ad ad

राजनीति


जनकपुरको मेयरमा एमालेका उम्मेदवार शिवशंकरः एक वर्षअघि पार्टी प्रवेश, रघुवीरका विश्वास पात्र

जनकपुरको मेयरमा एमालेका उम्मेदवार शिवशंकरः एक वर्षअघि पार्टी प्रवेश, रघुवीरका विश्वास पात्र

शैलेन्द्र महतो
चैत २८, २०७८ सोमबार २१:३६, जनकपुरधाम

मधेश प्रदेशमा एक महानगर, तीन उपमहानगरसहित १ सय ३६ पालिका छन्। यी मध्येको महत्वपूर्ण पालिका हो जनकपुरधाम उपमहानगरपालिका।

मधेश प्रदेशको राजधानी रहेकाले पनि सबै दलको दृष्टि जनकपुरधाम उपमहानगरपालिका माथि छ।

अहिलेसम्म जनकपुरधामको मेयरका लागि दुई दलबाट मेयर पदका उम्मेदवार सिफारिस भएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मेयर र उपमेयर पदमा पाँच/पाँच जनाको नाम सिफारिस गरेको छ भने नेकपा एमालेले सात जनाकाे नाम सिफारिस गरेकाे छ।

एमाले जनकपुरधाम नगर कमिटीको आइतबार बसेको बैठकले मेयर पदमा शिवशंकर साह हिरा, हकिम राइन, सुरेन्द्र भण्डारी, कामेश्वर महतो र उमेश चौधरीसहित सात जनाको नाम सिफारिस गरेकाे हाे।

एमालेबाट एक नम्बरमा सिफारिस भएका शिवशंकर साह हिराको उम्मेदवारी निश्चित जस्तै छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ मा घर भएका हिरा एमालेका प्रदेश कमिटी सदस्य हुन्। 

उनी यसअघि जनकपुर उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघको मधेश प्रदेश अध्यक्ष समेत भइसकेका छन्। जनकपुर उद्योग वाणिज्य संघमा छँदा २०७२ को मधेश आन्दोलनमा सक्रियताका साथ खटेका थिए।

आफू विद्यार्थीकालदेखि नै रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन र विभिन्न संघसंस्थामा लागेर राजनीतिमा सक्रिय रहेको हिरा बताउँछन्। ४५ वर्ष उमेरका हिराले स्नाकोत्तर गरेका छन्। 

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट जनकपुरधामको मेयरमा लक्ष्मीनारायण भगत लडेका थिए। उनी एमाले विभाजन पश्चात माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर सक्रिय छन्। 

अघिल्लो चुनावमा हिरा तत्कालिन राजपा नेपालबाट मेयर पदका आकांक्षी थिए। तर पछिल्लो राजनीतिक घटनाक्रम र मधेशवादी दलको गतिविधिबाट असन्तुष्ट भएका उनी एक वर्षअघि एमाले प्रवेश गरेका थिए। उनी हाल एमालेका सचिव रघुवीर महासेठका विश्वास पात्र हुन्।

हिरा एमाले प्रवेश गरेपछि जनकपुरमा तत्कालिन मधेश आन्दोलनमा अग्रमोर्चामा रहेर सक्रियतापूर्वक आन्दोलनमा सरिक केही युवाहरु पनि एमाले भए। त्यसकारण पछिल्लो समय जनकपुरमा एमाले जुरमुराउँदै गएको देखिन्छ। यद्यपी जनाआधारको हिसाबले एमाले अहिले पनि चौथो दलको हैसियतमा रहेको बताइन्छ।

गत  २०७४ को स्थानीय निर्वाचनमा जनकपुरधामको मेयर उपमेयरमा तत्कालिन राजपा नेपालले जितेको थियो। आधा भन्दा बढी वडाध्यक्ष पदमा पनि राजपाले कब्जा गरेको थियो। राजपाबाट जितेका मेयर लालकिशोर साहले २१ हजार ९०३ मत ल्याएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज कुमार साहले ११ हजार १६४ मत ल्याएर पराजित भएका थिए। 

यस्तै, तेस्रोमा एमालेका उम्मेदवार लक्ष्मीनारायण भगतले ४ हजार ८६५ मत ल्याएका थिए भने चौथो स्थानमा रहेका फोरम नेपालका उम्मेदवार विष्णुदेव साहले ३ हजार ६१२ मत ल्याएका थिए।

माओवादी केन्द्रका उम्मेदवार चन्द्रशेखर साहले २ हजार १२४ र नयाँ शक्तिका उम्मेदवार उमेश साहले ५८८ मत ल्याएका थिए। 

चुनाव पश्चात मधेशवादी दल राजपा नेपाल र फोरम मिलेपछि जसपा हुँदा मधेशवादी दल निकै शक्तिशाली थियो। पछि पार्टी विभाजन पश्चात मेयर लालकिशोर साह जसपातिर लागेका छन् भने उपमेयर रिताकुमारी मिश्र लोसपा तिरै छन्। 

जनकपुरधाममा कांग्रेस, लोसपा र जसपा बलिया छन्। हुन त अघिल्लो मत परिणाम अनुसार तत्कालिन राजपा सबैभन्दा शक्तिशाली दल थियो। पछि एकता भएर जसपा हुँदा झनै शक्तिशाली थियो भने पुनः विभाजन हुँदा जसपा र लोसपा दुवैको शक्ति घटेको छ।

जसपाको विभाजनले कांग्रेस बलियो अवस्थामा छ। यद्यपी अहिले पनि जनकपुरमा लोसपा नै बलियो देखिन्छ। दोस्रोमा कांग्रेस, तेस्रोमा जसपा मानिन्छ। त्यसपश्चात मात्रै क्रमशः एमाले, माओवादी, एकीकृत समाजवादीको आधार देखिन्छ।   

पछिल्लो समय मधेशवादी दलबाट गएका युवा अनुहारहरुको कारण चौथो स्थानमा रहेको एमालेको प्रभाव बढ्दै गएको छ। जनकपुर क्षेत्रमा निरन्तर पार्टी प्रवेश गराउने क्रम एमालेले जारी राखेको छ।

सत्ता घटक दलहरु जनकपुरधाममा गठबन्धन गर्ने प्रयासमा छन्। तर, जसपा र कांग्रेसले आ आफ्नै दलले मेयर पाउनु पर्ने अडानका कारण गठबन्धनको सम्भावना कमै देखिन्छ। विगतमा मधेश आन्दोलनको जस्तो सेन्टिमेन्ट नभएका कारण यसपटक एमालेको भोट पहिलेको तुलनामा धेरै बढ्न सक्ने आकलन एमालेका नेताहरुको छ।

आफूले जनकपुरधामको विकासमा खेलेको भूमिका, उद्योग व्यवसाय र समाजमा गरेको योगदानको कारण र एमालेमा चलेको जनलहरले निर्वाचित हुने हिरा दाबी गर्छन्।

‘विगतमा यति मधेश विरोधी सेन्टिमेन्ट फिँजाउँदा पनि झण्डै पाँच हजार मत एमालेले पायो। अहिले मधेश आन्दोलनको सेन्टिमेन्ट छैन। तीन वर्षदेखि निरन्तर पार्टी प्रवेश, समाजिक संघसंस्था क्लबमा कार्यक्रम हुँदा एमालेको हरेक समुदायको व्यापक सहभागिता हुने गरेको कसैसँग लुकेको छैन’ उनले भने, ‘निरन्तर पार्टी प्रवेशको कार्यक्रम चलिरहेको छ। यसपटकको माहोल नै फरक छ जनकपुरधामको। त्यसैले एमालेकाे जित निश्चित छ।’ 

उनले यसपटक जनकपुरको बीच भागबाट सबभन्दा धेरै मत एमालेको आउने दाबी पनि गरे। 

जनकपुरधामलाई अत्याधुनिक पर्यटकीय नगरी बनाउने, पाँच वर्षमा नभएको डम्पिङ साइडको व्यवस्था, जनकपुकाे रामस्वरुप रामसागर बहुमुखी क्याम्पससहित शिक्षा क्षेत्रलाई सुदृढ, ट्राफिक व्यवस्थापन, व्यापार व्यवसायलाई प्रवर्द्धन लगायत आफ्नो एजेण्डा रहेको हिराले सुनाए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .