स्थानीय तह निर्वाचन–०७९ का लागि आज उम्मेदवारी दर्ताको दोस्रो तथा अन्तिम दिन। निर्वाचन आयोगले आइतबार र सोमबार दलहरूलाई उम्मेदवारी दर्ता मिति तोकेको थियो।
केही स्वतन्त्र र सानाबाहेक आइतबार मुख्य राजनीतिक दलका कसैले उम्मेदवारी दर्ता गराएनन्।
सत्तारुढ गठबन्धनभित्रको ‘किचलो’ लाई एमालेले ‘पर्ख र हेर’ को नीतिमा राखेको थियो भने भागबन्डाको ‘सकस’मा रुमल्लिरहेको थियो, सत्ता गठबन्धन।
सोमबार बिहानैबाट शीर्षदेखि तल्ला कमिटीसम्मका नेता कार्यकर्ताहरु सक्रिय भए। आयोगले निर्धारण गरेको समयसीमा ध्यानमा राख्दै सोमबार साँझसम्म मनोनयन दर्ता गरिसक्नुपर्ने दबाब सबैलाई थियो।
देशभरका मनोनयन दर्ता हुँदैगर्दा केही रोचक घटना समेत भए। कहीँ पाइसकेको टिकट केन्द्रबाट बलजफ्ति खोसियो। कहीँ एकै दलका कार्यकर्ताबीच झडप हुँदा प्रशासनलाई स्थिति नियन्त्रण गर्न हम्मे भयो।
यीमध्ये सबैभन्दा बढी चर्चाका दुई पात्र हुन– खोटाङका धर्मराज पोखरेल र गोरखाका विश्वदेव श्रेष्ठ। निर्वाचनमा भाग लिने दलका उम्मेदवारका लागि निर्वाचनअघिको सबैभन्दा ठूलो ‘उत्सव’ हो मनोनयन।
अन्य दलका शीर्ष उम्मेदवारहरूले उत्सव जसैगरी आजको दिनलाई मनाए। काठमाडौं, भरतपुर, पोखरा, विराटनगर लगायतका शहरमा मेयर र उपमेयरका उम्मेदवारले ¥याली र बाजागाजासहित नै उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोग पुगेका थिए।
तर, दुर्भाग्य यी दुई उम्मेदवारले सोच्दै नसोचेको असहज परिस्थिति सामना गरे। जुन विषय दिनभर नेपालका ‘मेनस्ट्रिम’ मिडिया र सामाजिक सञ्जालमा छाइरह्यो
कार्यकर्ताले कुटे
सत्ता गठबन्धनको किचलोबीच बेलैमा उम्मेदवार चयन नहुँदा सोमबार जिल्ला पुगेर मनोनयन गराउनुपर्ने केही उम्मेदवारले हेलिकोप्टर पनि चढे।
खोटाङका धर्मराज पोखरेल पार्टीले दिएको टिकट बोकेर उत्साहित हुँदै दिक्तेल पुगेका थिए। काठमाडौंदेखि हेलिकोप्टरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा उम्मेदवारी दिन पुगेका पोखरेलले सोच्नै नसोचेको अवस्था सामना गरे।
प्रदेश १ का कांग्रेस सभापति उद्धव थापाको हस्ताक्षरसहितको टिकट बोकेर पुगेका पोखरेललाई हेलिकोप्टरबाट ल्याण्ड गर्नेबित्तिकै कार्यकर्ताले झम्टिए।
जिल्लामा तीर्थराज भट्टराईको पक्षमा कार्यकर्ता उत्रिएका थिए। त्यहीकारण यसअघि नै उनलाई सर्वसम्मत गराउने प्रयास भएको थियो। तर त्यसो हुन नसकेपछि तीर्थराज र धर्मराजसहित १६ जनाको नाम नगर कार्य समितिले प्रदेशमा पठाएको थियो।
टिकटको विवादपछि यसअघि नै कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी समेत भएको थियो।
पोखरेललाई कांग्रेसी कार्यकर्ताले लखेटेको भिडियो क्लिप केहीबेरमै सामाजिक सञ्जालमा भाइरल बन्यो।
उनले बोकेको ब्यागसमेत कांग्रेसकै कार्यकर्ताले खोसेपछि उनलाई प्रहरीले सुरक्षा दिँदै पार्टी कार्यालय पु¥याएको थियो।
पोखरेल मात्रै होइनन्, यस्तै सोच्दै नसोचेको घटना भोग्नेमध्ये अर्का हुन–गोरखाका विश्वदेव श्रेष्ठ।
पार्टीको माथिल्लो कमिटीले दिएको टिकटसहित पोखराबाट गोरखा पुगेका थिए। त्यहाँ पुग्नुअघि उनको पनि मनमा उस्तै खालका उत्साह र सपना थिए।
तर, परिस्थिति सोचेको जस्तो बनिदिएन।
गोरखा बसपार्कस्थित बैंक रोडमा फोटो खिचिरहेको अवस्थामा उनीमाथि नेपाली कांग्रेसकै असन्तुष्ट समूहले आक्रमण ग¥यो।
कांग्रेसकै नेताबाट मेयर हाँक्ने टिकट बोकेर गोरखा पुगेका उनी कांग्रेसकै कार्यकर्ताले कुटपिटमा परे। हात र अनुहारमा चोट लाग्यो ।
पन्तलाई पछि पारेर मेयरको टिक ल्याएको भन्दै उनीमाथि कांग्रेसकै कार्यकर्ताले आक्रमण गरेका थिए।
विश्वदेव कांग्रेसमा संस्थापनइतर समूहका मानिन्छन्। गोरखा नगरपालिकाका मेयर राजनराज पन्त फेरि मेयरको उम्मेदवार बन्ने दौडमा थिए।
तर अन्तिम समयमा पन्तको टिकट खोसेको आरोपमा विवाद चर्किएको थियो। मेयरको टिकट वितरणमा असन्तुष्टि जनाउँदै कांग्रेस पार्टी कार्यालयमा ताला समेत लगाइयो।
सोमबार दिनभर गोरखा बजार तनावग्रस्त भयो। ताला लगाइएपछि पार्टी कार्यालयसहितका स्थानमा सुरक्षा तैनाथी बढाउनुपरेको थियो।
नेताले टिकट खोसे
अनेक सेटिङ र नेताकहाँ धाएर पार्टीबाट टिकट हात पारेका यी दुई नेताले सोचेका थिएनन्– मुखमा हालिसकेको यो गाँस फर्काउनुपर्छ भनेर।
तर, यी दुवैको टिकटमा केन्द्र अर्थात सभापति शेरबहादुर देउवा हावी भए।
मेयरको उम्मेदवारबारे करिब तीन घन्टा गोरखामा तनाव भएपछि पार्टी केन्द्रले हस्तक्षेप गर्यो
पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आधिकारिक मेयरको उम्मेदवार राजनराज पन्त भएको पत्र पठाए।
सोमबार बिहानसम्म विश्वदेव श्रेष्ठले पाएको टिकट विवाद बढेपछि एकाएक पुनः फर्किएर पन्तकै पोल्टामा फर्कियो।
गोरखा नगरपालिकाको मेयरका लागि पन्त, सचिव किशोरजंग थापा, शोभा अधिकारी, श्रेष्ठलगायतको नाम सिफारिस भएको थियो। गोरखामा कांग्रेसले गठबन्धन नगरी एक्लै चुनावमा जाने निर्णय गरेको थियो।
उता, खोटाङको पनि अवस्था असामान्य बन्दै गएपछि सभापति देउवाले नै पार्टीको टिकट परिवर्तन गराएर पत्र लेखे।
मेयरको आधिकारिक उम्मेदवार तीर्थराज भट्टराई भएको ब्यहोरासहितको सोमबार साँझ सभापति शेरबहादुर देउवाले पत्र पठाउन बाध्य भएका थिए।
यसअघि सोमबार दिउँसो प्रदेशबाट टिकट लिएर पोखरेल हेलिकोप्टरमा दिक्तेल पुगेका थिए।
बाहिर कार्यकर्ताको विरोधकाबीच उनले उम्मेदवारी दर्ता पनि गराइसकेका थिए। तर उनले उम्मेदवारी दर्ता गराइसकेपछि केन्द्रबाट तीर्थराज भट्टराई नै आधिकारीक उम्मेदवार भएको भन्दै पत्र पठायो।
निर्वाचन अधिकृतलाई सम्बोधन गरेर लेखिएको पत्रमा भनिएको थियो, ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख पदमा तीर्थराज भट्टराई नेपाली कांग्रेस पार्टीको आधिकारिक उम्मेदवार भएको प्रमाणित गरिन्छ। यसर्थ त्यहीअनुसार कांग्रेसको उम्मेदवार कायम गरिदिनु हुन अनुरोध गर्दछु।’
केन्द्रले अन्तिम समयमा टिकट दिएका भट्टराईले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराए।
Shares
प्रतिक्रिया