ad ad

राजनीति


‘ताप्के नतात्दा’ रौनकहीन मनोनयन!

‘ताप्के नतात्दा’ रौनकहीन मनोनयन!

वाशुदेव मिश्र
बैशाख ११, २०७९ आइतबार २१:३८, पाेखरा

निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारी मनोनयनको लागि वैशाख ११ र १२ गतेको समय दियो।

अक्सर भाग खोज्नेहरु पहिल्लै दगुर्छन् तर उम्मेदवारी दर्तामा त्यस्तो देखिएन। आइतबार पोखरासहित देशभरका निर्वाचन कार्यालयहरूमा खासै रौनक देखिएन।

केही स्वतन्त्र उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराए पनि मुख्य राजनीतिक दलका उम्मेदवारहरू निर्वाचन कार्यालय पुगेनन्।

एक त, ती दलहरुले उम्मेदवारको टुंगो नै लगाएका छैनन्। अर्कोतर्फ, उनीहरुले उम्मेदवारी दर्तामा पनि दोस्रो दिन नै खोजे।

‘आज ताप्के तातेन, बिँडमात्रै तातेको देखियो’,निर्वाचन कार्यालय कास्कीमा भेटिएका एक कर्मचारीले भने,  ‘ठूला राजनीतिक दलहरुले मनोनयन दर्ता नगर्दासम्म रौनक नबढ्दो रहेछ।’ 

आइतबार पोखराको प्रमुखका लागि ११ जनाले उम्मेदवारी दर्ता गर्दा पनि त्यसले बजार तताएन। स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेमा अटेरी अभियानका गनेस पौडेल, कांग्रेसका क्षेत्रीय अधिवेशन प्रतिनिधि विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला र किसानसिंह गुरुङ रहेका छन्। 

यता, मौलिक जरोकिलो पार्टीबाट संजय तिमिल्सिना, सचेत नेपाली पार्टीबाट भोजराज खनाल, नेपाली जनता दलका मुक्तिनाथ सुवेदी, मंगोल नेसनल अर्गनाइजेसका प्रेमप्रसाद गुरुङले पनि मेयरमा उम्मेदवारी दिएका छन्। 

सचेत नेपाली पार्टीबाट सोनी परियार, मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट रामबहादुर तामाङले उपमेयरमा उम्मेदवारी दिएका छन् भने विभिन्न वडाको लागि १७ जनाले अध्यक्ष र ६ जनाले सदस्यमा मनोनयन दर्ता गराएका छन्। गाउँपालिकाहरुको अवस्था पनि उस्तै छ। 

ठूला दलहरुले मनोनयन दर्ता गराउँदा शक्ति प्रदर्शन हुने र प्रतिष्पर्धा पनि त्यहीँबाट सुरु हुने भएकाले पनि आइतबार चुनावी रङ फिका बनेको निर्वाचनमा खटिएका ती कर्मचारीले अनुमान लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .