ad ad

राजनीति


धरान उपमहानगर : एमालेलाई लालकिल्ला फर्काउने चुनौती

गठबन्धनले हुन सक्छ कांग्रेसलाई सजिलो
धरान उपमहानगर : एमालेलाई लालकिल्ला फर्काउने चुनौती

फाइल तस्बिर


कृष्ण बहाब
चैत २१, २०७८ सोमबार १४:१९, इटहरी

२०१५ को आम निर्वाचनमा मोरङ जिल्लामा पथ्र्यो धरान। २०१६ वैशाख २८ गते प्रकाशित नेपाल गजेटअनुसार तत्कालीन मोरङमा ३ वटा निर्वाचन क्षेत्र थिए। 

अहिलेको जस्तो नम्बर तोकेका निर्वाचन क्षेत्र थिएनन् त्यति बेला। धरान पर्ने इलाकालाई ‘मोरङ– विराटनगर पश्चिम–उत्तर’ भनेर निर्वाचन क्षेत्र तोकिएको थियो।

‘मोरङ विराटनगर दक्षिण’ मा बीपी कोइरालाले जित्दा धरानसमेत पर्ने ‘मोरङ विराटनगर पश्चिम उत्तर’ मा कांग्रेसका उम्मेदवार डिट्ठा ज्ञानचन्द्र सरदारले चुनाव जितेका थिए। 

०१५ सालको निर्वाचनपछि २०१७ सालमा धरान नगरपालिका घोषणा भयो। मङ्सिर ६, २०१७ मा राजपत्रमा सूचना प्रकाशित गरे धरान नगरपालिकामा परिणत भएको थियो। 

वामपन्थीको बर्चस्व
नगरपालिका घोषणासँगै निर्वाचन भयो। निर्वाचनमा वामपन्थी उम्मेदवार केदारनाथ खनाल प्रमुख र कृष्णप्रसाद श्रेष्ठ उपप्रमुखमा निर्वाचित भए। स्थानीय निकायको सुरु चुनावदेखि २०७४ सालको स्थानीय तहको चुनावसम्म वामपन्थी उमेदवारकै दबदबा धरानमा थियो।

पछिल्लो २०४८ र २०५४ सालमासमेत वामपन्थी उमेदवार नै मेयरमा निर्वाचित भएका थिए। ०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले वामपन्थी जितलाई निरन्तरता दिए। 

पछिल्लो २०७४ सालको स्थानीय तहको निर्वाचनबाट धरान उपमहानगरपालिकामा एमालेका उम्मेदवार तारा सुब्बा मेयर बने। 

आधुनिक निर्वाचन प्रणाली सुरु भएपछि वामपन्थीहरूको लगातार जितलाई सुब्बाले २०७४ को निर्वाचनमा जितेर निरन्तरता दिए।

नेपाली कांग्रेसका उम्मेदवार तिलक राईलाई सुब्बाले पराजित गरेका थिए। उनले २० हजार ९ सय ७५ मत ल्याउँदा तिलक राईले १६ हजार १ सय २ मत ल्याएका थिए। मेयरमा जितेको एक वर्ष अर्थात् २०७५ साउन १ गते सुब्बाको निधन भयो। 

निधनपछि मेयर पद खाली भयो। एमालेबाटै निर्वाचित उपमेयर मञ्जु भण्डारी कार्यवाहक मेयर बनिन्। 

भण्डारीले करिब डेढ वर्ष कार्यबाहक मेयर बनेर धरानलाई चलाइन्। त्यसपछि सरकारले २०७६ मङ्सिर १४ गते उपनिर्वाचन ग¥यो।

उपनिर्वाचन हुने समयमा एमाले र माओवादी मिलेर नेकपा बनिसकेको थियो। एमाले एक्लै हुँदासमेत निर्वाचन जितिरहेको धरानमा नेकपा भएपछि जित्नेमा झन् आश्वस्त देखिन्थ्यो। तर, स्थिति फरक बन्यो।

पहिलो पटक धरानको नेतृत्वमा कांग्रेस पुग्यो। कम्युनिस्ट पार्टीको लालकिल्ला ढल्यो। तारा सुब्बासँग पराजित तिलक राई मेयर बने। 

२०७४ निर्वाचनमा सुब्बा सँग झन्डै ५ हजार मतले पराजित तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराए। त्यो पनि करिब ३ हजार मतले। तिलकले २६ हजार ७ सय ९ मत ल्याउँदा नेकपाका प्रकाशले २३ हजार ९ सय १४ मत मात्र पाए।

तिलकले जितेपछि कम्युनिष्ट पार्टीमा तरङ्ग फैलियो। नफैलियोस् पनि कसरी २०१५ को आमनिर्वाचनमा डिट्ठा ज्ञानचन्द्र सरदारपछि रुख चिन्हमा तिलक राईले मात्रै चुनाव जितेका थिए। 

पञ्चायतकालमा समेत कम्युनिस्ट पार्टीनिकट जनपक्षीय उम्मेदवारहरूको दबदबा हुने धरानमा बहुदल आएपछि पहिलो पटक कांग्रेसले चुनाव जितेको थियो।

यो पटक के होला?
कम्युनिस्ट पार्टीको निरन्तरको सुनिश्चित क्षेत्रलाई तिलक राईले ब्रेक लगाएपछि राजनीतिक रूपमा धरानको स्थिति बदलिएको छ। राष्ट्रिय राजनीतिक गठजोडले स्थानीय निर्वाचन कस्तो होला? यतिबेला यसकै चर्चा धरानमा छ।

प्रदेश १ का दुई उपमहानगरमध्ये धरान एउटा हो। प्रदेश १ कै अर्को उपमहानगर इटहरी यसको छिमेकी। इटहरी जस्तै धरानमा पनि मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेकै हुने स्थिति छ। 

तर, कम्युनिस्ट पार्टीको एउटा ठूलो घटक माओवादीको उपस्थिति इटहरीमा भन्दा धरानमा अलिक बढी छ।

२०७४ को निर्वाचनमा माओवादी तत्कालीन आठ दलीय गठबन्धनसहित उठेकाले उसको मतको हिसाब एकीन छैन। तर, २० वडामध्ये एउटामा जित हासिल गरेकाले माओवादीको उपस्थितिलाई समेत निर्णायक मानिएको छ  ।

केन्द्रीय राजनीतिमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको गठबन्धन धरानमा हुने सम्भावना छ। गठबन्धन भएमा माओवादीलाई उपमेयर दिएर कांग्रेसले मेयर लिने तयारी भएको नेताहरूले बताउँदै आएका छन्।

गठबन्धन गरेर भए पनि कांग्रेस आफ्नो जितलाई धरानमा निरन्तरता दिन चाहन्छ। एमाले जसरी पनि आफ्नो साख फिर्ता गराउन लाग्ने देखिएको छ। यदि गठबन्धन हुने भएमा वामपन्थीकै मत अर्थात् माओवादीको मत कांग्रेसमा जाने कारण अर्को वामपन्थी एमाले हार्ने आँकलन भइरहेको छ। 

एमाले टुक्रिए धरानमा ठूलो असर देखिएको छैन। भीम आचार्यको चुनावी क्षेत्र भएकाले पनि समाजवादीको उपस्थिति खासै गतिलो देखिएको छैन। गठबन्धनको अर्को दल जसपाको उपस्थिति धरानमा राम्रो छ। 

धरानसमेत पर्ने सुनसरीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा अशोक राईले एक पटक लडिसकेकाले जसपाको उपस्थिति राम्रो रहेका अनुमान छ। 

जित्न सक्छ एमाले !
२०७४ सालको निर्वाचनमा एमालेको उपस्थिति धरानमा बलियो देखिएको थियो। मेयर–उपमेयरसहित २० मध्ये बहुमत १४ वडा एमालेले जितेको थियो। कांग्रेसले ४ र माओवादीले १ वडा जितेका थिए।

‘उपनिर्वाचनताकाको नेकपाकालमा धरान उपमहानगर कमिटीमा मात्रै होइ, सुनसरीको जिल्ला कमिटीभित्र पार्टी अन्तरसंघर्ष ठूलै थियो। गुटले पार्टी कमजोर भयो। कमिटीहरूले पूर्णता नपाएकाले पनि सङ्गठन चलायमान थिएनन्,’ एमाले जिल्ला कमिटी सदस्य नवराज राईले भने,  ‘अहिले स्थिति त्यस्तो छैन। पार्टी चलायमान छ। सङ्गठनहरू तल्लो तहसम्म छन्  । त्यसले निर्वाचनमा ठूलो सहयोग गर्छ।’

राईले भने जस्तै २०७४ को निर्वाचनमा माओवादीलाई राम्रो मत खसेको धरान १७ बाट उपनिर्वाचनताका प्रकाश राईलाई मत खसेन। २०७४ को निर्वाचन माओवादी र एमालेको मत करिब ३२०० थियो। कांग्रेसले १०३२ मत मात्र ल्याएको थियो।

तर, उपनिर्वाचन उलटफेर भयो। उपनिर्वाचनमा वडा १७ मा नेकपाको पक्षमा २ हजार २ सय ६५ मत मात्र खस्यो भने कांग्रेसले त्यही वडामा आफ्नो करिब १ हजार मत बढाएर २ हजार २ सय २५ ल्याएको थियो।  

एमालेबाट मजदुरदेखि पूर्व मेयरसम्म
निर्वाचनको नजिकिएसँगै एमालेमा उमेदवारहरूको चर्चा सुरु भएको छ। एमालेबाट मेयरको आकांक्षीका मजदुर नेतादेखि पूर्व मेयरसम्मको चर्चा छ।

मोतीराज सुनुवार: मजदुर नेताका रूपमा चिनिएका मोतीराज सुनुवार धरानको मेयरमा उठ्ने चर्चा चलिरहेको छ। मजदुर फाँटमा रहेर लामो समय काम गरेका सुनुवार एमालेबाट मेयरको उम्मेदवारका रुपमा बलिया देखिएका छन्। 

सञ्चार उद्यमी समेत रहेका सुनुवार पछिल्लो समय नेकपाभित्र विवाद हुँदा केपी शर्मा ओली समूहबाट केन्द्रीय सदस्य बनेका थिए। 

एमाले जिल्ला सचिवसमेत रहेर काम गरेका सुनुवार धरानबाट प्रकाशित हुने औजार दैनिकका अध्यक्षसमेत हुन्। संसदीय फाँटमा पार्टीले काम गर्ने मौका दिनुपर्ने भन्दै यतिबेला सुनुवार मेयरको प्रमुख दाबेदारका रूपमा देखिएका छन्।

धरानमा जातीय समीकरण चुनाव जित्ने मुख्य कारण बन्ने गरेको छ। सुनुवारलाई समेत त्यसले सहयोग गर्ने देखिन्छ। आदिवासी जनजातिको सहर धरानमा उम्मेदवार जनजाति उठाउँदा बढी मत पाउने सम्भावना हुन्छ। यसो हुँदा सुनुवार बलिया दाबेदार हुन्। 

मञ्जु भण्डारी : एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य भएकी मञ्जु भण्डारीको चर्चा पनि मेयरको दाबेदारका रुपमा छ। 

धरानकी बहालवाला उपमेयर भण्डारीको दाबेदारी समेत पार्टीमा छलफलको विषय बनेको देखिन्छ। 

अहिले देशभर उपमेयहरूले मेयरमा दाबी गरिरहेका छन्। जिल्ला निर्वाचन कार्यालय सुनसरीले प्रकाशन गरेको ‘स्थानीय तह झलक २०७४’ अनुसार भण्डारी ३५ वर्षको उमेरमा धरानको उपमेयर बनेकी थिइन। 

भण्डारीले मेयर तारा सुब्बाको निधनपछि डेढ वर्ष कार्यवाहक मेयरका रुपमा समेत काम गरिन्। त्यसैले पनि उनको नाम स्वाभाविक चर्चामा छ।

मनोज मेन्याङ्बो : २०५४ सालमा धरान नगरपालिकाका मेयर मनोज मेन्याङ्बोको  नाम पनि यो पटकको निर्वाचनमा चर्चामा छ। २०५४ का मेयरहरूमा मेन्याङ्वो चर्चित थिए। २०७९ को स्थानीय तहको चुनावमा समेत उनी दाबेदारका रुपमा चर्चामा छन्। 

नारायण सुवेदी : नेकपाकालका धरान अध्यक्ष नारायण सुवेदीले आफ्नो दाबेदारी मेयरमा हुने बताएका छन्। 

१० बुँदे सहमतिका क्रममा तत्कालीन माधव नेपाल समूह छाडेर एमालेमै बसेका हुन् सुवेदी। पार्टी फाँटमा लामो समय काम गरेको भन्दै सुवेदीले मेयरको टिकट पाउनु पर्ने बताउँदै आएका छन्। सुवेदी अहिले एमाले धरान नगर इन्चार्ज छन्। 

विजय राई : एमालेबाट मेयरको दाबेदार अर्का नेता हुन् विजय राई। झलनाथ खनाल प्रधानमन्त्री भएका बेला सचिवालयमा काम गरेका राईको चर्चा मेयरमा छ। 

एमाले छाडेर अशोक राईले खोलेको पार्टीमा गएका उनी पछि डा. विजय सुब्बा लगायतका नेता एमालेमा फर्किँदा सँगै आएका थिए। उनी हाल एमालेको प्रदेश कमिटी सदस्य छन्।

कांग्रेसमा गुट फ्याक्टर !
पाँच दलीय गठबन्धनसहित चुनावमा जाने चर्चासँगै धरानमा कांग्रेसभित्र मेयरको चर्चा सुरु भइसकेको छ। गठबन्धन भए पनि धरानको मेयर कांग्रेसले अरुलाई नछोड्ने स्थिति छ। 

इतिहासमा पहिलो पटक उपनिर्वाचनमार्फत जितेको कांग्रेसले आफ्नो नेतृत्वलाई यो पटक पनि निरन्तरता दिने सम्भावना छ। 

नेकपा एकीकृत समाजवादीको  उपस्थिति धरानमा राम्रो छैन। त्यसैले कांग्रेसले माओवादीलाई उपप्रमुख दिएर प्रमुख पद आफूले लिने आँकलन धरानमा छ। माओवादीलाई उपप्रमुख दिएर मेयर लिँदा समेत कांग्रेसभित्र आन्तरिक प्रतिस्पर्धा कडा हुने देखिन्छ।

उपनिर्वाचनका बेला कांग्रेसमा अभूतपूर्व एकता देखिएको थियो। केन्द्रका सबै नेताको ध्यान त्यतिबेला धरानमा थियो। महेश आचार्यलाई कांग्रेसले धरान नै बस्ने गरी चुनावी कमान्डर बनाएको थियो। गुटको विवाद उपनिर्वाचनमा देखिएको थिएन।

तर, कांग्रेसमा त्यो दृश्य फेरिएको छ। संस्थापन र इतर समूहको ठूलै अन्तरसंघर्ष धरानमा छ। कांग्रेस महाधिवेशनको ‘गुट’ प्रवृत्ति अहिले पनि कांग्रेस नेताहरूमा सतहमै देखिन्छ। 

दोहोरिन खोज्दै  तिलक
हाल मेयर रहेका तिलक राई फेरि मेयरमा दोहोरिन खोज्दै छन्। उपनिर्वाचनमार्फत आएकाले काम गर्न लामो समय नपाएको भन्दै पार्टीभित्र उनले लविङ सुरु गरिसकेका छन्। तर, गुटकै कारण टिकट नपाउने शंका उनमा छ।

कोइराला समूहका तिलक महाधिवेशनको पूर्वसन्ध्यामा देउवा गुटबाट सुनसरी प्रतिनिधिसभा एक नम्बर क्षेत्रको सभापति उठ्ने हल्ला चल्यो। 

देउवा समूहले पनि तिलकलाई आफ्नो गुटमा भित्र्याएकोमा खुसी नै थियो। तर, तिलकलाई देउवा समूहकै किशोर राई पक्षले सहयोग नगर्ने भए। लगत्तै देउवा समूहबाट ब्याक भए।

त्यसपछि कोइराला समूहबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार भए। जिते पनि। तर, जित पछि भने तिलकलाई ढुलमुले चरित्रको भन्ने आरोप पार्टीमा लाग्न थालेको छ।

किशोर राई 
६ असोज २०५९ असोजमा नेपाली कांग्रेसभित्र विभाजन आयो। गिरिजाप्रसाद कोइरालाले कारबाही गरेपछि शेरबहादुर देउवाले नेपाली कांग्रेस(प्रजातान्त्रिक) गठन गरे। त्यही प्रजातान्त्रिक कांग्रेसको धरान सभापति थिए किशोर राई।

प्रजातान्त्रिक कांग्रेस पृष्ठभूमिबाट आएका किशोर अहिले कांग्रेसभित्रको देउवा समूहमा छन्। उनी मेयरका अर्का सशक्त दाबेदार हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा) मा लगातार ४ कार्यकाल उपाध्यक्ष भएका राईको दावेदारी मेयरमा बलियो छ।

२०७६ मा भएको धरान उपमहानगरको उपनिर्वाचनमा तिलक राईसँगै किशोर राईको समेत चर्चा थियो। तर, २०७४ को निर्वाचनमा हारेकाले तिलकलाई नै मेयरको टिकट कांग्रेसले दियो।

तिलकले टिकट पाउँदै गर्दा किशोर राईको पक्षले अन्तर्घात गर्ने डर कांग्रेसमा थियो। तर, स्थिति त्यस्तो भएन। धरान कांग्रेसमा असाधारण एकता देखियो। केन्द्रीय नेताहरूको प्रत्यक्ष निगरानीबीच  कांग्रेसले धरानमा चुनाव जित्यो।

त्यही चुनाव जिताएको लाभ यो पटक किशोरले लिन चाहेका देखिन्छन्। तिलक राईलाई पार्टीले मेयरको लागि २ पटक टिकट दियो। त्यसैले यो पटक आफूले पाउनु पर्ने दाबी किशोरको छ।

कांग्रेसको संस्थापन समूहमा रहेका किशोरले देउवाको ग्रिन सिग्नल दिएमा टिकट पाउन सक्छन्। 

‘मैले धेरै पटक साथीहरूलाई सहयोग गरेको छु। तपाईँहरूले पनि त्यो बुझ्नु नै भएको छ,’ नेपाल खबरसँग उनले भने, ‘पटक–पटक अरूलाई अघि सारियो, यो पटक मैले पाउनु पर्छ भन्ने माग साथीहरूको पनि छ। मेरो पनि त्यही हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .