ad ad

राजनीति


बहस समाजवादको, तयारी वाम एकता र चुनावी गठबन्धनको !

बहस समाजवादको, तयारी वाम एकता र चुनावी गठबन्धनको !

सागर न्यौपाने
असार १४, २०७९ मंगलबार ०:२, काठमाडौँ

१३ असार दिउँसो २ बजे। जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको वृहस्पति हल।

नेपालमा समाजवाद चुनौती र सम्भावना विषय विचार गोष्ठी। कम्युनिष्ट पार्टीका संस्थापक मध्येका नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको आयोजना।

वक्ताहरूमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कार्यक्रमको अध्यक्षता गरेका माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ।

दर्शकदीर्घामा सयजति सुन्ने स्रोता र दर्शक र नेता तथा कार्यकर्ता।

दुईतिर फर्किएका एमाले, समाजवादी अनि माओवादीका नेताहरु मञ्चको एकै लहरमा थिए। रोचक त, झलनाथ खनालसँगै थिए शंकर पोखरेल।

उनीहरुबीच छेडछाड, दोहोरी र प्रश्नको वर्षा हुने अनुमान थियो नै, त्यसमाथि समाजवादको विषयमा चासो राख्ने एमाले महासचिव पोखरेल आफैँ निम्त्याइएका थिए।

नेताहरुले ठ्याक्कै नभने पनि भित्र भित्र नेकपा ब्यूँताउने वा कम्युनिष्टबीच मोर्चा बनाउन माहोल बनाउनेगरी कार्यक्रमको डिजाइन गरिएको प्रष्ट देखिन्थ्यो।

गठबन्धन र एमाले नेताहरुबीच छेडछाड चलेको कार्यक्रममा वक्ताका रुपमा बोलाइएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको भनाइले भने गहिरो अर्थ दिन्थ्यो।

उनले कांग्रेस पनि समाजवाद मानेर आए कम्युनिष्टहरू स्वागतका लागि तयार रहेको बताए। नमिल्ने भए विचार मिल्ने कम्युनिष्टहरूबीच भएर जानुको विकल्प नहुने उनले बताए।  

‘कहिलेसम्म त कांग्रेस पनि समाजवादकै लागि मिलेर जाने हो भने त स्वगत गर्छौँ,’ उनले भने, ‘नत्र जो जो तयार छौँ मिलेर जानुपर्यो। समाजवाद युगले मागेको हो।’

कार्यक्रमको सुरुमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले आफ्नो धारणा राखेका थिए। उनले समाजवादको लागि कोही पनि गम्भीर नभएको बताए।

मन्त्री बन्न पार्टीभित्र नेतृत्वको सुझाव नमान्नेदेखि गठबन्धन आवश्यकता रहेको उनले बताए।

कम्युनिष्ट भएर पनि केपी ओलीले संसद विघटन गरेर गणतन्त्र मास्न खोजेको बताउँदै गठबन्धन आगामी प्रदेश र संघीय चुनावसम्म आवश्यक रहेको बताए।

‘नेपालमा हिन्दू राज्य बनाउने जोड भइरहेको छ,’ केसीले भने, ‘देशको सार्वभौमसत्ता संकटमा छ, कम्युनिष्टको खोल ओडेर गैरकम्युनिष्ट काम भयो। गणतन्त्र सिध्याउने भूमिका खेल्ने कम्युनिष्ट एकता किन चाहियो?’

‘पाँच दलभित्र मनमुटाव भएपनि गणतन्त्र जोगाउनुपर्ने चुनौती छ, त्यही भएर आगामी प्रदेश र संघीय निर्वाचनसम्म गठबन्धन लैजानुपर्छ, समाजवादी योजना र कार्यक्रम ल्याउनुपर्छ,’ उनले भने।

त्यसपछि बोल्ने पालो उपेन्द्र यादवको। यादवले केसीलाई अडान भएको नेता भन्दै प्रशंसा गरे। शंकर पोखरेलतिर हेर्दै उनले संसद विघटन गरेर देशको संविधान मास्ने पार्टीले ठूला ठुला कुरा गरेको भन्दै मन्द मुस्कानले व्यंग्य गरे।

‘संघीयता भएपनि एकात्मक प्रणालीको अभ्यास भयो, प्रदेश नाकमात्रै भयो, संघीयतामा हाम्रा साथीहरुलाई विश्वास नभएको हो कि, साथीहरुले संघीयतालाई भित्र भित्र कुहाउँदै हुनुहुन्छ,’ यादवले भने, ‘ हाम्रो देश आयात बेस्ड मुलुक हो, करिव ८३ प्रतिशत आयात र १७ प्रतिशत जति निर्यात गर्छौँ उत्पादन नगरी समाजवाद आउँदैन, संविधानमा समाजवाद उन्मुख मात्र लेखेर पुग्दैन। कम्युनिष्ट हुँदैमा समाजवाद आउँदैन।’

उपेन्द्रपछि नेकपा एमाले महासचिव शंकर पोखरेलको बोल्ने पालो आयो।

उनले सुरुमै कार्यक्रममा समाजवादको बहस भने पनि मञ्चमा कांग्रेस नेता राखेको प्रति व्यंग्य गरिहाले।

‘समाजवादको बहसमा गठबन्धनको संकल्प प्रस्तुत भइरहेको छ, कांग्रेस कहिलेदेखि समाजवादमा आयो,?’ पोखरेलले प्रश्न सोधे, ‘समाजवादको संकल्प र गठबन्धनको यात्रामा कहाँ संगति मिल्छ? मैले बुझेको छैन।’

उनले कांग्रेसलाई सँगै राखेर समाजवादको बहस गर्नु भनेको समाजवादको लागि तयार नभएको आरोप लगाए। ‘यो विमर्श कार्यकर्तालाई अल्मल्याउने काम हो, बुर्जुवा कांग्रेस र अहिलेको गठबन्धन समाजवादका लागि बाधक हो,’

उनले कार्यक्रममा बोलाएकोमा नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिए।

‘नेकपा एमाले र अहिलेको गठबन्धनबीच तपाईंहरुको धेरै बिमत्ति छ। नेकपा एमालेप्रति तपाईंहरुको घृणाको राजनीति हो। नारायणकाजीज्यूले बोलाउनुभयो, त्यसका लागि धन्यवाद!’

‘एमालेविरुद्ध घेराबन्दी गर्नुपरेको छ, अनि एमालेलाई नै हराउनुपरेको छ’, उनले भने।

त्यसपछिका वक्ता थिए, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल। उनले एमाले महासचिव शंकर पोखरेललाई समाजवादको कुरा नसिकाउन सुझाव दिए।

‘समाजवाद भनेको स्वतन्त्रता समानता हो, पौडेलले भने, निमुखालाई न्याय समाजवाद हो, शंकरजीले समाजवाद के बुझनु भएको छ? मैले के बुझेको छु।’

एमालेतिर आक्रोशित हुँदै पौडेलले भने, ‘समाजवादको जग भत्काउन खोज्नुभएको थियो, त्यसलाई बचाउन गठबन्धन आवश्यकता परेको हो।’

उनले यो लडाई कम्युनिष्ट र कांग्रेसबीचको नभएको पनि बताए। ‘गठबन्धन बच्यो भने समाजवाद छ, चुनौति हाम्रो आचरण, व्यवहारमा छ, हामीले कार्यकर्तालाई कसरी प्रशिक्षण दिएका छौं भन्ने कुरामा भर पर्छ।’

त्यसपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो धारणा राखे। उनले सुरुमै समाजवाद कुन हो भनेर प्रश्न गरे।

आफू वैज्ञानिक समाजवादको पक्षमा रहेको भन्दै उनले त्यसकै विषयमा धारणा राख्दा कहिले रुस पुर्याए कहिले चीन र कहिले अमेरिका पनि।

उनको निष्कर्ष थियो, समाजवाद अनिवार्यता हो, आउँछ आउँछ र आउँछ। उद्योग कलकारखाना कम्युनिष्टबाटै निजीकरण गरेर सकिएको उनको भनाई थियो।

यति वक्ता बोलिसक्दा मञ्च खाली जस्तै भयो। प्रचण्ड बोल्ने बेलामा केसी, यादव, पोखरेल कोही थिएनन्। अनि उनले आफू बोलेपछि हिँड्ने बानी हटाउनुपर्ने बताए।

प्रचण्डले सुरुमै एमाले महासचिव शंकर पोखरेलको भनाई खण्डनबाट धारणा राख्न थाले।

प्रचण्डको खुलासा १९ पेजको डकुमेन्ट चार नेताद्वारा तयार
नेकपामा ओलीविरुद्ध १९ पृष्ठको दस्तावेज ल्याएको कुरालाई लिएर प्रचण्डले प्रश्न गरे, ‘आजभोलि केपी ओलीले जसलाई पनि त्यो १९ पृष्ठको दस्तावेजले खतम बनायो भन्नुहुन्छ। त्यो १९ पृष्ठको दस्तावेज कसले जन्मायो?’

तत्कालीन अवस्थामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीका रूपमा ओलीले गरेको व्यवहारका उक्त दस्तावेज ल्याउनुपरेको र त्यो सबैको भएको प्रचण्डले खुलासा गरे।

‘त्यो दस्तावेज झलनाथ, माधव, वामदेव गौतमको पनि हो। आजभोलि वामदेवजीले आजभोलि छ्यास्स केही भन्नुहुन्छ। अझ त्योभित्र लेखेको कुराको बढी सुझाव वामदेवजीको थियो। इतिहास र सच्चाइलाई आत्मसाथ गर्नुपर्छ,’ उनले भने,‘कम्युनिस्ट पार्टीभित्र यस्तै प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी, प्रतिगमनकारी, संविधान विरोधी, संघीय लोकतान्त्रिक गणतन्त्र विरोधीको कारणले हामीले बाध्य भएर सच्चाइ जनताको अगाडि ल्याउन परेको होइन?’

एसपीपी खारेज गर्यौं
‘एसपीपीलाई खारेज गराउनेमा नेतृत्वदायी भूमिका पनि हामीले नै खेलेको हो। कसैले इन्कार गर्न सक्दैन, इन्कार गर्न हुँदैन। यो एसपीपी कहाँबाट आएको हो? केपी ओली नेतृत्वको सरकारले एसपीपी गरेर सैन्य गठबन्धनतिर लैजाने कामको सुरुवात गरेको हो। यसको जिम्मा उनले नै लिनुपर्छ, हामी चाहिँ मान्दैनौँ,’ उनले भने, ’एसपीपी खारेज गराइछाडिन्छ भन्ने मैले नै बोलेपछि चुनौती भएको थियो संसदमा। एमालेको एकजना नेताले चुनौती दिन्छु भनेको ४ घण्टापछि त प्रमाण आयो। त्यसपछि त्यो चुनौती पनि खत्तम भयो।’

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने भन्दै सरकारले अमेरिकालाई पत्र लेख्ने निर्णय शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले हालै गरेको थियो। उक्त कार्यक्रमले नेपालमा विवाद ल्याएको छ।

शोधनान्तर घाटा गर्ने ओली र खतिवडा
नेपालको शोधनान्तर घाटाको सुरुवात तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको र त्यसमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडा रहेको उनले आरोप लगाए।

‘शोधनान्तर घाटाको जन्मदाता, प्रणेता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा हो,’ दाहालले भने।

एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकारले शोधनान्तर घाटामा मुलुकलाई लगेको र अर्थतन्त्र कमजोर पारेको आरोप लगाएपछि दाहालले जवाफ दिएका हुन्।

मुलुकमा भित्रिने भन्दा मुलुकबाट बाहिरिने रकम बढी हुँदा शोधनान्तर घाटा हुन्छ। नेपाल राष्ट्र बैंकका अनुसार यस आर्थिक वर्षको पहिलो १० महिनामा २ खर्ब ८८ अर्ब मुलुकको शोधनान्तर घाटा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .