ad ad

राजनीति


जनयुद्धमा छोरोे गुमाएकी मंगलीको आक्रोश : नेता बिग्रिए, माओवादी खत्तम भो (भिडिओसहित)

जनयुद्धमा छोरोे गुमाएकी मंगलीको आक्रोश : नेता बिग्रिए, माओवादी खत्तम भो (भिडिओसहित)

रुपक चौलागाईं
असार १६, २०७९ बिहिबार २०:१५, काठमाडौँ

 गत ११ असारमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा सत्तारुढ नेकपा माओवादी केन्द्रले एक समीक्षा कार्यक्रम राखेको थियो।

उक्त समीक्षा कार्यक्रमको प्रमुख अतिथि थिइन, कर्णाली प्रदेशकी प्रदेशसभा सदस्य विमला केसी। 

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको समीक्षा गर्ने गरी ‘पालिकास्तरीय निर्वाचन समीक्षा कार्यक्रम’ राखिएको  थियो। 

त्यही कार्यक्रममा सहभागी हुन पुगेकी वडा नम्बर २ की मंगली खत्री। उक्त कार्यक्रममा उनै मंगलीले पनि सम्बोधन गर्ने मौका पाइन्।

उनी माओवादीले १० वर्षसम्म चलाएको जनयुद्धका सहिद कविराम खत्री ‘विवेक’ की आमा पनि हुन्।

खत्री अहिले गाउँपालिकाको पार्टी कमिटी सदस्यको जिम्मेवारी छिन्। 

मंगलीका जेठा छोरा थिए कविराम। जो जनयुद्धका क्रममा रोल्पा राज्यका तर्फबाट भएको कारवाहीमा मारिएका थिए।

गाउँपालिकाले गरेको निर्वाचन समीक्षा कार्यक्रममा सम्बोधन गर्न पोडियममा पुगेकी उनले केन्द्रीय नेताहरुको ध्यान खिच्नेगरी केहीबेर बोलिन्। 

उनले हिजो जनयुद्ध लडेका माओवादी केन्द्रका नेताहरु पद र लोभका कारण बिग्रिएको गुनासो गरिन्। 

जनयुद्धमा छोरो गुमाएकी उनले त्यहाँ त्यो पीडा पनि पोखिन्। उनले अरुलाई पनि भावुक बनाउँदै आफ्नो छोरो पनि आज जीवित भएको भए अरु जस्तै नेता हुने बताइन्। 

‘तिमीहरु जस्तै नेता हुने छोरो थियो मेरो पनि, यदि बाँचेको यहाँ मेरो छोरो पनि आउँदो हो’, मञ्चमा बसेका नेताहरुलाई औँला ठड्याउँदै उनले भनिन्। 

उनले माओवादीका नेताहरु माथिदेखि तलैसम्म बिग्रिएको गुनासो गरिन्। ‘माथि नेतृत्वमा रहेकाहरूदेखि तल टोलसम्म बिग्रिया छ। एउटैलाई कोही दोष छैन, सबै एकै हौँ,’ उनले भनिन्, ‘पदै चाहिने, आफ्ना मान्छे कोच्ने। आफ्ना मान्छेले खाया हुन्छ भन्ने। जति नेता भया, हुन् त्यही भएर बिग्रिया हुन्।’

मंगलीको सम्बोधनः
घाइतेलाई कति पीडा छ, अपांगलाई कति पीडा छ, रगत चुहाइया छ, खुट्टा छैन, हात छैन। तिमीहरुलाई भने पद नै चाहिएको छ। हो त्यो पद चाहिएर बिग्रिया हो सबै। जसले जित्छ उसलाई गराऔं भनेँ मैले। ए आफ्ना तालमा हिँडे। भित्रैबाट बिग्रिएको छ। ठूलैबाट बिग्रिएको छ।

अबदेखि खबरदार! कि हाम्रा छोरा उठाउनुपर्यो, कि माओवादी एक हुनुपर्यो‍, उस्तै बलियो माओवादी हुनुपर्यो‍। हामीलाई पीडा छैन? हामीलाई दुःख छैन? हामीलाई यही रहर लाग्या छ? म ६५ वर्षकी भएँ, अहिलेसम्म मलाई डर लाग्या छ। तिमीहरु जस्तै नेता हुने छोरो थियो मेरो पनि, यहाँ मेरो छोरो पनि आउँदो हो। उसको (बुहारीतिर इंगित गर्दै) पोइ आउँदो हो। उसको सिउँदो पुछिएको छैन? उसको रगत बगेको छैन? हामीलाई छोरा मर्ने बेलामा रुवाउने हौ नि तिमीहरु। 

वडाले हार्यो, पालिका जित्दा उही हुन्छ। खलंगा जित्दा उही हुन्छ। क्या हो यो कर्तब्या? वडामा के भो? यहाँ के भो? तल खंलगामा के भो? किन हामीलाई ठाउँ ठाउँ मन दुखाउने? मन रुवाउने? तिमीहरुले पनि केही न केही गर्नुपर्छ। केही न केही नगरेर बिग्रिया हो यो। माथि नेतामा रहेर तल टोलसम्म बिग्रिया छ। एउटैलाई कोही दोष छैन, सबै एकै हौ। पदै चाहिने, आफ्ना मान्छे कोच्ने। आफ्ना मान्छेले खाया हुन्छ भन्ने। जति नेता भया हुन् त्यही भएर बिग्रिया हुन्। म पनि नेतै हुँ, नेताको कुरा लाउने भयापछि आजसम्म मैले चकटी खोज्या पनि छैन। बस्ने मान्छेले राम्रो सोच विचार गरेर आजदेखि लाग। होइन भने, ढिलो भैगो भन्ने ४ लाइन लेख्ने हिँड्ने भनेपछि अब माओवादी खत्तम भो। यति भन्दै म विदा भएँ।

को–को थिए कार्यक्रममा?
बाँफिकोट पार्टी कमिटीले आयोजना गरेको उक्त समीक्षा कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य विमला केसी प्रमुख अतिथि थिइन्। 

रुकुम पश्चिमका निवर्तमान समन्वय समिति प्रमुख राजकुमार शर्मा, पार्टी केन्द्रीय सदस्य तथा रुकुम पश्चिम इन्चार्ज वसन्त शर्मा, रुकुम पश्चिमका अध्यक्ष गोविन्द रोका ‘सचिन’ लगायतका नेता उपस्थित थिए। निर्वाचन समीक्षा भनिएको उक्त कार्यक्रममा मंगलीको सम्बोधनले धेरैको ध्यान तानेको थियो। 

बाँफिकोट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जनक कुमार बाठा मगर र उपाध्यक्षमा माओवादी केन्द्रकी तारा बुढा केसी निर्वाचित भएकी थिइन्। त्यसमा पनि मंगलीले माओवादीले अध्यक्ष गुमाएको भन्दै चिन्ता  जनाएकी थिइन्। 

गाउँपालिकाका १० मध्ये ८ वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए। प्रमुख जितेको कांग्रेसले २ वडामा मात्रै जित निकालेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .