ad ad

राजनीति


प्रेम आलेको ‘सफ्ट’ विद्रोहले रोकियो समाजवादीका मन्त्री हेरफेर

प्रेम आलेको ‘सफ्ट’ विद्रोहले रोकियो समाजवादीका मन्त्री हेरफेर

सागर न्यौपाने
जेठ २३, २०७९ सोमबार १६:१, काठमाडौँ

माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रोह गर्नुअघिसम्म अहिलेका पर्यटनमन्त्री प्रेम आले एमाले अध्यक्ष केपी ओलीका कट्टर समर्थक थिए। श्रममन्त्री कृष्ण श्रेष्ठ ‘किसान’ पनि ओली गुटमै थिए।

तर एमाले विभाजन हुनुअघि ओली पक्षका आठजना सांसद लिएर आलेले माधव नेपालको विद्रोहमा साथ दिए।

तर त्यसमा सर्त राखे– म मन्त्री बन्ने सुनिश्चित हुनुपर्छ।

त्यसो त उनी त्यहीबेला माधव नेपालसँग मात्रै होइन, नेपाली कांग्रेससँग पनि ८ सांसद देखाउँदै बार्गेनिङमै थिए।

आलेले ८ जना सांसद ल्याए कि ल्याएनन्? अध्यक्ष नेपालले आजसम्म खुलाएका छैनन्।

निर्वाचन आयोगबाट गत साउन ९ गते नेकपा एकीकृत समाजवादी पार्टीको नाम अनुमोदन भएपछि  असोज २२ गते सरकारमा जाने मन्त्रीको सूचीमा आले पनि थिए। 

त्यही सूचीबाट उनी पर्यटन मन्त्री बने। तर अहिले आएर उनकै कारण एकीकृत समाजवादीको मन्त्री फिर्ता गर्ने निर्णय अलपत्र परेको  छ।

आइतबार ४ मन्त्रीलाई फिर्ता बोलाउने पार्टी सचिवालय बैठकको निर्णय कार्यान्वयन नगर्न उनै आलेको भूमिका मुख्य रहेको स्रोतले जनाएको छ।

आलेले नमानेपछि मन्त्री फिर्ताको निर्णय रोकिएको छ। अध्यक्ष माधवकुमार नेपालको निर्णयमा ‘सफ्ट विद्रोह’ गरेका उनी सोमबार दिउँसोसम्म मन्त्रालयमै काम गरिरहेका थिए।

समाजवादीको आइतबार बसेको सचिवालय बैठकले चार मन्त्री र एक राज्यमन्त्रीमध्ये आले, कृष्ण श्रेष्ठ ‘किसान’, विरोध खतिवडा र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाउने निर्णय गर्यो‍।

नयाँ मन्त्री बन्ने सूचीमा प्रतिनिधिसभाका सचेतक जीवनराम श्रेष्ठ, सांसद मेटमणि चौधरी, गैरसांसद शेरबहादुर कुँवर र अर्का सांसद हीरा केसी थिए।

तर पार्टी निर्णयबारेमा आले, झाँक्री र खतिवडाले आइतवारै अनभिज्ञता प्रकट गरे। उनीहरुले आफूहरुलाई पार्टीको निर्णयलाई बजार निर्णयको पछि नलाग्नसमेत भन्न भ्याए।

पार्टीको निर्णय आएपछि मन्त्री आलेले प्रधानमन्त्री शेरबहादुर देउवादेखि सत्ता साझेदार अन्य दलका उच्च नेताहरुलाई समेत भेटेको खुलेको छ।

पार्टी निर्णयलाई चुनौती दिएका आलेले यसबारेमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरेको विश्वस्त स्रोतले जनाएको छ।

यसअघि आइतबार नै अध्यक्ष नेपालले सचिवालयबाट नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेर प्रधानमन्त्री देउवालाई बुझाएका थिए।

तर, सोमबार मध्यान्हसम्म पनि प्रधानमन्त्री देउवाले नयाँ मन्त्रीहरुको शपथका लागि शीतल निवासमा नाम नै पठाइदिएनन्।

मन्त्री पदको शपथ लिन तयारी अवस्थामा सोमबार बिहानैदेखि बसेका ५ नेताहरु अन्तिममा हिस्सिने अवस्था आएको छ।

स्रोतहरूका अनुसार पर्यटनमन्त्री आलेले प्रधानमन्त्री देउवालाई भेटेर मन्त्रीबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सुझाएका थिए।

उनले पार्टी निर्णय कार्यान्वन भए समस्या पार्ने भन्दै अध्यक्ष नेपाललाई चेतावनी दिएको पनि स्रोतको दाबी छ।

त्यसो त मन्त्रीबाट फिर्ता गर्ने पार्टी निर्णयप्रति स्वास्थ्यमन्त्री खतिवडा पनि असन्तुष्ट थिए। मन्त्री खतिवडाले त बजारको निर्णय भन्दै सञ्चारमाध्यममै असन्तुष्टि जनाए। उता आलेले भने पार्टीको निर्णय मान्ने अभिव्यक्ति सञ्चारमाध्यमलाई दिए।

तर सञ्चारमाध्यमलाई पार्टी निर्णय मान्ने बताइरहेका उनै आले सत्तारुढ दलका शीर्ष नेतालाई भेटेर मन्त्री पद जोगाउन सक्रिय भए।

पर्यटनमन्त्री आले, स्वास्थ्यमन्त्री खतिवडा र श्रममन्त्री श्रेष्ठकै कारण मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने समाजवादीको निर्णय तत्काललाई रोकिएको छ।

आर्थिक वर्ष २०७९÷०८० को बजेट पारित नभई उनीहरु परिवर्तन हुने सम्भावना पनि कम छ।

मन्त्री हेरफेरबारे छलफल गर्न अध्यक्ष नेपालले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको साथ खोजेका थिए।

सोमबार विहान साढे ८ बजे बालुवाटारमा तीन नेताबीच छलफल भएको थियो। तर, प्रधानमन्त्री देउवा मन्त्री फेर्ने विषयमा खुल्न चाहेनन्।

‘पार्टीको आन्तरिक विषयमा नबोल्दा राम्रो हुन्छ भनेर प्रधानमन्त्रीले खासै सुझाव दिनुभएन,’ बालुवाटार स्रोतले नेपालखबरसँग भन्यो, ‘दलभित्रको आन्तरिक समस्या समाधान गरेर निर्णय गर्न राम्रो हुन्छ भन्नुभयो।’ 

चौधरीलाई रोकेका थिए आलेले
एमालेबाट विद्रोह गर्दा माधवकुमार नेपाललाई डटेर साथ दिने नेतामध्येका थिए– दाङका मेटमणि चौधरी।

उनलाई समेत मन्त्री बन्ने अवसर नदिई नेपालले आलेलाई पर्यटन मन्त्रालयको जिम्मा दिएका थिए।

उनै आलेलाई फिर्ता बोलाएर त्यो मन्त्रालय जीवनराम श्रेष्ठलाई दिने र चौधरीलाई शहरी विकास मन्त्रालय जिम्मा दिने माधवकुमार नेपालको निर्णय अलपत्र परेको छ। त्यसमा पनि आले नै निर्णायक देखिए।

तर यसअघि असोजमा मन्त्री हुँदै ६ महिनाका लागि भनेर सरकारमा गएका आलेसहितका नेताहरुले पार्टी निर्णय अवज्ञा गरेका छन्।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले नेपालखबरलाई दिएको जानकारी अनुसार पार्टीले मन्त्री बनाउँदा ६ महिनाका लागि पहिलै सहमति गरेको थियो।

‘हामीले मन्त्री बनाउँदै ६ महिनाका लागि भनेर पठाएका हौँ,’ भुसालले भने, ‘उहाँहरुले त बोनस थप २ महिना काम गरिसक्नुभयो।’

 बूढानीलकण्ठ ‘कनेक्सन’
प्रेम आले एमालेमै हुँदा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेर दिएको बचनको एमालेवृत्तमा अहिले पनि चर्चा हुन्छ।

त्यसपछि साउन ३ गते कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा एमालेबाट  प्रतिनिधिसभामा फ्लोर क्रस भएको थियो।

एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गर्दा अग्रपंक्तिमा ओली पक्षका प्रेम आले पनि थिए। त्यसअघि उनी मन्त्री पद माग्दै देउवालाई भेट्न केही सांसदसहित

बूढानीलकण्ठ पुगेका खुलेको थियो। त्यसबेला उनले आफूसँग आठ सांसद रहेको भन्दै मन्त्री बनाइदिने ग्यारेन्टी भए सघाउने बचन दिएका थिए। त्यसैलाई आलेको बूढानीलकण्ठ ‘कनेक्सन’का रुपमा अहिले पनि चर्चा गरिन्छ।

२०७४ को संघीय निर्वाचनमा डोटी–१ बाट निर्वाचित भएका आले  एमालेका केपी ओलीले ५ पुस २०७७  मा पहिलो पटक प्रतिनिधिसभा विघटन गरेपछि वन तथा वातावरण मन्त्री बनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .