ad ad

राजनीति


भिडिओ रिपोर्ट: बुटवल उपमहानगरका सुकुम्बासी, जसको हातमा छ चुनावी जितहारको चाबी

भिडिओ रिपोर्ट: बुटवल उपमहानगरका सुकुम्बासी, जसको हातमा छ चुनावी जितहारको चाबी

बुटवलमा एमालेका प्रभावशाली नेता भोजप्रसाद श्रेष्ठको सुकुम्बासी मुद्दा ब्रिफिङ चाखलाग्दो छ (तस्बिरः विशाल कार्की)


जेवी पुन मगर
बैशाख ११, २०७९ आइतबार ११:९, काठमाडौँ

यदि शक्ति नापजोखको हिसाबले अंक दिने हो भने स्थानीय निर्वाचनको हार जितमा निर्णायक भूमिका निभाउने बुटवल उपमहानगरपालिकाका ‘सुकुम्बासी’ लाई देशभरका मतदातामध्ये सबैभन्दा शक्तिशाली मान्नुपर्ने हुन्छ। बुटवलका सुकुम्बासी मतदाता यति शक्तिशाली छन्, जसले यहाँका नेताहरूलाई सत्तामा पुर्याउँछन् र सत्ताबाट ओराल्छन् पनि। 

धेरैले नेकपा एमालेका प्रभावशाली नेता बुटवल निवासी विष्णु पौडेललाई सुकुम्बासीको रुपमा चिनाए पनि यहाँका सुकुम्बासीको शक्तिलाई भने कमैले मात्र बुझेका छन्। बुटवलको हरेक राजनीतिक परिवर्तनमा निर्णायक भूमिका खेल्ने यहाँका सुकुम्बासीको नाडी यदि कसैले छामेको छ भने त्यो एमालेले नै राम्ररी छामेको छ। 

त्यसैले विष्णु पौडेललाई नकारात्मक मानकको रुपमा ‘सुकुम्बासी’ चित्रण गर्दा पनि उनले त्यसलाई मौन स्वीकार्यता दिने गरेका छन्। त्यसको पछाडि यहि अंक गणितले काम गरेको छ। सुकुम्बासी नेताको रुपमा उदाएका पौडेल आज कुन उचाइमा पुगेका छन्, सबैले देखेकै छन्।

पञ्चायतकालदेखि नै बुटवल क्षेत्र सुकुम्बासी राजनीतिको उर्वर थलोको रुपमा परिचित छ। पञ्चायतकालीन प्रभावशाली नेता भैरहवाका दिपक बोहराले बुटवलमा बसालेको बस्तीको नाम नै उनकै नाममा छ– दिपनगर। बुटवलको व्यवस्थित बस्ती दिपनगर अहिले चल्तापूर्जा शहरको रुपमा विकास भैसकेको छ। यो बस्ती बोहोराले आफ्नो राजनीति बलियो बनाउन बसालेका थिए। 

पञ्चायतबाट विरासतमा प्राप्त सुकुम्बासी राजनीति वर्गीय नारा उराल्ने कार्डका रुपमा एमालेले राम्ररी बुझ्यो र त्यसलाई चुनावी अस्त्रको रुपमा उपयोग पनि गर्न थाल्यो। स्याङ्जाबाट झरेका राजनीतिक हिसाबकिताब मिलाउन सिपालु पौडेल आफै सुकुम्बासीको हुलमा मिसिए र सुकुम्बासी भीडलाई मतमा परिणत गर्न अहोरात्र खटिरहे। यो कुरा कांग्रेस इतरका दलले धेरैपछि मात्र बुझे, जब बुझे तिनले पनि एमालेकै सिको गरे।

हुँदाहुँदा कतिसम्म हुन थाल्ल्यो भने एमाले सरकारको विरोधमा कांग्रेसले तिनैलाई नाराबाजी लगाउने काममा प्रयोग गर्न थाल्यो भने कांग्रेसराज विरुद्ध एमालेको झण्डा बोकेर तिनै सुकुम्बासीलाई सडकमा निकालेर राजनीतिकरण गर्न थालियो।

यस्तो राजनीतिले बेलाबखत दुःखद परिणाम पनि निम्त्याउने गरेको छ। २४ असोज २०७८ मा ४ जनाको ज्यान जानेगरी बुटवलको मोतिपुरमा भएको ‘सुकुम्बासी काण्ड’ का पछाडि यस्तै राजनीतिले काम गरेको विश्वास गरिन्छ।

प्रदेश सरकारले औद्योगिक क्षेत्रका लागि छुट्याएको जग्गामा रातारात टहरा ठड्याएपछि भएको बल प्रयोगमा चार जनाको ज्यान गएको थियो। एमालेले विपक्षी दलले आफ्नो सरकारलाई असफल बनाउन कृत्रिम सुकुम्बासी खडा गरि बखेडा झिकेको बताउँदै आइरहेको छ।   

खाली जग्गा देख्नासाथ पहाड पखेराबाट मान्छेहरु ल्याई झुप्रो बनाएर राख्ने र तिनलाई देखाई राजनीति गर्ने श्रृंखलाले बुटवल क्षेत्रमा सुकुम्बासीको हैसियतलाई नसोचेको उचाइमा पुर्याइदियो। यहाँको राजनीतिक हार जितमा समेत तिनै निर्णायक हुँदै गए। तिनलाई उपेक्षा गरे चुनाव नजितिने अवस्थामा पुगेका दलका नेताहरु सुकुम्बासी मुद्दालाई प्राथमिकताको सिरानमा राख्न बाध्य भए। 

सुकुम्बासी राजनीति हिजो पंचायतकालमै जसरी गरिन्थ्यो अहिले पनि त्यसरी नै गरिन्छ। यी कालखण्डमा विभिन्न आयोग बने। समाधान गर्ने भन्दै लालपुर्जा बाँडियो। तर जति लालपुर्जा बाँडे पनि सुकुम्बासी कहिल्यै घटेनन्।  यस्तो लाग्छ, राजनीतिक स्वार्थका कारण नेताहरु जानाजान यो समस्याको दिगो निराकरण चाहँदैनन्। बुटवल उपमहानगरपालिकाले राखेको अद्यावधिक तथ्यांकले पनि त्यहि देखाउँछ।

अहिले बुटवल उपमहानगरपालिकाको १९ वटा वडामा १६,७२३ घरधुरी सुकुम्बासी बसोबास गर्छन्। सबैभन्दा बढी सुकुम्बासी वडा नम्बर ११ (६,४५२ घरधुरी) मा छन् भने सबैभन्दा कम वडा नं १० (३५ घरधुरी) मा बसोबास गर्छन्। यदि एउटा धुरीमा औसत ४ जना परिवार बसोबास गर्छन् भनेर हिसाब निकाल्ने हो भने बुटवल नगरभित्र ६६,८९२ जना सुकुम्बासी बसिरहेको मान्नुपर्ने हुन्छ।

गएको स्थानीय निर्वाचनमा ६६,६६३ मतदाता रहेको बुटवलमा यसपालि बढेर ९०,०६२ पुगेको छ। यत्रो संख्यामा रहेका सुकुम्बासी यसपालि स्थानीय निर्वाचनमा पनि निर्णायक शक्तिको रुपमा देखिन्छन्। त्यसैले यति बलवान बुटवलका सुकुम्बासीलाई रैथाने स्थानीयहरुले हुकुमवासीको रुपमा पनि चित्रण गर्ने गरेका छन्। 

यहाँको सुकुम्बासी  ‘डाइमेन्सन’ बुझेका कतिपयले बुटवलका सुकुम्बासीलाई केन्द्रमा राखेर तत्कालिन एमाले सरकारले सुरु गरेको सुकुम्बासी समस्या समाधान आयोगकै निरन्तरताको रुपमा पछिल्ला आयोगहरूलाई पनि लिने गरेका छन्। 

राज्यकै नीतिमा प्रभाव पार्ने के हो बुटवलको सुकुम्बासीका कथा? 

नेपालखबरको ‘इलेक्सनवाच टिम’ ले केही दिनअघि २०५१ सालमा एमालेले बनाएको सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष, पूर्व मेयर तथा पूर्व मन्त्री र प्रदेशसभाका सदस्य भोजप्रसाद श्रेष्ठलाई उनकै निर्वाचन क्षेत्रमा पर्ने सुकुम्बासी बस्तीमा डुलाउँदै प्रश्न गरेको थियो। 

भिडिओ हेर्नुहोस्, यस भेगका एमालेका प्रभावशाली नेता भोजप्रसाद श्रेष्ठले दिएको जवाफ:

(सुदिप भण्डारीको सहयोगमा। भिडिओ : विशाल कार्की) 

थप तस्बिर : 

डेटलाइन बुटवल– थप स्टोरीः 
१. पाल्पाको उत्खनन त्रासदी भिडिओ: पालिका अध्यक्ष नै भन्छन्– खनिज नबेचे कसरी आउँछ समृद्धि?

२. गृहमन्त्री खाँणः निर्वाचनको मुखैमा काठमाडौं–भैरहवा ओहोरदोहोरको अन्तर्य

३. गौतमबुद्ध विमानस्थलः जजिराको पहिलो उडानसँगै खुल्दैछ व्यवसायीको ‘लाइफलाइन’ (भिडिओ)

४. प्रचण्ड–देउवा हिमचिममा ‘ब्रेक’ लगाउन गठबन्धनमा गडबडको संकेत

५. बुटवलमा यसकारण एमालेका शिवराज सुवेदीले पाएनन् टिकट, बाबुराम भट्टराईले हात पारे

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .