ad ad

राजनीति


प्रचण्डको हिसाब : प्रतिनिधिसभा चुनावमा माओवादी एमालेभन्दा ठूलो हुन्छ

प्रचण्डको हिसाब : प्रतिनिधिसभा चुनावमा माओवादी एमालेभन्दा ठूलो हुन्छ

नेपालखबर
असार ९, २०७९ बिहिबार १३:४१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा गठबन्धनको भर पर्दा आफूहरुले धेरै ठाउँमा हार ब्यहोरेको बताएका छन्। 

ललितपुरमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले यस्तो बताएका हुन्। 

‘गठबन्धन रहन्छ, तालमेल हुनछ, तर हामी चाहिनेभन्दा बढी आशा, गठबन्धन भएपछि चुनाव जितिन्छ भन्ने रिल्याक्सको त्रुटीचाँही यो पटक हामीले गर्नै हुँदैन्।’ प्रचण्डले प्रशिक्षणको क्रममा भने। 

साथै, उनले प्रदेश र संघको निर्वाचनमा आग्रह-पूर्वाग्रह नलिन आग्रह गरेका छन्। 

‘यो पटक प्रदेश र संघको चुनावमा हामी कोही आग्रह पूर्वाग्रह नलिऔं। जित्ने लोकप्रिय उम्मेदवार दिने र छान्ने कोसिस गरौं,’ प्रचण्डले भने, ‘गठबन्धन त होला, गठबन्धन त जान्छ, तर यो पटक हामीले गठबन्धनमा चाहिने भन्दा बढी आश गर्यौं। त्यो आश यो निर्वाचनमा नगरौं। भए ठिकै छ नभए एक्लै पनि भिड्ने भन्ने तयारी गर्यो भने मात्र गठबन्धन पनि हुन्छ।’

कतिपय जिल्लाको परिणामले केही न केही शिक्षा नेपाली कांग्रेसलाई पनि दिएको हुनपर्ने प्रचण्डले बताए।

उनले यही स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र एमालेभन्दा ठूलो हुने अवस्था भए पनि २०७४ मा जितेका ५० बढी स्थान गुमाउँदा त्यो सम्भावना टरेको बताए। 

'हामी लेफ्टभित्र पहिलो पार्टी हुने सम्भावना थियो। हामीले पहिले जितेका ठाउँ बचाएको भए हामी दोस्रो हुन्थ्यौँ', उनले भने, 'हामी १७२ हुन्थ्यौँ भने एमाले १६० मा झर्थ्यो। हामीले जितेका ठाउँमा जोगाउन सकेनौँ। तराईमा त हामीले धेरै गुमायौँ। अन्य जिल्ला पनि गुमायौँ, पहाडमा पनि गुमायौँ।'

उनले दोहोर्‍याँदै लेफ्टको पहिलो पार्टी हुने सम्भावना हुँदा हुँदै पनि त्यसलाई गुमाएको बताए। 

'प्रदेश र संघमा लेफ्टको पहिलो हुने झन् ठूलो सम्भावना छ। यदि हामी त्यहाँ पहिलो भएमा देशको राजनीति माओवादीको बागडोरमा आउँछ', उनले भने, 'तर त्यो सम्भावनालाई यथार्थमा बदल्न मिहिनेत गर्नुपर्नेछ। प्रचार, संगठन र सुदृढीकरणमा पनि मिहिनेत गरेमा हामी देशको दोस्रो र वामपन्थीको पहिलो पार्टी बन्ने पूरा आधार र सम्भावना छ।'

उनले अहिलेको अवस्थामा माओवादीले कि कांग्रेस र कि एमालेसँग मिलेर जानुपर्ने बाध्यता रहेको बताए।

'चाबी हाम्रो हातमा छ तर एउटामा एउटासँग मिले मात्रै खुल्ने अवस्था छ', उनले भने, 'प्रदेश र संघको निर्वाचनपछि अरु हामीसँग मिल्न आउँछन्। कांग्रेस र एमालेलाई हामीसँग नमिले उपाय नहुने अवस्थामा पुर्‍याउँछौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .