ad ad

राजनीति


विराटनगर महानगर : मेयरको दौडमा लालबाबु पण्डित र डिला संग्रौला पन्त

विराटनगर महानगर : मेयरको दौडमा लालबाबु पण्डित र डिला संग्रौला पन्त

मेयरको दौडमा रहेका लालबाबु पण्डित र डिला संग्रौला


केशव सावद
चैत २५, २०७८ शुक्रबार १७:६, काठमाडौँ

प्रदेश १ को एकमात्रै महानगर विराटनगरको मेयरका लागि प्रमुख सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका संघीय सांसदहरुले आकांक्षा देखाएका छन्। 

विराटनगर महानगरपालिकाको प्रमुखका लागि सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. डिला संग्रौला पन्त र प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद लालबाबु पण्डितले आकांक्षा देखाएका हुन्। 

डा. संग्रौला कांग्रेसको समानुपातिकतर्फकी संघीय सांसद् हुन्। पण्डित एमालेका प्रत्यक्ष निर्वाचित संघीय सांसद हुन्।

पण्डितले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता डा. शेखर कोइरालालाई मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा ६७५ ले पराजित गरेका थिए। 

निर्वाचन आयोगका अनुसार ३३ हजार ९४१ मत ल्याएर पण्डित विजयी हुँदा कांग्रेस नेता कोइरालाले ३३ हजार २६६ मत पाएका थिए। 

नेकपा माओवादी केन्द्रसँगको चुनावी तालमेलबाट कांग्रेसलाई सत्ताच्युत गर्न सफल एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई २०७४ फागुन ३ गते जनसंख्या तथा वातावरण मन्त्री बनाएका थिए।

त्यसअघि उनले ओलीको पहिलो कार्यकालमा सामान्य प्रशासन मन्त्रालय सम्हालेर चर्चा कमाएका थिए। 

सामान्य प्रशासन मन्त्रीको हैसियतमा कमाएको चर्चाबाट प्रभावित भएर ओलीले पण्डितलाई दोस्रो कार्यकालको सुरुवातमै तीन सदस्यीय मन्त्रिमण्डल बनाउँदा थममाया थापासँगै मन्त्रीमा नियुक्त गरेका थिए। 

कांग्रेस नेतृ डा. संग्रौला २०६८ साल माघ २१ गते भ्रातृ संगठन नेपाल महिला संघ केन्द्रीय तदर्थ समितिको अध्यक्षमा नियुक्ति भएकी थिइन्। 

२०७३ भदौ २९–३१ मा महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर उनी बिदा भएकी थिइन्। 

२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा संग्रौला समानुपातिकतर्फ सांसद हुनुअघि कांग्रेस केन्द्रीय सदस्य बनेकी थिइन्। गत मंसिरमा सम्पन्न पार्टीको १४ औँ महाधिवेशनबाट उनी फेरि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। 

कांग्रेसको आन्दोलनको जग मानिने विराटनगर महानगर प्रमुखमा आफूले आकांक्षा राखेको नेतृ संग्रौलाले बताएकी छन्। 

उनले विराटनगरको प्रमुखका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासमक्ष आकांक्षा राखिसकेकी छन्। 

‘विराटनगर महानगरपालिकाको मेयरमा मेरो दाबी छ,’ नेतृ संग्रौलाले नेपालखबरसँग भनिन्, ‘यसबारे सभापतिज्यूसमक्ष कुरा राखिसकेकी छु। उहाँले सल्लाह गरौँला भन्नुभएको छ।’

यस्तै एमाले नेता पण्डित पनि महानगरको प्रमुखमा प्रतिस्पर्धाका लागि चुनावी प्रचारमा लागिसकेका छन्। उनले पार्टीले आफूलाई विराटनगर महानगरको नेतृत्वका लागि पठाउन सक्ने प्रतिक्रिया दिएका छन्। 

‘पार्टीले आवश्यक ठहर गरे पठाउन पनि सक्छ। पार्टीले पठायो भने लड्नु पर्छ,’ नेता पण्डितले नेपालखबरसँग भने। 

उनले विराटनगरवासी र सञ्चारमाध्यमले मन पराएका कारण आफ्नो बारेमा महानगरको प्रमुखका रुपमा चर्चा गरेको पनि बताए। 

‘चर्चा चालेको छ। मिडिया र जनताबाट लालबाबु मेयर भए राम्रो भनेर आएको होला,’ पण्डितले भने, ‘अहिले त म सांसद नै छु। टुंगो नभइ त्यो छोड्ने कुरा भएन नि!’

२०७४ को स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकामा कांग्रेसका उम्मेदवार भीम पराजुली विजयी भएका थिए। पराजुलीले २३ हजार ३१ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले १७ हजार ३२१ मत प्राप्त गरेका थिए। 

ढकालपछि तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार उमेशकुमार यादवले १४ हजार ९५८ मत ल्याएका थिए। 

अरु आकांक्षी
विराटनगर महानगरपालिका प्रमुखमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका  पराजुलीले दोहोरिन चाहेका छन्।  यस्तै उपप्रमुख इन्दिरा कार्कीले पनि आकांक्षा राखेकी छन्। 

उपप्रमुखहरूले देशभर प्रमुखमा दाबी गरिरहेको अवस्थामा कार्की पनि दौडमा छन्। महिलाले पनि पालिका हाँक्न सक्ने भन्दै उनी आफ्नो दाबी रहने बताउँदै आएकी छन्।

विराटनगर उपमहानगरपालिका हुँदाका कार्यकारी अधिकृत गोपाल रेग्मी पनि कांग्रेसबाट महानगर प्रमुखको सम्भावित दाबेदार हुन्। 

अवकाश प्राप्त कर्मचारी भएकाले राजनीतिक नेतृत्व लिएर विराटनगर हाँक्ने इच्छा उनले व्यक्त गरेका छन्।

एमालेबाट २०७४ को स्थानीय तह निर्वाचनमा पराजुलीसँग प्रतिष्पर्धामा उत्रिएका ढकाल यसपटक महानगर प्रमुखको दौडमा देखिँदैनन्। उनले केन्द्र नभए प्रदेशको नेता बन्ने योजना बनाएको एमाले स्रोतको दाबी छ। 

उनको विकल्पमा अहिले एमालेका नगर अध्यक्ष सागर थापाको नाम चर्चामा छ। दुई पटक महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति रहेका थापा विराटनगरको मेयरको प्रतिस्पर्धामा देखिन सक्ने सम्भावना छ।

एमालेबाटै सामाजिक विकास मन्त्रीसमेत भइसकेका प्रदेश सांसद जीवन घिमिरेको पनि नाम चर्चामा छ। तर, उनी आफ्नो ध्यान मेयरमा नभएको बताउँदै आएका छन्। 

विराटनगर जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको गृहनगर पनि हो। यहाँ जसपाको पकड राम्रो छ। २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादीका उम्मेदवार उमेशकुमार यादवले १४ हजार ९५८ मत ल्याएका थिए।

जसपाबाट विराटनगर महानगर प्रमुखमा प्रदेश स्वास्थ्यमन्त्री जयराम यादवको चर्चा छ। जसपा प्रदेश १ संसदीय दलका नेता यादवले मेयरमा उठ्न अहिलेको पदबाट राजीनामा दिनु पर्ने हुन्छ।

जसपाबाट यादवसँगै २०७४ मा संघीय समाजवादीका उम्मेदवार उमेशकुमार यादवको पनि चर्चा छ। उमेशसँगै उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई पनि महानगरको प्रतिस्पर्धी मानिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .