ad ad

राजनीति


गृहमन्त्री खाँण : निर्वाचनको मुखैमा काठमाडौं–भैरहवा ओहोरदोहोरको अन्तर्य

गृहमन्त्री खाँण : निर्वाचनको मुखैमा काठमाडौं–भैरहवा ओहोरदोहोरको अन्तर्य

जेवी पुन मगर
बैशाख ९, २०७९ शुक्रबार १०:२५, बुटवल

यसपालि हुने स्थानीय तहकाे निर्वाचनमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रतिस्पर्धा स्थानीय उम्मेदवारबीच हुने भए पनि जित-हारको नाफाघाटा सिधै आफ्नो पोल्टामा पार्न गृहमन्त्री बालकृष्ण खाँण चुनावी रणनीति बनाई काठमाडौं–भैरहवा ओहोरदोहोर गरिरहेका छन्। 

तिलोत्तमामा पर्ने मणिग्राम निवासी गृहमन्त्री खाँणका निम्ति गृहनगरमा हुने आसन्न स्थानीय तहको निर्वाचन कतिको महत्त्वपूर्ण छ भने उनी सातामै दुई-दुईचोटिसम्म काठमाडौं–बुटवल धाइरहेका छन्। बुधबार भैरहवा उत्रिएका खाँणलाई बिहीबार दिउँसोसम्म पनि चुनावी भेटघाटमा भ्याईनभ्याई थियो।

आफ्नै गृहजिल्ला भए पनि रुपन्देहीमा खाँणको रवाफ उहिलेको जस्तो छैन। उनको जनाधार खस्किँदै गएको छ। यो कुरा उनले २०७० को संविधान सभा चुनावमा एमालेका नेता घनश्याम भुसाललाई सयभन्दा कम मतान्तरले जित्दा प्रस्ट भएको थियो। निर्वाचन परिणामको डरले उनले २०७४ को निर्वाचनमा उम्मेदवारी नै दिएनन्। अहिले उनी समानुपातिक सांसद हुन्। 

खाँण पार्टीभित्रै पनि बलियो अवस्थामा देखिँदैनन्। नेपाली कांग्रेस बुटवल उपमहानगर समिति र प्रदेश समितिका अधिवेशनमा नतिजा उनका पक्षमा आएन। तर खाँणले तिलोत्तमा नगर अधिवेशनमा नतिजा मुस्किलले आफ्नो पक्षमा पारे। 

जिल्ला सभापतिमा भने भाइ रामकृष्ण खाँणलाई सर्वसम्मत गराउन सफल भए। त्यतिबेला पनि उनको धेरैजसो बास गृहजिल्लामै थियो। उपमहानगर र प्रदेशमा कोइराला पक्षीय उम्मेदवारले खाँणले नेतृत्व गरेको देउवापक्षीय उम्मेवदारलाई हराइदिएपछि खाँण रुपन्देहीमा कमजोर देखिएका थिए। त्यसैले उनलाई आफ्नो अस्तित्वका लागि पनि अहिले गृहजिल्ला दौडिरहनुपर्ने बाध्यता भएको हो। 

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको दाहिने हात मानिएका खाँण आफ्नो खस्किँदो जनाधारका कारण डराइरहेका देखिन्छन्। सत्तामा टिकिरहन आउँदो संघीय निर्वाचनमा उम्मेदवारी दिनुपर्ने बाध्यतामा रहेका खाँणलाई स्थानीय निर्वाचनमा आफ्नो पकड बलियो बनाउन अनिवार्य छ। त्यसैले खाँण आफ्नो विश्वासपात्रलाई तिलोत्तमाबाट मेयरमा जिताउन चाहन्छन्। 

गएको २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका वासुदेव घिमिरेसँग २७८४ मतले हारेका आफ्ना भाइ रामकृष्णलाई बालकृष्णले पुनः मेयर पदको टिकट दिलाउन लागिपरेको बताइन्छ। खाँण काठमाडौं उडेपछि भाइ रामकृष्णले बिहीबार साँझ प्रेस युनियन रुपन्देहीलाई अनुरोध गरी राखेको भेलामा तिलोत्तमामा आफ्नो उम्मेदवारी दिनेबारे संकेत गर्न खोजेको बताइन्छ।

गएको निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीसँग गठबन्धन गरी तिलोत्तमा नगरपालिकामा मुख्य प्रतिस्पर्धी एमालेसँग भिडेको कांग्रेसलाई दलभित्रैबाट घात भएको र तिनका मतदाताले एमालेको उम्मेदवारलाई मतदान गरेकोले कांग्रेस हारेको विश्लेषण गरिन्छ। 

बालकृष्ण मात्र होइन, उनका भाइ रामकृष्ण पनि स्थानीय तहमा लोकप्रिय छैनन्। गत निर्वाचनमा कांग्रेसको हारका पछाडि रामकृष्णको अलोकप्रियतालाई पनि एउटा प्रमुख कारण मानिन्छ। तर तिनै रामजीलाई फेरि उम्मेदवार बनाइनुका पछाडि बालकृष्ण गठबन्धनका दल माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको मत पनि थपिएकाले उत्साहित हुन सक्छन्। 

रामकृष्णले यसपालि पनि तिलोत्तमामा जित–हारमा निर्णायक मत भएको राष्ट्रिय जनमुक्ति पार्टीका स्थानीय नेतासँग पनि कुरा गरिरहेका छन्। 

यी सबै तयारी भैसकेका कारण हुनसक्छ– गएको निर्वाचनमा तिलोत्तमामा भएको अन्तर्घात नदोहोर्याइयोस् भन्ने आशयले  बुधबार गृहमन्त्री खाँणले गठबन्धन उल्लंघन गरे कारबाही गरिने चेतावनी दिएका छन्। तिलोत्तमा कांग्रेसबाट मेयर पदका बलिया ठानिएका आकांक्षी रोमणि पाठक र नारायण न्यौपाने शेखर कोइराला पक्षका भएकाले तिनलाई टिकट दिन बालकृष्ण तयार देखिँदैनन्। त्यसैले उनले फेरि भाइलाई नै अगाडि सार्ने सम्भावना रहेको बताइन्छ। 

गृहमन्त्री खाँणले यतिको तयारी गरे पनि उनका अगाडिका बाटा सहज छैनन्। गठबन्धन दलको प्रतिद्वन्द्वी नेकपा एमालेका ४ जना सम्भावित उम्मेदवारमध्ये बहालवाला मेयर वासुदेव घिमिरे र मोहन चापागाईंबाट एकजनाले टिकट पाउने निश्चितजस्तै रहेको एमालेका स्थानीय नेताहरू बताउँछन्। यी दुवै पूर्वगृहमन्त्री तथा एमालेका प्रभावशाली नेता विष्णु पौडेल नजिकका उम्मेदवार हुन्। गृहजिल्ला बुटवल भएका पौडेलले तिलोत्तमाको जितहारलाई प्रतिष्ठासँग जोडेको हुनाले उनले यसपालि पनि निर्वाचन परिणाम आफ्ना पक्षमा पार्न हरसम्भव प्रयत्न गर्नेछन्। 

मेयर वासुदेव घिमिरेले राष्ट्रिय जनमुक्ति पार्टीसँग चुनावी तालमेल गर्न गरिरहेका पछिल्ला बैठकले त्यस्तो देखाउँछ पनि। एमालेका मेयर उम्मेदवारका आकांक्षी मोहन चापागाईं भन्छन्, ‘हाम्रा केही आन्तरिक विवाद मिल्ने हो भने यसपालि पनि तिलोत्तमाको मेयर पद एमालेले नै जित्छ।’

आफ्नो निर्वाचन क्षेत्र ३ भित्र पर्ने तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकामा गृहमन्त्री खाँणले आफ्ना विश्वासिला मान्छे ल्याउन गरिरहेका दौडधुप कोइराला पक्षले निको मानिरहेको देखिँदैन। खाँणले सिद्धार्थनगरमा आफ्ना पक्षका मेयर पदका उम्मेदवार इस्तियाक अहमद खाँलाई आफ्नो प्रभाव रहेको नगर समितिबाट सर्वसम्मत चयन गरी माथिल्लो तहमा पठाइसकेका छन्। 

यी सबै हेर्दा खाँण जसरी भए पनि आफ्नो अवस्था बलियो बनाउन लागिपरेको देखिन्छ। उनको यस्तो दौडधुपले चाहेजस्तो परिणाम ल्याउला त? त्यसको अनुमान अहिल्यै गर्नु हतार हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .