ad ad

राजनीति


एमाले त्याग्दै बनेपाका मेयर बादेले भने– बाँस्कोटालाई भगवान् मान्थेँ, धोका दिए

एमाले त्याग्दै बनेपाका मेयर बादेले भने– बाँस्कोटालाई भगवान् मान्थेँ, धोका दिए

रुपक चौलागाईं
बैशाख १७, २०७९ शनिबार १५:१७, काठमाडौँ

काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बादेले शनिबार पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका छन्।

उनी ०७४ को निर्वाचनमा एमालेबाटै बनेपाको मेयरमा निर्वाचित भएका थिए। 

बनेपा नगरपालिका एमाले केन्द्रीय सदस्य गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रसमेत हो। बाँस्कोटाले आफूलाई मेयरको टिकट दिलाउने वचन दिएर पनि धोका दिएको उनले नेपालखबरलाई बताए। 

साथै, उनले बनेपाको मेयर पदबाट पनि राजीनामा गर्ने बताएका छन्। ‘आज र भोलि सार्वजनिक बिदा छ, म पर्सि कार्यालय खुलेपछि नियमानुसार राजीनामा दिन्छु,’ उनले नेपालखबरसँग भने। 

बाँस्कोटालाई ‘भगवान्’ मान्थेँ, धोका दिए : मेयर बादे
मेयर बादेले पार्टीभित्र सल्लाह र छलफल नगरी जे पायो त्यही गरेको भन्दै गुनासो पोखेका छन्।

‘पार्टीभित्र मनलाग्दी किसिमको काम भयो,’ उनले नेपालखबरसँग भने, ‘धोका दिने काम भयो। त्यसकारण पार्टीबाट राजीनामा दिएँ।’

उनले बाँस्कोटाले आफूलाई मेयरको टिकट दिने वचन पटकपटक दिएर पनि धोका दिएको बताए।

‘उहाँ(गोकुल बाँस्कोटा) ले अहिलेसम्म मलाई मेयरसाप भन्नुभएको थिएन,’ उनले भने, ‘मलाई दाइ नै भन्नुहुन्थ्यो, १४ वर्ष अघिदेखि नै। हाम्रो राम्रो किसिमको सम्बन्ध थियो।’

उनले बाँस्कोटालाई ‘भगवान्’ भन्दा केही कमी नमाने पनि आफूले भने धोका पाएको बताए।

‘उहाँलाई मैले धेरै मान्थेँ, भगवान् भन्दा केही तल मान्थेँ, उहाँले पनि यस्तो किसिममा मलाई हु्न्छ, हुन्छ भनेर इलेभेन्थ आवरसम्म पनि आश्वासन दिनुभयो,’ उनले भने, ‘साँठगाँठ उहाँहरुको के भयो मलाई थाहा छैन। तीन/चार महिना यतादेखि चाहिँ कुरा हुन छाड्यो।’

‘निर्वाचनअघि कुनै दल परिवर्तन गर्दिनँ’
उनले अहिले तत्काल आफू कुनै पार्टी प्रवेश नगर्ने नेपालखबरलाई बताए। बाँस्कोटासँग पुरानो सम्बन्ध रहेका बादेले पार्टी छाडेसँगै काभ्रे एमालेमा तरङ्ग सिर्जना भएको छ।

‘अहिले कुनै दल प्रवेश गर्ने तयारी छैन,’ उनले भने, ‘निर्वाचनसम्म त कुनै पार्टीमा म जाँदै जाँदिनँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .