ad ad

राजनीति


कर्ण मल्लले देउवालाई भने : पार्टीबाट निकाल्न सफल हुनुभयो, कारबाही स्वीकारेँ, तपाईंलाई बधाई

कर्ण मल्लले देउवालाई भने : पार्टीबाट निकाल्न सफल हुनुभयो, कारबाही स्वीकारेँ, तपाईंलाई बधाई

फाइल फोटो


नेपालखबर
बैशाख १३, २०७९ मंगलबार २२:३७, काठमाडौँ

साधारण सदस्यबाटै निष्काशित गरिएपछि नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराका पूर्वसभापति कर्ण मल्लले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। 

पार्टीको जिल्ला अधिवेशनमा एकपक्षीय रुपमा गरिएको भन्दै लामो समयदेखि आन्दोलनरत उनलाई कांग्रेसले मंगलबार साधारण सदस्यबाटै निकालेको छ।

सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका मल्ल समूहलाई सभापति देउवाले पेलेरै अघि बढेका थिए। यस्तोमा मल्ल समूहले देउवाको गृहजिल्ला समेत रहेको डडेल्धुराका सबै पालिकामा एमालेसँग तालमेल गरेर उम्मेदवारी दिएको छ।

गृहजिल्लामै पार्टी फुटेपछि तनावमा परेका देउवाले मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत मल्ललाई पार्टीबाट निष्काशनको पत्र मंगलबार सार्वजनिक गरेका छन्। 

आफूलाई पार्टीबाटै निकालिएपछि मल्लले भावुक हुँदै देउवालाई नै बधाई दिएका छन्। 

‘विधिवत रुपमा पार्टी सञ्चालन हुनुपर्ने भनेर न्यायका लागि संघर्ष गर्दैगर्दा राजनीतिक जीवन समाप्त पार्ने दुराशयले अनाहकमा कारवाही गरिएको सञ्चारमाध्यमबाट थाहा पाएँ,’ कर्ण मल्लले भने, ‘सम्माननीय प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले  छैटौं पटकको अथक प्रयासपछि मलाई पार्टीबाट निकाल्न सफल हुनुभएको छ। उहाँलाई बधाई दिँदै सहर्ष रुपमा कारवाही स्वीकार गर्दछु।’

उनले देउवाले प्रजातान्त्रिक कांग्रेसका पालामा पनि सदस्यबाट निकालेको स्मरण गर्दै एकीकरणपछि छैटौं पटकको अथक प्रयासमा फेरि निकाल्न सफल भएको उल्लेख गरेका छन्।

आफू सभापति भएका बेला कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनमा सहभागी हुन नपाएको बताउँदै मल्लले प्रजातान्त्रिक दलभित्रको निरंकुशता खेप्न नसक्ने इमान्दार नेता कार्यकर्ताहरु कारवाहीको शिकार हुनुपर्ने अवस्था आउनु दुर्भाग्य भएको जिकिर गरे।

यसअघि स्थानीय तह निर्वाचनको मनोनयन आउँदै गर्दा वैशाख ८ मा पनि मल्लले मल्लले सभापति देउवासँग आफूहरुलाई अभिभावकत्व दिन आग्रह गरेका थिए।

डडेल्धुरास्थित शक्तिपीठ उग्रतारा मन्दिर अगाडिबाट उनले आफूहरुलाई अभिभावकत्व दिन पनि आग्रह गरेका थिए। यसको अर्थ उनले स्थानीय निर्वाचनमा आफूहरुलाई पनि समेटेर लैजान भनेका थिए। 

‘अधिवेशनमा बाहिर राखेका साथीभाइहरुप्रति समभाव, समप्रेम राखिकन सबैले निर्वाचनमा जानका लागि अभिभावकत्व दिनुहुन पवित्र भूमिबाट अनुरोध गर्न चाहन्छु,’ मल्लले भनेका थिए।

तर मल्लसँग क्रुद्ध देउवाले उनको कुरा सुनेनन्। मल्लले उग्रतारा अगाडिबाट प्रार्थना गरेको ५ दिनपछि देउवाले उनलाई एमालेसँग मिलेको आरोपमा पार्टीबाटै निकालिदिएका छन्। 

पाँच पटक प्रधानमन्त्री बन्ने गरी राजनीतिक सफलताको शिखरमा पुग्ने आधारशिला तयार गर्ने स्तम्भका रुपमा रहेका कार्यकर्ताहरूलाई पीडाबाट मुक्ति दिन सभापति देउवाले सबैलाई अभिभावकत्व दिनुपर्ने उनको भनाइ छ।  

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको पाँचौँ र छैटौँ जिल्ला अधिवेशनबाट देउवाले नचाहेरै सभापति बनेका मल्ल डडेल्धुराको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’बाट निर्वाचित प्रदेश सांसद हुन्। 

प्रधानमन्त्री देउवाले मल्ललाई पटक पटक पार्टीबाट निकाल्न खोजेको उनका सहयोगीहरुले पनि गुनासो गरेका छन्। 

१४ औँ राष्ट्रिय महाधिवेशनका क्रममा देउवाले केन्द्रबाटै झण्डै ९ सय क्रियाशील सदस्यता थपघट गरेर तत्कालीन जिल्ला सभापति मल्ललाई कमजोर बनाउन खोजेपछि विद्रोह भएको थियो। 

क्रियाशील सदस्यता विवाद टुंग्याउन माग गर्दै मल्ल नेतृत्वको जिल्ला कार्यसमितिले केन्द्रीय कार्यालयसम्म पुगेर अनसनसहित विरोधका कार्यक्रम गरेको थियो।  

मल्ल नेतृत्वको जिल्ला कार्यसमितिका अधिकांश पदाधिकारीहरु, प्रदेश सभा क्षेत्रीय समितिका पदाधिकारीहरु र स्थानीय तहका पदाधिकारी राजधानीमा आन्दोलन गरिरहेका बेला एकपक्षीय रुपमा सातौं जिल्ला अधिवेशन सम्पन्न गरिएको थियो। 

आसन्न स्थानीय तहको निर्वाचनका क्रममा पनि मल्ल निकटस्थ नेता कार्यकर्तालाई टिकटबाट बञ्चित गरिएको छ। 

त्यसपछि मल्लनिकट नेता कार्यकर्ताहरु नेपाली कांग्रेस (बिपी) गठन गरेर एमालेसँग चुनावी तालमेल गर्दै निर्वाचनमा होमिएका छन्। 

एमाले र नेपाली कांग्रेस (बिपी) ले तालमेल गर्दै जिल्लाका सातै स्थानीय तहमा उम्मेदवारी दर्ता गरेका छन्।

अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिका नेपाली कांग्रेस (बिपी) ले र नेकपा (एमाले) ले परशुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएको छ। 

देउवाले अन्तिमसम्म पनि गृहजिल्लाको पार्टी मिलाउन चासो नदिएपछि आफूहरू नेपाली कांग्रेस (बिपी)बाट स्थानीय तहको निर्वाचनमा होमिएको मल्लनिकट निवर्तमान उपसभापति करुणाकर भट्टले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .