ad ad

राजनीति


युक्रेनबारे नेपालको ‘पोजिसन’को प्रशंसा, तिब्बती शरणार्थीबारे चासो

युक्रेनबारे नेपालको ‘पोजिसन’को प्रशंसा, तिब्बती शरणार्थीबारे चासो

सन्तोष घिमिरे
बैशाख १०, २०७९ शनिबार १९:४६, काठमाडौँ

नेपाल भ्रमणमा रहेको अमेरिकी संसदीय टोलीले युक्रेन संकटबारे संयुक्त राष्ट्रसंघ लगायत अन्तराष्ट्रिय मञ्चमा नेपालले लिएको ‘पोजिसन’ को सराहना गरेको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपाली सांसदहरुसँग शनिबार भएका भिन्दाभिन्दै भेटहरुमा अमेरिकी संसदीय टोलीले रुसले युक्रेनमा गरेको सैन्य हमलाबारे नेपाल सरकारको धारणाप्रति खुशी ब्यक्त गरेको हो। 

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमा सैनिक हमला गरेयता संयुक्त राष्ट्रसंघीय मञ्चमा भएका अधिकांश मतदानमा नेपालले युक्रेनका पक्षमा मत दिएको थियो। 

अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री देउवासँग बालुवाटारमा गरेको भेटमा टोलीले युक्रेन मामिलामा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा लिएको अडानका लागि आभार ब्यक्त गरेको देउवाका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए। 

‘युक्रेनको सार्वभौमिकता र त्यहाँ देखिएको मानवीय संकटबारे नेपालको धारणाबारे अमेरिका जानकार नै छ। आजको भेटमा अमेरिकी संसदीय टोलीले युक्रेन मामिलामा नेपालले अन्तराष्ट्रिय मञ्चमा लिएको पोजिसनका लागि आभार ब्यक्त गर्यो’ परियारले नेपाल खबरसँग भने। सो अवसरमा अमेरिकी संसदीय टोलीकी नेतृ किस्टर्न जिलिब्रान्डले नेपाल अमेरिकाको असल मित्र रहिरहने बताएकी थिइन्। 

गत अप्रिल ७ मा रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यबाट निलम्बन गर्नेसम्बन्धी संयुक्त राष्ट्रसंघ महासभामा भएको मतदानमा चाहिँ नेपाल तटस्थ बस्यो। त्यसबाहेक युक्रेन संकटबारे भएका अन्य चारवटा मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको थियो। 

अमेरिका र अन्य पश्चिमा मुलुकको इसारामा युक्रेनको पक्षमा मत दिएर नेपालले असंलग्न विदेश नीति त्यागेको भन्दै सरकारको आलोचना पनि भयो। यद्यपि, परराष्ट्र मन्त्रालयले नेपालले युक्रेन मामिलामा स्वतन्त्र विदेश नीति अँगालेको बतायो। साथै मन्त्रालयले सार्वजनिक रुपमा असंलग्न विदेश नीतिमा सरकारको प्रतिबद्धता दोहोर्यायो। 

अमेरिकी संसदीय टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालको सामाजिक र आर्थिक विकासका क्षेत्रमा दिंदै आएको सहयोगका लागि धन्यवाद दिएका थिए। त्यसैगरी सन् २०१५ को विनाशकारी भूकम्प र कोरोना महामारीका समयमा अमेरिकाले दिएको सहयोगका लागि प्रधानमन्त्रीले सराहना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

लोकतन्त्र संस्थागत गर्ने तथा जलवायु परिवर्तनमा नेपाल र अमेरिकाबीच सहकार्य गर्नेबारे पनि भेटमा चर्चा भएको मन्त्रालयले जनाएको छ। ‘नेपाल र अमेरिकाबीचको बहुआयामिक मित्रतालाई अभिवृद्बि गर्न संसदीय अन्तरक्रियाको महत्व रहेकोमा दुवै पक्षले जोड दिए’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ। 

परराष्ट्रमन्त्री डा. खड्कासँग परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा मन्त्री खड्काले अमेरिकाले लामो समयदेखि दिंदै आएको सहयोगका लागि कृतज्ञता ब्यक्त गरे।

उनले अमेरिकी संसदीय टोलीको भ्रमणबाट द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न मद्दत मिल्ने अपेक्षा गरेका थिए। भेटमा युक्रेन र रुसबीच जारी द्वन्द्वबारे कुराकानी भएको थियो।

अमेरिकी संसदीय टोली प्रमुख जिलिब्रान्डले युक्रेन मामिलामा नेपालको अडानको प्रशंशा गरेकी थिइन्।  

उक्त भेटमा अमेरिकी संसदीय टोलीले साझा चासोका मुद्दामा नेपालसँग नजिक रहेर काम गर्न चाहेको दोहोर्याएको थियो। ‘कृषि र खाद्य सुरक्षाका अलावा संयुक्त राष्ट्रसंघमा नेपालको भूमिकाबारे पनि कुरा उठे’ परराष्ट्रले भनेको छ। 

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँगको भेटपछि शनिबार मध्यान्ह अमेरिकी संसदीय टोलीले नेपाल—अमेरिका संसदीय मैत्री समूहमा आवद्ध सांसदहरुसँग होटल मेरियटमा ४५ मिनेट अन्तरक्रिया गरेको थियो।

मैत्री समूहका अध्यक्ष तथा सत्तारुढ कांग्रेसका नेता डा. मिनेन्द्र रिजालका अनुसार अमेरिकी कंग्रेसका सदस्यले युक्रेन मामिलाबारे अमेरिकाको धारणा अभिव्यक्त गरे। रुसले युक्रेनमाथि गरेको अन्यायपूर्ण र नाजायज हमलाको विश्व समुदायले एक स्वरले प्रतिवाद गर्नुपर्ने अमेरिकी सांसद टोलीकी नेतृ जिलिब्रान्डले बताएकी थिइन्। 

‘युक्रेन मामिलाबारे नेपालले अन्र्तराष्ट्रिय मञ्चमा राखेको धारणाको उहाँहरुले प्रशंशा गर्नुभयो। त्यसैगरी अहिले त्यहाँ देखिएको मानवीय संकटबारे आफ्नो धारणा पनि ब्यक्त गर्नुभयो’ डा. रिजालले अन्तरक्रियापछि पत्रकारहरुसँग भने। 

अन्तरक्रियामा अमेरिकी सांसदहरुले नेपालमा रहेका तिब्बती शरणार्थीको अवस्थाबारे चासो राखेका थिए। नेता रिजालका अनुशार तिब्बती शरणार्थीलाई नेपालले लामो समयदेखि आश्रय दिँदै आएकोमा उनीहरुले सन्तोष प्रकट गरेका थिए।

‘भविष्यमा पनि त्यसखालको भूमिका नेपालले निर्वाह गरिरहोस् भन्ने कुरा राख्नुभयो,’ रिजालले भने। डा. रिजालले महाशक्ति अमेरिकाको नेपालप्रति अभिरुचि बढ्नु खुशीको कुरा रहेको बताए। 

डा. रिजालले अमेरिकी सांसदरुसँगको अन्तरक्रिया छोटो भए पनि असाध्यै सुखद र मित्रवत भएको बताए।

‘उहाँहरुले अमेरिकाले नेपालको उन्नतीका लागि पुर्याउँदै आएको सहयोगका लागि सन्तुष्टि ब्यक्त गर्नुभयो। अब चाँडै नेपाल र अमेरिकी सहयोग नियोग युएसएआइडीबीच ६५९ मिलियन अमेरिकी डलरको सहायता आउँदो पाँच वर्षका लागि शिक्षा, स्वास्थ्य, लोकतान्त्रिक संस्थाको सबलीकरण, पूर्वाधार विकास लगायतका क्षेत्रमा खर्च गर्ने सम्झौतामा सही हुन लागेकोमा खुशी ब्यक्त गर्नुभयो,’ रिजालले भने। 

अमेरिकी सांसदले नेपालको संसदबाट मिलिनियम च्यालेन्ज कर्पोरेशन नेपाल कम्प्याक्ट अन्र्तगत अमेरिकाले दिने ५०० मिलियन अमेरिकी डलरको अनुदान सहयोग अनुमोदन गरेकोमा खुशी ब्यक्त गरेका थिए। 

अन्तरक्रिया नेपाली सांसदहरुले एमसीसी सम्झौता कार्यान्वयन हुँदा नेपालको दक्षिणी छिमेकतर्फ बिद्युत् प्रशारण लाइन निर्माण सहज भएको बताउँदै अन्य देशसँग पनि त्यसखालको सहयोगको अपेक्षा गरेको बताएका थिए। 

त्यसैगरी जलवायु परिवर्तनले ल्याएका चुनौति सामना गर्न अमेरिकाले नेपाललाई सघाउने अमेरिकी सांसदले बताएका थिए। नेपालमा जुनसुकै दलको नेतृत्वमा सरकार भए पनि अमेरिकी सहयोग जारी रहने प्रतिबद्धता अमेरिकी सांसदले ब्यक्त गरेको नेता रिजालले बताए। 

अर्को प्रशंगमा अमेरिकी सांसदले नेपालमा विपद् व्यवस्थापनका लागि अमेरिकी सेना र अमेरिकी रक्षा मन्त्रालयले पुर्याएको सहयोगका सन्तोष ब्यक्त गरेका थिए। त्यसैगरी नेपालले शान्ति सेनामा गर्दै आएको योगदानका लागि अमेरिकी सांसदले मुक्तकण्ठले प्रशंशा गरेका थिए। 

‘नेपालले शान्ति सेनामा अझै योगदान बढाउन सकोस् भन्ने चाहना पनि  उहाँहरुले ब्यक्त गर्नुभयो। नेपालले आउने दिनमा परराष्ट्र नीति सञ्चालन यसरी गर्न सकोस् ता कि संयुक्त राष्ट्रसंघको शान्ति सेनामा नेपालको योगदान बढाउन अमेरिकाले सहयोग गर्न सकोस्’, डा. रिजालले सञ्चारकर्मीहरूसँग भने।

अमेरिकी संसदीय टोलीले प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बेग्लै भेटेको छ। उक्त भेटमा सहभागी एमाले विदेश विभागका प्रमुख राजन भट्टराईका अनुसार अमेरिकी टोलीका सदस्यले नेपालको स्वतन्त्रता र सार्वभौमिकतालाई समर्थन गर्ने बताएका थिए। 

अमेरिकी संसदीय टोलीले नेपालले एमसीसी अनुदान सम्झौता अनुमोदन गरेकोमा धन्यवाद दिएको भट्टराईले बताए। ‘अमेरिकी सांसदहरुसँग अत्यन्त राम्रो कुराकानी भयो। दुई मुलुकको सम्बन्ध विस्तारका विषयमा कुरा भयो’ उनले भने। 

भेटमा अध्यक्ष ओलीले नेपाल अमेरिका सम्बन्ध राम्रो रहेको बताउँदै अमेरिकाको जारी सहयोगका लागि धन्यवाद दिएका थिए। ‘अमेरिकी एमसीसी स्वीकार गरेकोमा र अब अमेरिकाले दिन लागेको ६५९ मिलियन डलरको अनुदानप्रति नेपाललाई धन्यवाद दिए। 

अमेरिकी संसदीय टोली नेपाल भ्रमण सकेर आइतबार जर्मनीका लागि प्रस्थान गर्नेछ। नयाँ दिल्ली हुँदै नेपाल आएको अमेरिकाको माथिल्लो सदन सिनेटकी सदस्य क्रिस्टन जिलिब्रान्ड (न्यूयोर्क) को नेतृत्वको टोलीले शनिबार ललितपुरस्थित इसिमोड कार्यालय पनि भ्रमण गर्यो। 

अमेरिकी संसदीय टोलीमा सिनेटरहरू शेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यू जर्सी), मार्क केली (एरिजोना) र तल्लो सदन प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७ औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) यहाँ आएका हुन्। उनीहरु सबै अमेरिकाको सत्तारुढ डेमोक्रयाटिक पार्टीका सांसद हुन्। 

सन् २०१५ यता अमेरिकी सांसद दुईदेखि तीन बर्षको अन्तरालमा नेपाल आइरहेको देखिन्छ। दुई बर्ष दुई महिनापछि अहिले अमेरिकी सांसदको नेपाल भ्रमण भएको हो। यसअघि सन् २०२० फेब्रुअरीमा अमेरिकी दुई दलीय (डेमोक्रयाटिक र रिपब्लिकन पार्टी) का सांसद सम्मिलित संसदीय टोली काठमाडौं आएको थियो।

अमेरिकी संसदको फरेन अफेयर्स काउन्टीअन्तर्गत एसिया, प्रशान्त तथा अप्रसार उपसमितिका संयोजक अमी बेराले उक्त संसदीय टोलीको नेतृत्व गरेका थिए।

टोलीले अमेरिकाको नेपाल नीति र सहयोगबारे छलफल गरेको थियो। त्यसअघि सन् २०१७ मा अमेरिकी डेमोक्रयाटिक पार्टीकी सांसद न्यान्सी पेलोसिकोको नेतृत्वमा आठ सदस्यीय दुई दलीय टोली नेपाल आएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .