ad ad

राजनीति


कांग्रेसले सिर्जनाबाहेक अरुलाई उठाए मेरो रिङमै आउँदैनन् : केशव स्थापित

गठबन्धनले काठमाडौंमा ६० हजार भोट कटाउन नसक्ने दाबी
कांग्रेसले सिर्जनाबाहेक अरुलाई उठाए मेरो रिङमै आउँदैनन् : केशव स्थापित

फाइल तस्बिर


यज्ञराज जोशी
बैशाख ११, २०७९ आइतबार १५:१, काठमाडौँ

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार केशव स्थापितले गठबन्धनका तर्फबाट कांग्रेसले सिर्जना सिंहबाहेक अरुलाई उठाए आफ्नो रिङमा नआउने बताएका छन्। 

काठमाडौंमा गठबन्धनको भोट ६० हजार नकट्ने र आफ्नो १ लाख २० हजार आउने स्थापितको दाबी छ।

एमालेले शनिबार बसेको सचिवालय बैठकबाट काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवारमा स्थापितलाई उठाउने निर्णय गरेको हो। 

आइतबार मात्रै हेटौडामा पुगेर प्रदेश सांसदबाट राजीनामा दिई काठमाडौं फर्किएका स्थापितले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे। 

‘नेपाली कांग्रेसले कसलाई अघि सार्छ भन्नेमा भर पर्छ, सिर्जना सिंहलाई सार्यो भने १ लाख २० हजारले जितिन्छ,’ स्थापितले भने, ‘सिर्जनाबाहेक अरु आए भने रिङमै आउन सक्दैनन्। ‘सिर्जना सिंह पनि प्रतिस्पर्धी त होइनन्, तर सम्मानजनक भोट पाउने उम्मेदवार हुन्।’ 

अहिले गठबन्धन गरेका दलहरूको भोट गन्दा ६० हजार पनि ननाघ्ने भन्दै एमाले उम्मेदवार स्थापितले ०५४ सालमा मेयर जित्दा ८४ हजार भोट ल्याएको स्मरण गरे । अहिले पनि आफ्नो जित सुनिश्चित भएको उनले बताए। 

‘गत निर्वाचनमा नेपाली कांग्रेसले ४५ हजार र माओवादीले ७  हजार भोट ल्याएका थिए, त्यसमा एकीकृत समाजवादी थपिँदा ६० हजार भन्दामाथि भोट कटाउन सक्दैनन्,’ स्थापितले भने,  ‘त्योबेला(२०५४) मैले ८४ हजार ६ सय भोट ल्याएको थिएँ। त्यसबेला भन्दा अहिले जनसंख्या बढेको छ। मैले काम पनि गरेको कारणले भोट संख्या बढ्छ। भनेपछि जित चाँहि सुनिश्चित भयो।’
 
काठमाडौंमा रहेका ३ लाख मतदातामध्ये २ लाख २०–३० हजार मत खस्ने अनुमान गरिएको उनले सुनाए। 

सोमबार उम्मेदवारी दर्ता गर्ने तयारी गरेका स्थापितले आफूले विगतमा सरकारले क्षमता प्रदर्शन गर्न नसकेका बेला काम गरेर देखाइदिएकाले धेरैले अझै माया गर्ने बताए। 

‘त्यसबेला सरकारले काम गर्न नसकिरहेका बेला मेरो प्रदर्शन देखिएको थियो। त्यसबेला महानगरपालिकामा मैले गरेको काम अहिले पनि धेरैले याद गर्छन,’ उनले भने, ‘माओवादीभित्र मैले हुर्काएको एउटा पुस्ता छ। केही नेपाली कांग्रेस, राप्रपाका साथीहरुको सहयोग छ। एकीकृत समाजवादीको अहिलेको कमिटीका अधिकांशले मेरा लागि भोट माग्छन्। त्यसैले हाम्रो जित सुनिश्चित छ।’ 

मेयर पदमा उम्मेदवारी दर्ता गरेसँगै पार्टीले सार्वजनिक गरेको घोषणा पत्रमा लेखिएका सम्पूर्ण बुँदाहरु पालना गर्न आफ्नो जोड हुने स्थापितले बताए।

त्यसबाहेक आउने नयाँ आइडियाहरुलाई आफू लागु गर्ने उनको भनाइ छ। एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट स्थापित एमालेका केन्द्रीय सदस्यसमेत हुन्। 

ओली ०४७ सालमा एमालेको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष रहेका बेला स्थापित महासचिव थिए। ओलीपछि स्थापित नै युवा संघको दोस्रो अध्यक्ष बनेका थिए।

युवा संघको अध्यक्ष भएकै बेला ०५१ सालमा उनी राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव बने। स्थापितले २०५४ सालमा काठमाडौंको मेयरमा टिकट पाए र निर्वाचित भए। 

त्यसबेला स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ’ भन्ने नारा ल्याएका थिए। उनी मेयर भएकै बेला पशुपति क्षेत्र, माइतीघर, तीनकुने जस्ता ठाउँका अव्यवस्थित घर–टहरा भत्काइयो र ती ठाउँलाई सर्वसाधारणका लागि खुला गरियो।

यस्तै उनले कालिमाटी–कुलेश्वर सडकखण्ड विस्तारमा पनि अग्रसरता देखाए। मेयरबाट राजनीतिक छवि स्थापित गरेका स्थापितले त्यसयता पटक–पटक राजनीतिक धार परिवर्तन गरे। त्यही क्रममा कुनै बेला राजावादी कित्तामा पनि पुगे।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले ०६० सालमा स्थापितलाई काठमाडौं महानगरपालिकाको मेयरमा मनोनित गरेका थिए। त्यसबेला सूर्यबहादुर थापा प्रधानमन्त्री थिए। 

मेयरबाट हटेलगत्तै उनले प्रजा परिषद पार्टीको पुनर्गठन गरे। त्यसबाट पनि खासै केही पार नलागेपछि उनी डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख बने। तर अपेक्षित काम नगरेको भन्दै बर्खास्त गरियो।

२०७० सालको चुनावमा उनले काठमाडौं ६ बाट टिकटको अपेक्षा राखेका थिए। तर, योगेश भट्टराई उठेपछि उनी संघीय समाजवादी फोरमबाट उम्मेदवार बने। र, भट्टराईलाई चुनाव हराउन भूमिका खेले।

अनेक राजनीति फेरबदलबीच ओलीले स्थापितलाई एमालेमा फर्काउँदै २०७४ मै काठमाडौंको मेयरमा उठाउन चाहेका थिए। तर, काठमाडौं एमालेका तत्कालीन अध्यक्षलगायत नेताहरुले विरोध गरेपछि ओली पछि हटे र स्थापितले विद्यासुन्दर शाक्यलाई काँधमा बोके।

मेयर नबने पनि स्थापित काठमाडौं प्रदेश ३ मा टिकट लिएर चुनाव लडे, जिते। प्रदेश सांसदमा निर्वाचित भएपछि उनी बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्री बने। तर, मुख्यमन्त्री डोरमणि पौडेलसँग भनाभन र विवाद बढेपछि बर्खास्तीमा परे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .