ad ad

राजनीति


कैलालीमा किन भत्कियो गठबन्धन ? माओवादी इञ्चार्ज भन्छन् – कांग्रेसले पेल्न खोज्यो, एमालेसँग मिलेर जवाफ दियौँ

कैलालीमा किन भत्कियो गठबन्धन ? माओवादी इञ्चार्ज भन्छन् – कांग्रेसले पेल्न खोज्यो, एमालेसँग मिलेर जवाफ दियौँ

यज्ञराज जोशी
जेठ २१, २०७९ शनिबार ८:४०, काठमाडौँ

नेकपा माओवादी केन्द्र अहिलेसम्म पाँचदलीय सत्ता गठबन्धनकै एउटा प्रमुख घटक हो। तर, एमालेसँग गठबन्धन नबनाउने केन्द्रीय नीतिविपरीत कैलालीमा भने माओवादीले नेकपा एमालेसँग गठबन्धन गरेको छ।

कैलाली जिल्ला समन्वय समिति(जिसस)मा भागबन्डा गर्नेक्रममा माओवादी केन्द्रले नेकपा एमालेसँग तालमेल गर्ने नीति लिएको हो।

जेठ ३० गतेका लागि तोकिएको जिसस कैलालीको निर्वाचनमा माओवादीले सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसको साथ छाडेको छ। उसले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेसँग तीनदलीय भागबन्डा गरेको छ।

जिससमा स्थानीय पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्छन्। कुल १३ स्थानीय तह रहेको कैलालीमा जिससको निर्वाचनका लागि २६ मत छ। जितका लागि १४ मत आवश्यक पर्छ।

यो पनि: कैलालीमा भत्कियो गठबन्धन, जिल्ला समन्वय समितिमा एमाले-माओवादी मिल्ने

बिहीबार नागरिक उन्मुक्ति पार्टी, एमाले र माओवादीबीच सहमति भएसँगै उनीहरुको मत १६ पुग्ने भएको छ। नागरिक उन्मुक्ति पार्टीको ७, एमालेको ५ र माओवादीको ४ मत जोड्दा बहुमत पुग्छ।

एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीबीच भएको सहमतिअनुसार जिसस प्रमुखसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टीले पाउने भएको छ। त्यस्तै जिसस उपप्रमुखसहित २ सदस्य एमालेले पाउने भएको छ। माओवादीले ४ सदस्य पाउने भएको छ।

तीन दलको सहमतिपत्रमा हस्ताक्षर गर्नेमध्येका एक हुन्– माओवादी केन्द्रका जिल्ला इञ्चार्ज हरि ज्ञवाली। हामीले ज्ञवालीलाई सोध्यौं– सत्ता गठबन्धनलाई छाडेर एमालेसँग किन मिल्न जानुभएको ?

कांग्रेसले आफूहरुलाई बेवास्ता गरेका कारण एमाले लगायतका अन्य दलसँग मिल्नु परेको ज्ञवालीले बताए।

प्रस्तुत छ, नेपालखबरले धनगढीमा रहेका माओवादीका कैलाली जिल्ला इञ्चार्ज हरि ज्ञवालीसँग गरेको संक्षिप्त कुराकानी–

कैलालीमा गठबन्धन बाहिर गएर एमालेसँग तालमेल गर्नुपर्ने अवस्था किन सिर्जना भयो?

गठबन्धन दलका पार्टीहरुले अहिलेसम्म सम्पर्क, सम्बन्ध, छलफल केही नगरेको हुँदा र जिसस निर्वाचन प्रक्रिया सुरु भएको अवस्थामा राजनीतिक पार्टीले चुप लागेर बस्ने कुरा राम्रो हुँदैन। यो अवस्थामा अन्य दलसँग भए पनि जिल्ला समन्वय समिति त बन्नुपर्यो। यही हिसाबले हामीले अन्य दलहरुसँग छलफल गर्यौँ।

तपाईहरु पनि त गठबन्धनको जिम्मेवार दल हो। तपाईहरुले आफैं कांग्रेस लगायतका दलसँग छलफल गरेको भए के हुन्थ्यो?

हामी अहिले सानो दल हो। गठबन्धनमा अहिलेसम्म कांग्रेसले नै नेतृत्व गर्ने भन्ने परिपत्र नै आएको छ। हामी चाहन्थ्यौं, कांग्रेसले नेतृत्व गरोस, छलफल गरोस्। त्योअनुसार आ–आफ्ना कुरा राखौंला, कुरा मिल्ला नमिल्ला आ–आफ्नो ठाउँमा होला भन्ने सोचेका थियौं। तर, उहाँहरुले कि चाहनुभएन वा वास्ता गर्नु भएन। कहाँ–कहाँ को कोसँग कुरा गर्नुहुन्थ्यो, हाम्रो जिल्ला नेतृत्वसँग त्यो कुरा नआइसकेपछि अनि हामीले अर्को पार्टी (एमाले) सँग कुरा चलायौँ।

तर, तपाईहरुको केन्द्रको नीति त एमालेसँग तालमेल नगर्ने भन्ने हैन? जिल्लामा किन ठीक विपरीत निर्णय गर्नुभयो?

नेकपा एमालेसँग नमिल्ने साँचो कुरो त हो। तर, जोसँग मिल्ने हो, उसैले वास्ता नगरेपछि के गर्ने भन्ने प्रश्न आयो। हामी चाहान्थ्यौं, कांग्रेसले हामीलाई बोलाएर छलफल गरेको भए हुन्थ्यो। तर, उनीहरुले त्यो गर्न चाहेनन्। नचाहिसकेपछि हामी चुप लागेर बस्न हुँदैन, विकल्प सोच्नुपर्छ र निकास दिनुपर्छ भनेर छलफल चलायौँ।

कांग्रेसले वास्तै गरेन भन्नुको अर्थ अबको निर्वाचनमा पनि यो गठबन्धन रहँदैन भन्ने हो?

फेरि पनि यस्तै प्रकारको व्यवस्था गर्ने काम गरियो भने कांग्रेससँग गठबन्धन नहुन पनि सक्छ। समयमै ध्यान दिएर माओवादी पार्टी पनि एउटा राजनैतिक हैसियत भएको पार्टी हो, समयमै छलफल गर्नुपर्छ भन्ने ज्ञान आयो भने हामी गठबन्धन टुटाउने पक्षमा छैनौं।

भनेपछि, कांग्रेसले पेलेर जान खोज्यो भन्न खोज्नुभएको हो?

एकदम। एकदम सही कुरा गर्नुभयो। हामीले त्यसको जवाफ दियौँ। धनगढी, जोशीपुर, लम्की अन्य ठाउँमा पनि उहाँहरुले वेवास्ता गरेकै देखिन्छ। सम्मानजनकरुपमा कांग्रेस आएन भने गठबन्धन टुट्न सक्छ।

जिससको चुनावमा कांग्रेससँग मिल्दा अहिले माओवादीले पाएका ४ जना सदस्य पनि नपाउने स्थिति रहन्थ्यो भन्ने डरले पनि एमालेसँग तालमेल गर्न तपाईहरुलाई बाध्य पार्यो कि?

कांग्रेससँग मिल्दा कति पाउँथ्यौं, कति पाउँदैथ्यौं, एउटा कुरा हो। उनीहरुसँग छलफल नै भएन। छलफल भएपछि त दुई सदस्यमा पनि चित्त बुझ्ला वा पाँच सदस्य पनि पाइएला। तर, छलफलमा त लाग्नुपर्यो। छलफल नै भएन। 

यो पनि: दलीय व्यवस्थामा एकललाई जिताउँदा के हुन्छ, धनगढीबासीले छिटै बुझ्छन् : नृप वड (अन्तर्वार्ता)

धनकुटाको माओवादी : कांग्रेसबाट फुत्केर एमालेको भुङ्ग्रोमा

धनकुटामा कांग्रेसले छक्का पञ्जा गर्‍याे, सूर्य र रुखको गठबन्धन भयो : हेमराज भण्डारी (अन्तर्वार्ता)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .