ad ad

राजनीति


पाकिस्तानमा नयाँ सरकार : के सार्क ब्युँताउन सम्भव छ?

पाकिस्तानमा नयाँ सरकार : के सार्क ब्युँताउन सम्भव छ?

सन्तोष घिमिरे
चैत ३०, २०७८ बुधबार २३:२७, काठमाडौँ

नेपालले सन् २०१४ मा १८ औँ सार्क शिखर सम्मेलन आयोजना गर्यो। सार्कका शीर्ष नेताबीच १९ औँ शिखर सम्मेलन सन् २०१६ को नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा आयोजना गर्ने सहमति भयो। मूलतः भारत र पाकिस्तानबीचको कलहले सार्क शिखर सम्मेलन ६ वर्षयता आयोजना हुन सकेको छैन। 

यही साता मात्रै पाकिस्तानमा सरकार परिवर्तन भएको छ। शहबाज सरिफ नेतृत्वको नयाँ पाकिस्तानी सरकार गठनसँगै भारत–पाकिस्तान सम्बन्ध कसरी अघि बढ्छ भन्ने कुरामा सार्कको भविष्य पनि जोडिएको कूटनीतिज्ञहरुले बताएका छन्। 

गत सोमबार पाकिस्तानमा नवनियुक्त प्रधानमन्त्री सरिफलाई बधाई दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादमुक्त तथा शान्ति र स्थिरता सहितको दक्षिण एसिया भारतको चाहना रहेको पुरानै भनाइ दोहोर्याएका छन्। उनले त्यसो भए मात्रै यस क्षेत्रका जनताको विकासका चुनौती र खुसी एवं समृद्धिमा ध्यान केन्द्रित गर्न सकिने बताएका थिए। भारतीय प्रधानमन्त्रीले आतंकवादका मामिलामा भारतको पाकिस्तानप्रतिको बुझाइमा परिवर्तन नआएको स्पयट बताएका छन्। 

मोदीलाई जवाफ दिँदै पाकिस्तानका नयाँ प्रधानमन्त्रीले पाकिस्तानले भारतसँग शान्तिपूर्ण र सहकार्यमूलक सम्बन्ध चाहेको बताएका छन्। उनले जम्मु र कस्मिरलगायत सल्टिन नसकेका मुद्दाको शान्तिपूर्ण समाधानमा जोड दिएका छन्। पाकिस्तानले आतंकवादविरुद्द गरेको त्याग जगजाहेर रहेको बताउँदै शान्तिका लागि काम गर्न भारतसँग आग्रह गरेका छन्। 

भारत र पाकिस्तानका प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् एकअर्कालाई हेर्ने पुरानै दृष्टिकोण पुनः सार्वजनिक गरेका छन्। पाकिस्तान र भारतले आफ्ना जकडिएका पुराना मुद्दा हल गर्दै सार्कजस्ता साझा क्षेत्रीय मञ्च अघि बढाउन तत्परता देखाउँछन् या पहिलेकै जस्तै एकअर्कामाथि सार्क अघि नबढ्नुको दोष थोपर्छन् अहिले नै केही भन्न नसकिने कूटनीतिज्ञहरु बताउँछन्। 

पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले पाकिस्तानमा नयाँ सरकार बनेको सन्दर्भमा भारतले सार्कलाई महत्व दिनेमा संशय व्यक्त गरे।

‘सार्कलाई भन्दा बिमस्टेकलाई बढी महत्व दिइरहेको भारतले पाकिस्तानमा नयाँ सरकार आएपछि सार्कलाई अघि बढाउन चासो देला वा नदेला अहिले नै केही भन्न सकिन्न,’ उनले भने। 

पाकिस्तानमा नवाज सरिफ प्रधानमन्त्री हुँदा भारतका प्रधानमन्त्री पाकिस्तानसँग सम्बन्ध सुधार्न अघोषित भ्रमणमा गएको सम्झिँदै आचार्यले भने, ‘अबका दिनमा पनि भारत र पाकिस्तानबीच सम्बन्ध सुधार हुन पनि छ, वा अझ बिग्रन पनि सक्छ। त्यसपछि मात्रै सार्क अघि बढ्ला वा नबढ्ला सकिएला।’

पाकिस्तान शिखर सम्मेलन गर्न तत्पर देखिन्छ, हामी अध्यक्षता हस्तान्तरण गर्न चाहन्छौँः प्रवक्ता लम्साल 
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले मृतप्रायः रहेको सार्कको शिखर सम्मेलन चाँडै होस् भन्ने नेपालले चाहेको बताएकी छन्। 

मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले सार्कको वर्तमान अध्यक्षका नाताले सार्कलाई गति दिनु नेपालको चाहना भएको बताइन्। 

‘सार्कको अध्यक्षका हिसाबले हामी जतिसक्दो चाँडो अध्यक्षता हस्तान्तरण गर्न चाहन्छौँ। सार्कलाई अघि बढाऔँ भनेर सबै सदस्य देशलाई भन्दै आएका छौँ। नेपालले अहिले गर्नसक्ने त्यति नै हो,’ उनले भनिन्।

सार्क बडापत्रअनुसार शिखर सम्मेलन आयोजनाका लागि सबै देशले सहमति जनाउनुपर्ने उनले उल्लेख गरिन्। 

‘पाकिस्तानमा सन् २०१६ नोभेम्बरका लागि सार्क शिखर सम्मेलन प्रस्तावित थियो। उनीहरु सबै हिसाबले तयार पनि थिए। तर त्यसबेला शिखर सम्मेलन हुन सकेन। अहिले पनि पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर देखिन्छ। सायद निकट भविष्यमा यसबारे सहमति जुट्ला कि!’ लम्सालले भनिन्। 

सार्क सदस्य मुलुक पाकिस्तान र श्रीलंकामा भएका पछिल्ला राजनीतिक घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको उनले बताइन्।

अनि सार्क प्रक्रिया अवरुद्ध भयो...
सन् २०१६ नोभेम्बर १६ मा सार्क शिखर सम्मेलन पाकिस्तानमा आयोजना गर्नका लागि सबै सदस्य मुलुक तयार थिए। तर त्यसको १५ दिनअघि भारतको उरीस्थित सैनिक अड्डामा आतंकवादी हमला भएपछि भारतले त्यसको दोष पाकिस्तानलाई लगायो। त्यसयता भारतले सार्क शिखर सम्मेलन आयोजना हुन नसक्नुमा पाकिस्तानलाई दोष दिँदै आएको छ। पाकिस्तानले चाहिँ भारतको गैह्रजिम्मेवारीपनका कारण सार्क मृतप्रायः बनेको बताउँदै आएको छ। 

भारत-पाकिस्तानबीचको दुश्मनी, कस्मिर विवाद र सीमापार आतंकवादका विषयमा रहेका मतभेदका कारण विगतमा पनि सार्क शिखर सम्मेलन प्रभावित भएका थिए। छिटफुटबाहेक सार्कका विभिन्न संयन्त्रका बैठक हुन सकेका छैनन्। 

कोभिड संकटपछि पनि ब्युँतिएन सार्क 
कोरोना महामारीको पहिलो लहरका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य देशका सरकार प्रमुखसँग भिडिओ कन्फ्रेन्स गरे। मार्च २०२० मा आयोजित उक्त भिडियो कन्फ्रेन्समा पाकिस्तानी प्रधानमन्त्री इमरान खान सहभागी भएनन्। उनले आफ्ना कनिष्ठ सरकारी अधिकारीलाई बैठकमा सहभागी गराए। 

मोदीले आयोजना गरेको उक्त भर्चुअल कन्फ्रेन्समा कोरोना महामारीमा मिलेर अघि बढ्न सबै देश तयार देखिए। मोदीको प्रयासमा भएको उक्त कन्फ्रेन्सले ‘सार्क प्रोसेस’ ब्युँताउन काम गर्छ कि भन्ने अपेक्षा समेत लिइयो। त्यसपछिका दिनमा भारत तथा पाकिस्तानले कोरोना महामारीबारे भर्चुअल बैठक गरे। तर सार्क प्रोसेस अघि बढ्न सकेन। 

भारत र पाकिस्तानबीच असमझदारी चुलिएकै बखत सन् २०२१ को सेप्टेम्बरमा राष्ट्रसंघीय महासभाको दौरान न्युयोर्कमा सार्क मन्त्रिपरिषद् बैठक बोलाइयो। तर अन्तिम समयमा बैठक रद्द भयो। सार्कको सदस्य मुलुक अफगानिस्तानमा आएको नयाँ तालिबान सरकारलाई सहभागी गराउने विषयमा सदस्य मुलुकबीच सहमति नहुँदा सार्क विदेशमन्त्रीस्तरीय बैठक बस्न सकेन। अहिले पनि सार्क सदस्य देशले नयाँ अफगानी सत्तालाई मान्यता दिएका छैनन्। त्यहाँ मानवीय संकट उस्तै छ। सार्ककै अर्को सदस्य मुलुक श्रीलंका आर्थिक संकटमा छ। तर सार्कजस्ता पुराना क्षेत्रीय मञ्च निष्क्रिय छन्। 

सार्क अध्यक्ष देश हुनुका नाताले नेपालले भारतलगायत अन्य सदस्य मुलुकलाई शिखर सम्मेलनका लागि मनाउन सक्नुपर्ने हो। तर नेपालले शिखर सम्मेलनका लागि आवश्यक पहलकदमी लिन सकेको छैन। 

पाकिस्तानमा सार्क शिखर सम्मेलन हुन नसके अब रोलक्रम अनुसार श्रीलंकाको पालो आउँछ। 

पाकिस्तानमा सार्क शिखर सम्मेलन हुन सक्दैन भने श्रीलंकामा आयोजना गरेर भए पनि सार्कलाई गति दिन पहल गर्नुपर्ने क्षेत्रीय मामिला विज्ञहरु बताउँछन्। सन् १९८५ मा स्थापित सार्कमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स र अफगानिस्तान सदस्य छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .