ad ad

राजनीति


बुवाको विरासत धान्न वीरगन्जकाे मेयरमा उठ्दै गिरिश गिरी

भन्छन् : वीरगन्जलाई जीवन सहर बनाउने सपना छ
बुवाको विरासत धान्न  वीरगन्जकाे मेयरमा उठ्दै गिरिश गिरी

फाइल तस्बिर


यज्ञराज जोशी
बैशाख ११, २०७९ आइतबार १५:५८, काठमाडौँ

हजुरबुबा (विष्णु गिरी) २०२४ सालतिरै वीरगञ्जमा वडाअध्यक्ष भएर काम गर्थे। बुबा गोपाल गिरी वडाअध्यक्ष हुँदै २०६० सालमा वीरगञ्जको मेयर बनेका थिए। त्यहीबेला माओवादीले ५ लाख चन्दा मागेको थियो। तर दिन नमानेपछि गोपालको गोली हानेर हत्या गरियो। 

वीरगञ्जको स्थानीय राजनीतिमा गिरी परिवारको यो विरासतलाई अघि बढाउने जिम्मेवारी अहिले छोरा गिरीशको काँधमा आइपरेको छ। 

लेखक तथा पत्रकार गिरीशलाई आगामी स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयरको टिकट दिएसँगै उनमा यो जिम्मेवारी थपिएको हो। 

त्यसबेला बुवा गोपालले तीन महिनामात्रै वीरगञ्जको मेयरका रुपमा काम गर्न पाए। उम्मेदवार बनेपछि  गिरीशको लक्ष्य बुबाले वीरगन्जलाई जीवन्त शहर बनाउन देखेका अधुरा सपनाहरु पूरा गर्नु हुनेछ। 

‘बुबाले शहरका राम्रो गर्न खोज्दाखोज्दै काम गर्न नपाउनुभएको स्थितिमा मैले मौका पाए उहाँको सपना पूरा गर्ने अठोट छ,’ गिरीशले नेपालखबरसँग भने, ‘मौका पाए म रेल कुदाउँछु, जेट उडाउँछु भन्दिन। इमान्दारपूर्वक काम गर्छु। नगरलाई शिरमा राख्छु र नगरवासीको करको एकएक पैसाको हिसाब राखेर काम गर्छु।’ 

२०४६ सालपछि वीरगञ्जकै ठाकुरराम क्याम्पसमा अखिलको राजनीति गर्नु, २०४६ र २०६२, ६३ सालको आन्दोलनमा सडकमा उत्रिनुबाहेक गिरीशका लागि राजनीतिसँग नजिकको साइनो छैन। 

साढे ३ दशक पत्रकारितामा आवद्ध भएका उनलाई पेशागत धर्मले कुनै पार्टीनिकट भएर काम गर्न वा लाग्न दिँदैनथ्यो। गिरीशले कान्तिपुर र नागरिक हुँदै सेतोपाटी र देशसञ्चारमा काम गरे। त्यसबाहेक उनी किताब लेखन र डकुमेन्ट्री निर्माणमा पनि संग्लन भए। 

पछिल्लो समय उनले शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनीमा आधारिक पुस्तक सत्यमोहन प्रकाशनमा ल्याएका छन। त्यसैको प्रवद्र्धनमा व्यस्त उनलाई शुक्रबारमात्रै वीरगञ्जको मेयरमा उठ्ने प्रस्ताव आएको हो। 

‘फाट्टफुट्ट स्थानीय नेता कार्यकर्ताले तपाईँ यस क्षेत्रमा फर्कनुपर्छ भन्नुहुन्थ्यो। तर पार्टीले मलाई शुक्रबारमात्रै मेरो रुचि सोधेको हो,’ गिरीशले भने, ‘परिवारसँग सल्लाह गरेपछि जति मैले पत्रकार, लेखकका रुपमा धेरै मुलुक र शहर देख्ने मौका पाएँ। मेरो सहरबासीलाई पनि त्यस्तै सेवा सुविधा उपलब्ध गराउने प्रयत्न गर्ने अठोटले होमिएँ।’

गिरीश वीरगन्जलाई सिंगापुर बनाउँछु भनेर सपना नदेखाउने बताउँछन्। नगरबासीका आवश्यक सेवा सुविधा, शहर चिटिक्क सफा राख्ने, राम्रो वातावरण बनाउने, लयमा बगाइरहने, आनन्दित पारिरहने, सजाउने, श्रृंगार्ने र सुगन्धमय बनाउने काममा केन्द्रित हुने उनका योजना छन्। 

‘मौका पाए केही न केही फरक उदाहरण पक्कै पेश गरेर छोड्छु। त्यो मेरो अठोट, प्रतिबद्धता हो,’ गिरीशले भने,  ‘म जस्तो फरक आवाज बोल्दै गरेको मान्छे त्यो ठाउँमा पुगेँ भने फरक देखाउनैपर्छ। मजस्तो पछि आउने मान्छेलाई गाह्रो हुन्छ। त्यसका लागि अठोट बोकेरै म मैदानमा आएको हो।’ 

वीरगञ्जमा गिरीशका प्रतिस्पर्धीका रुपमा एकातिर सत्ता गठबन्धनका उम्मेदवार छन् भने अर्कातिर केही समयअघि एमाले प्रवेश गरेका मेयर विजय सरावगी छन। 
तर, उनी अरु को कस्ता छन् भन्दा पनि आफू के गर्छु भन्ने एजेन्डासहित जनतामाझ प्रस्तुत हुने बताउँछन्। 

‘को उठ्यो र कसले के गर्नुभयो भन्दा म आफूले के गर्ने हो भनेर स्थानीयमाझ लिएर जान्छु। इमानसाथ आफूलाई प्रस्तुत गर्छु,’ उनले भने,  ‘जनताले पत्याए भने मैले काम गर्ने अवसर पाए भने पूर्ण पारदर्शी भएर दाग लाग्न नदिने गरि काम गर्छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .