नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले चीनको दुस्प्रचारका बाबजुत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट अनुमोदन हुनुलाई नेपाल-अमेरिका सम्बन्धकाे उपलब्धि भनेका छन्।
अमेरिकी संसद सिनेट अन्तर्गतको परराष्ट्र मामिला समितिमा अमेरिका-नेपाल सम्बन्धबारे आफ्ना धारणा राख्ने क्रममा थम्पसनले एमसीसी अनुमोदनका बेला चीनले भ्रम फैलाएपनि एमसीसी अनुमोदन भएको बताएका छन्। उक्त अमेरिकी समितिले आफ्नो वेबसाइटमा थम्पसनको मन्तव्य प्रकाशित गरेको छ।
‘अमेरिकाको नेपालसँगको सम्बन्धमा केही उपलब्धि भएका छन्, जसबाट दुई देशबीच रहीआएको ७५ वर्षदेखिको साझेदारी अझ मजबुत भएको छ। जस्तो गत फेब्रुअरीमा चीनकाे दुष्प्रचार अभियानका बीच नेपालको संसदले ५०० मिलियन डलरको सम्झौता अनुमोदन गरेको थियो’ उनले भने।
प्रस्तावित राजदूत थम्पसनले एमसीसी परियोजना अन्र्तगत विद्युतीय प्रशारण लाइन निर्माण भई त्यसबाट नेपालको स्वच्छ उर्जा दक्षिण एसियाको उर्जा सञ्जालसँग जोड्नेछ बताए। एमसीसी परियोजनाबाट नेपालमा उच्च गुणस्तरका सडक निर्माण हुने उनको भनाई थियो।
‘यस्ता परियोजनाले दुवै देशको समृद्धि बढ्नेछ’ उनले भने।
नेपाल आएका अमेरिकी अधिकारीले एमसीसी संगको सम्झौता अनुमोदन भएकोमा देउवा सरकारलाई धन्यवाद दिंदै कार्यान्वयनमा चीनको अवरोध हुने आशंका गर्ने गरेका छन्। चीनको असन्तुष्टी र अमेरिकाको चर्को दबाबबीच गत फेब्रुअरीमा एमसीसी सम्बन्धी सम्झौता नेपालको संसदबाट अनुमोदन भएको थियो।
एमसीसी सम्झौताका अन्तर्वस्तुबारे नेपालमा तिव्र बहस भइरहेका बेला एकातिर सम्झौता कुनै हालतमा अनुमोदन गर्न अमेरिकाले कुटनीतिक दबाब दिएको थियो भने चीनले सम्झौता लागू भए त्यसबाट आफ्नो सुरक्षा चासोमा गम्भीर असर पर्ने आशंका ब्यक्त गरेको थियो।
त्यही बीच फेब्रुअरी दोश्रो साता अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी डोनाल्ड लुले प्रधानमन्त्री शेर बहादुर देउवा लगायत सत्तारुढ र प्रतिपक्षी दलका नेतालाई फोन गरेर एमसीसीसगको सम्झौता फेब्रुअरी २८ भित्र अनुमोदन नभए नेपालसँगको द्विपक्षीय सम्बन्ध पुनर्विचार गर्ने चेतावनी दिएका थिए।
माओवादी केन्द्रका नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार त्यसबेला माओवादी अध्यक्ष प्रचण्डलाई अमेरिकी पक्षले एमसीसी सम्झौता अड्काए नेपालले नाकाबन्दी सम्मका परिणति बेहाेर्नुपर्ने चेतावनी दिएको थियो। ठिक त्यही बेला अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले सम्झौता रोकिनुको पछाडि चीनको हात रहेको आरोप लगाएका थिए।
एमसीसीसँगको सम्झौतालाई लिएर त्यसबेला अमेरिका र चीनबीच सार्वजनिक वक्तव्यबाजी पनि भएको थियो। चीनले एमसीसीसँगको सम्झौता अनुमोदन गराउन अमेरिकाले जोरजुलुमपूर्ण कुटनीतिक नेपालमाथि थोपरेको आरोप लगाएको थियो। उसले नेपालमाथि अमेरिकाले जबरजस्ती गरे प्रतिवाद गर्ने बताएको थियो। त्यहीबीच नेपालमा अमेरिकासँगको सम्झौता अनुमोदन भएको थियो। त्यसपछि पनि चीनले असन्तुष्टी जनाएको थियो।
अमेरिकाको नेपालसँगको सम्बन्ध महत्वपूर्ण मोडमा
अमेरिकी संसदको परराष्ट्र समितिमा बोल्दै राजदूत थम्पसनले अमेरिकाको नेपालसँगको सम्बन्ध महत्वपूर्ण मोडमा रहेको समेत बताए। ‘नेपाल दुई ढुङ्गा बिचको तरुलका रुपमा लिने गरिन्छ। ती ढुङ्गा भनेका चीन र भारत हुन्। ती दुवै देशको नेपालसँग महत्वपूर्ण सम्बन्ध
सार्वभौमिकता र संयुक्त राज्य अमेरिकासँग सम्बन्ध सुदृढ गर्ने नेपालको चाहना भनेको अमेरिकाको पनि चाहना हो’ उनले भने। उनले यदी आफू राजदूत नियुक्त भए नेपालको आर्थिक विकास र दुई देशबीचको ब्यापारिक सम्बन्ध सुदृढ गर्ने आफ्नो प्राथमिकता रहने बताए।
नेपालमा रहँदाका आफ्ना कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत थम्पसनले नेपाली जनता र समग्र नेपालवासीहरुको अधिकारलाई जोड दिने बताए। ‘दलित, सीमान्तीकृत समुदाय र तिब्बती लगायत सबै शरणार्थीका अधिकारका जोड दिनेछु। मैले ती समुदायका लागि सार्थक समावेशीकरण र आर्थिक अवसर दिन मद्दत मिल्ने खालका नीति ल्याउन मैले नेपाल सरकारलाई प्रोत्साहित गर्नेछु’ उनले भने।
चीनले तिब्बत मामिला आफ्नो आन्तरिक बिषय रहेको बताउने गरेको छ। उसले नेपालस्थित तिब्बतीका बिषयमा अमेरिकाले अनावश्यक चासो र हस्तक्षेप गर्ने गरेकोमा बेला बखत आपत्ति पनि जनाउने गरेको छ। अब नेपाल आउन लागेका अमेरिकाका राजदूत थम्पसनले चिनियाँ आशंकालाई थप बल दिनेगरी तिब्बतीका अधिकारका कुरा आफूले नेपालसमक्ष उठाउने बताएका हुन्।
राजदूत थम्पसन यहाँ आएपछि तिब्बत मामिलामा चीन र अमेरिकाका परस्पर बिरोधी स्वार्थ थप सघन हुने र त्यसका कारण नेपाल भूराजनीतिक चेपुवामा पर्नसक्ने शंका उत्पन्न हुनसक्ने जानकारहरु बताउँछन्। अमेरिकाको तिब्बत हेर्ने बिशेष संयोजक उज्रा जिया अघिल्लो महिना नेपाल आएकी थिइन्। उनले नेपालमा रहेका तिब्बती शरणार्थीलाई सरकारको अनुमतिमै भेटेकी थिइन्, जसप्रति चीन असन्तुष्ट बनेको थियो। चीनले देउवा सरकारको एक चीन नीतिप्रतिको प्रतिबद्धतामै शंका ब्यक्त गरेको थियो। यही साता नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका बिदेश बिभाग प्रमुख लिउ जियान्चाओले प्रधानमन्त्री शेर बहादुर देउवासँगको भेटमा पनि नेपालबाट चीन बिरोधी गतिबिधि नहोस् भन्ने चिनियाँ चाहना अभिव्यक्त गरेका थिए।
नेपालले युक्रेनलाई गरेको समर्थको प्रशंशा
प्रस्तावित राजदूत थम्पसनले नेपालले युक्रेन मामिलामा राष्ट्रसंघ महासभा र राष्ट्रसंघ मानवअधिकार परिषद्मा नेपालले लिएको पोजिसनको प्रशंशा गरेका छन्। उनले नेपालले युक्रेन मामिलामा लिएको पोजिसनले नियममा आधारित अन्र्तराष्ट्रिय व्यबस्था र भौगोलिक अखण्डताप्रति नेपालको दिलचस्पी प्रकट भएको बताएका हुन्। अमेरिका र पश्चिमा मुलुकसँगै नेपालले पनि युक्रेन—रुस द्वन्द्वमा युक्रेनको पक्षमा राष्ट्रसंघमा मत दिएको थियो। त्यसबेला नेपालले असंलग्न परराष्ट्र नीति त्यागेर अमेरिकी खेमामा आफूलाई उतारेको भन्दै सरकारको आलोचना पनि भएको थियो।
बाइडेनको सम्मेलनमा देउवाको सहभागिता
अमेरिकी राष्ट्र जो बाइडेनले गत डिसेम्बरमा आयोजना गरेको लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा सहभागी भई नेपालले अमेरिकासँग ब्यक्त गरेको प्रतिबद्धताअनुसारका प्रगति हासिल भएको उनले बताए।
शिखर सम्मेलनमा नेपाल सहभागी हुनुबाट नेपाली जनताले आफ्नो युवा लोकतन्त्र र अमेरिकासँगको सम्बन्धलाई दिएको महत्वका रुपमा उनले चित्रित गरे। उक्त सम्मेलनमा प्रधानमन्त्री देउवा भर्चुअल माध्यमबाट सहभागी भएका थिए। बाइडेनले यो बर्ष पनि उक्त सम्मेलन आयोजना गर्दैछन्।
राजदूत थम्पसनले नेपालमा राजदूत नियुक्त भएर आएपछि आफूले लोकतान्त्रिक संस्थाहरुको सबलीकरणमा काम गर्ने प्रतिबद्धता जनाए। उनले नेपालसँगको सम्बन्ध विस्तारका लागि राजदूतका रुपमा काम गर्ने अवसर आफूलाई आएको बताए।
Shares

प्रतिक्रिया