुनसरीका अध्यक्षसमेत रहेका चौधरी मेयर बन्ने रणनीतिमा देखिएका हुन्।

चुनाव आउन् लाग्दा उपमहानगरले गर्ने प्रायः आयोजनाको उद्घाटनले समेत चौधरी मेयरमा दोहोरिन चाहेको पुष्टि गर्छ। व्यक्तिगत स्वभावका कारण विवादित चौधरीको पार्टीभित्र पनि उस्तै छविका कारण सहज छैन। पार्टी नेतृत्वमाथि पटक पटक गैरराजनीतिक व्यवहार गरेको आरोप चौधरीमाथि छ।   

मेयर चौधरी र एमाले इटहरी तथा सुनसरी कमिटीको नेतृत्वबीचको सम्बन्ध निकै तिक्ततापूर्ण छ। चौधरीले आयोजना गर्ने प्रायः कार्यक्रममा जिल्ला र पालिका कमिटीको नेतृत्वको उपस्थिति नहुनु यसको सङ्केत हो।

लक्ष्मी गौतम : बहालवाला उपमेयहरूले राष्ट्रिय रूपमा मेयरको दाबी गरिरहेका छन्। इटहरीमा पनि त्यसको प्रभाव छ। 

इटहरीमा सम्भावित उमेदवारका रूपमा बहालवाला उपमेयर लक्ष्मी गौतमको चर्चा छ। एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी गौतमले मेयरको टिकटमा आफ्नो दाबी स्वभाविक हुने बताउँदै आएकी छिन्।

‘उपमेयर हुँदा मेरो समीक्षा जनता र पार्टीले गरेकै छ’, नेपालखबरसँग गौतमले भनिन्, ’अबको निर्वाचनमा म पनि मेयरको स्वाभाविक दाबेदार हुँ।’

यमकुमार सुब्बा : नेकपा एमाले इटहरी उपमहानगर कमिटी अध्यक्ष यमकुमार सुब्बाको नाम पनि मेयरको चर्चा छ। इटहरी नगरपालिका हुँदादेखि पार्टी सङ्गठन प्रमुख भएका सुब्बालाई समेत यो पटक मेयरको दाबेदारका रूपमा लिइएको छ।

पार्टी काममा व्यस्त रहने सुब्बालाई यो पटक युवा संघको एउटा समूहको साथ देखिन्छ। हुन त सुब्बाले चुनावी कार्यक्रमभन्दा पार्टीको आन्तरिक सङ्गठनात्मक काममै बढी समय दिँदै छन्। 

रामप्रसाद चौलागाईं : गत स्थानीय तहको चुनावमा मेयरका लागि नाम सिफारिस भएका रामप्रसाद चौलागाईं समेत यो पटकका आकांक्षी हुन्। बहालवाला मेयर द्वारिकलाल चौधरीसँग पानी बाराबारको स्थितिमा रहेका चौलागाईंको सम्बन्ध अहिले सुध्रिएको देखिन्छ।

इटहरी खानेपानीको निर्वाचनबाट दुई पटकसम्म अध्यक्षमा अत्यधिक मतले निर्वाचित चौलागाईं इटहरीमा मेयरको टिकटका अर्का प्रबल दाबेदार मानिन्छन्। अघिल्लो पटक पनि उनी जिल्लाबाट सिफारिसमा परेका थिए। तर सबैको अनुरोधमा आफू ब्याक भएकाले यो पटक आफ्नो व्यवस्थापन गर्नुपर्नेमा जोड दिन्छन्।

कांग्रेसभित्र तीव्र प्रतिस्पर्धा
एमाले कमजोर बनेको स्थितिमा नेपाली कांग्रेसभित्र मेयर बन्ने होडबाजीमा तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। कांग्रेसभित्र गत स्थानीय तह निर्वाचनमा पराजित उम्मेदवारदेखि उद्योग वाणिज्य संघका अध्यक्षसम्मको चर्चा चलेको देखिन्छ।

मेयरका लागि कांग्रेसबाट इटहरी सभापति हेमकर्ण पौडेल, उद्योग वाणिज्य संघका भीमबहादुर पौडेल र गत निर्वाचनमा पराजित उम्मेदवार रोहित प्रसाईँको नाम चर्चामा छ।

हेमकर्ण पौडेल : लगातार तीन पटक कांग्रेस इटहरी सभापति रहेका हेमकर्ण पौडेल मेयरको प्रमुख दाबेदारका रूपमा देखिएका छन्। पार्टीमा कोइराला समूहनिकट पौडेल यो पटकको निर्वाचनमा प्रमुख दाबेदार हुन्।

अघिल्लो पटक कांग्रेसबाट मेयरका दाबेदार पौडेल अन्तिम समयमा ब्याक भएका थिए। उनलाई व्यवस्थापन गर्न सुनसरीको २ ’क’ बाट प्रदेश सांसदको उम्मेदवार बनाएको थियो। 

तर, एमालेका सर्वध्वज साँवासँग पौडेल पराजित भएका थिए। मेयर बन्न नै गत अधिवेशनबाट पुनः नगर सभापतिमा पौडेल दोहोरिएको चर्चा समेत छ।

रोहित प्रसाई : अघिल्लो पटकको निर्वाचनमा मेयर पदमा द्वारिकलाल चौधरीसँग पराजित रोहित प्रसाई यो पटकको निर्वाचनमा समेत उठ्ने चर्चा छ। 

२० वटा वडा मध्ये १२ वटा वडामा कांग्रेसले जित निकाल्दा समेत प्रसाई पराजित भएका थिए। इटहरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रसाई कांग्रेसभित्रको देउवा समूहनिकट मानिन्छन्। देउवानिकट समूहमा रहेकाले प्रसाईले नै टिकट पाउन सक्ने चर्चा छ।

भीम पौडेल : कांग्रेसभित्र पौडेल र प्रसाईँलाई काउन्टर दिने अर्का पात्र हुन् भीम पौडेल। पार्टी सङ्गठनभन्दा व्यावसायिक पृष्ठभूमिबाट आएका पौडेलको चर्चा अहिले इटहरीको मेयरमा रहेको छ। इटहरी उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष पौडेल यो पटकको सशक्त दाबेदारका रूपमा छन्। 

क्रसर व्यवसायीको पृष्ठभूमिका पौडेलले इटहरीका विभिन्न ठूला व्यवसायमा हात हालेका छन्। पार्टी र सामाजिक संघसंस्थालाई चन्दा दिन पछि नहट्ने पौडेल कांग्रेस बाहिरसमेत चर्चामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .