खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा धर्मराज पोख्रेलको नाम हटाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्र पठाएका छन्।
मंगलबार निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाउँदै देउवाले पार्टीको तर्फबाट उम्मेदवारी दिएका पोख्रेलको नाम हटाएर तीर्थराज भट्टराईको मात्रै आधिकारीक उम्मेदवारी कायम गरिदिन भनेका हुन्।
उम्मेदवारको बिचमा आधिकारीक को भन्ने विवाद देखिएको छ। प्रदेशबाट धर्मराज पोखरेलले टिकट लगेर उम्मेदवारी दर्ता गरेका थिए। तर पछि केन्द्रीय सभापति शेरबहादुर देउवाको पत्रसहित तीर्थराज भट्टराईले उम्मेदवारी दिएपछि दुई मध्य को पार्टीको आधिकारीक उम्मेदवार भन्ने विवाद देखिएको हो।
मंगलबार सम्म पनि विवाद नसुल्झिएपछि पार्टी सभापति शेरबहादुर देउवाले फेरि पत्र पठाएका हुन्।
यसअघि सोमबार पनि उनले निर्वाचन अधिकृतलाई पत्र पठाउँदै तीर्थराज भट्टराई नै आधिकारीक उम्मेदवार भएको भन्दै सोही अनुसार दर्ता गरिदिन आग्रह गरेका थिए।
तर त्यसअघि नै पार्टीको तर्फबाट धर्मराज पोखरेलले उम्मेदवारी दर्ता गराएका थिए। उनले उम्मेदवारी दर्ता गर्दा प्रदेशबाट पाएको आधिकारीक टिकट पेश गरेका थिए।
तर पछि केन्द्रबाट अर्को पत्र झिकाएर भट्टराईले पनि कांग्रेसको तर्फबाट उम्मेदवारी दिए।
देउवाले मंगलबार पठाएको पत्रमा भनिएको छ, ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेस पार्टीका तर्फबाट तीर्थराज भट्टराई र धर्मराज पोख्रेल दुई जनाको उम्मेदवारी दर्ता भएको जानकारी प्राप्त हुन आएकोले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३ (५) बमोजिम धर्मराज पोख्रेलको नाम उम्मेदवारी सूचीबाट हटाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेस पार्टीका आधिकारीक उम्मेदवार तीर्थराज भट्टराईको उम्मेदवारी कायम गरिदिनु हुन अनुरोध छ।’
सोमबार टिकट लिएर हेलिकप्टरमा दिक्तेल ओर्लिनासाथ कांग्रेसका भट्टराई समूहले पोख्रेलको झोला खोसेका थिए। उनले प्रदेशबाट पाएको टिकट भने कोटको गोजीमा राखेकाले जोगिएको थियो। त्यसक्रममा उनीमाथि हातपात समेत भएको थियो।
आफ्नै पार्टीका कार्यकर्ताबाट जोगाउन प्रहरीले सुरक्षा घेरामा राखेर पार्टी कार्यालय लगेको थियो। त्यहाँ पनि कार्यकर्ताले घेरेका थिए। पछि उनलाई प्रहरीले नै पहरा दिएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगेर उम्मेदवारी दर्ता गराएका थिए।
निर्वाचन आयोगले मंगलबार उम्मेदवारविरुद्ध उजुरी गर्न समय तोकेको छ। बुधबार र बिहीबार उजुरीमाथि जाँचबुझ गर्ने र १५ गते बेलुका ७ बजेभित्रमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ।
उम्मेदवारले नाम फिर्ता लिन चाहेमा १६ गते ५ बजेसम्ममा पाउने छन्। त्यसपछिका उम्मेदवारको अन्तिम नामावली १६ गते सार्वजनिक गर्नेछ।
Shares
प्रतिक्रिया