ad ad

राजनीति


राष्ट्रपतिको ‘सादगीपन’ माथि प्रश्न

राष्ट्रपतिको ‘सादगीपन’ माथि प्रश्न

अरुण बराल
साउन ११, २०७९ बुधबार ११:३३, काठमाडौँ

मंगलबार दिउँसाे ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवास पुग्नु थियो। ‘सम्पादकहरूसँग राष्ट्रपतिज्यूको भेटघाट कार्यक्रम’ रहेकाले निम्तो थियो। मूलगेटमा करिब ४० जनाको नामेसूची बोकेर बसेका कर्मचारी (सिपाही) ले भित्र पस्न दिएनन्।

‘सम्पादक’हरूको सूची बोकेर शीतलनिवासको मूलगेटमा बसेका कर्मचारीले भने– ‘तल दुई नम्बर गेटबाट जानोस्।’

मैले शिकायत गरें, ‘पब्लिक गाडीबाट ओर्लेर पैदल आएको छु, हिँडेर अर्को गेटसम्म जान त समय लाग्छ नि, उसै पनि तोकिएको समयभन्दा निकै ढिला भइसक्यो।’

उनले मानेनन्। यत्ति भने, ‘अर्को गेट नजिकै छ, जानोस्।’

पछि थाहा भयो, निजी गाडीमा आएका सबै पाहुना मूलगेटबाटै भित्र छिरेका रहेछन्। सूचीमा रेजा लगाउँदै उनीहरूलाई सोही  गेटबाट पठाइएको रहेछ।

भित्र पुगेपछि अर्को कुरा पनि थाहा भयो- दुईजना सम्पादक मोटरसाइकलमा आएका रहेछन्, उनीहरूलाई पनि मूलगेटबाट पस्न दिइएनछ।

मोटरसाइकलवालालाई त पार्किङ तलै छ भन्ने तर्क गर्न सकिएला, पैदल आएको पाहुनाले पार्किङ गर्नुपर्ने केही थिएन। सेना र राष्ट्रपतिको सचिवालयले गरेको यो व्यवहार फगत एउटा वर्ग विभेद मात्र थियो।

दुई नम्बर गेटबाट भित्र पसेपछिको अनुभव पनि रोचक नै रह्यो।

भित्र के पसिएको थियो, राष्ट्रपतिज्यूको सवारी चल्यो, एकैछिन रोकिनोस् भनेर केही बेर ठिंगुर्याइयो। राष्ट्रपतिज्यू गाडी चढेर निवासबाट कार्यक्रमस्थलतर्फ जानेबेला भएको रहेछ। एकजना पाहुना त्यहाँ हिँड्दा शीतलनिवासको बाटो छेकिने कुरै थिएन।

सवारी चलुञ्जेल रोकिएर भित्र गएपछि मेटल डिकेक्टरबाट सुरक्षा जाँच गरियो र मोबाइल लकरमा राख्न भनियो।

‘अरूले त मोबाइल कार्यक्रमस्थलमा लिएर गएका छैनन् नि? मलाई मात्र यसो गरिएको त होइन ?’ यस्तो प्रश्न  गरेकामा आपत्ति जनाउँदै सुरक्षाकर्मीले पञ्चायती शैलीमा भने, ‘तपाईं सुरक्षाप्रति शंका गर्नुहुँदोरहेछ।’

बाहिरको व्यवहार जेसुकै होस्, शीतलनिवासभित्र कार्यक्रमस्थलमा पुगिसकेपछि भने, ‘सिम्प्लिसिटी’ (सादगीपन) को भरपूर चर्चा भयो।

पत्रकार कृष्णमुरारी भण्डारीले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट केही रोचक अनुभूति सुन्न पाइयो।

भेटघाटको सुरुआतमै राष्ट्रपतिले ‘साथीहरू र भाइहरूलाई स्वागत छ’ भन्दै आफ्ना कुरा लिखित रूपमा राखिन्। लिखितमा उनले निजात्मक भन्दा देशको अर्थतन्त्रका विषयमा गम्भीर चिन्ता प्रकट गरेकी थिइन्। लेखोटभन्दा बाहिर उनले खुलेर मनका निजी भावना व्यक्त गरिन्।

‘मेरो अलि बढी व्याख्या गर्ने बानी छ। त्यही भएर लेखेर ल्याएकी थिएँ.... तपाईंहरूको समय छ भने राखौं कि?’ राष्ट्रपतिले आफ्नो कुराहरूको पोयो यसरी फुकाइन्।

‘हाम्रो सिम्प्लिसिटीमा प्रश्न गरिराख्न जरुरी छैन’ भन्दै राष्ट्रपति भण्डारीले सुनाएको व्यक्तिगत अनुभूतिको सारसंक्षेप यस्तो छ–

सेनालाई जुत्ता बोकाएको प्रसंग
सखडा (सप्तरी) को मन्दिर दर्शन गर्न गएकी थिएँ। त्यहाँ टाइम टाइममा जाने गरेकी थिएँ। राष्ट्रपति भइसकेपछि मेरा छोरीहरू मसँग त्यति हिँड्दैनन्। कहिलेकाहीँ मात्र हिँड्छन्।   

मन्दिरमा जुत्ता खोल्नुपर्छ। एक ठाउँबाट भित्र गएर अर्को ठाउँबाट निस्कनुपर्ने रहेछ। जुत्ता खोलेर भित्र गइयो र अर्कोतिरबाट बाहिर निस्किइयो। जुत्ता एक ठाउँमा खोल्यौं, अर्कोतिरबाट सवारी चल्यो।​

सञ्चारगृहको नाम नभनौं, उहाँहरूको कामै सचेतकको हो, त्यसलाई (सेनाले जुत्ता बोकेको फोटोलाई) भाइरल बनाइदिनुभयो। मान्छेले कहिलेकाहीँ लास त बोक्नुपर्छ भने सासै हुँदाखेरि पनि सेवा त गर्छन् नि!

म रक्षामन्त्री भएका बेला चाइना जाँदा पीएलए ( चिनियाँ सेना) ले बोकेर हिँडे। यहाँ त जुत्ता मात्रै बोके, त्यहाँ त मलाई नै बोके। फोटो पनि छ।

एउटा गुफाको अनुगमन गर्न डेढ घण्टा हिँड्नुपर्ने भयो। भयंकर राम्रो पाल्की थियो। मैले चढ्दिनँ भनेर अनुनय गरें। तर, बोकेर हिँडे। दुई/तीन जना जर्नेलहरू थिए, उनीहरू हिँडे। मलाई चाहिँ बोके।

यसरी कहिले बोकिइएको थियो। एक दुईचोटि घोडा चढियो होला। गाडीले पनि बोकेको भन्न सकिएला। यसमा मानिसहरूको आआफ्नो हेराइ हुन्छ।

आर्मीको कुरा गर्दा राष्ट्रपतिलाई संविधानले सेनाको परमाधिपति भनेको छ। तर, मैले म परमाधिपति भनेको छु? रक्षामन्त्री भएँ। त्यतिखेर आर्मी चिफ बनाएर कार्टुन छापे। ती कार्टुन म अहिले खोजिरहेकी छु।​

‘भूकम्पको केन्द्रमा कालो चस्मा’
२०७२ साल वैशाखमा भूकम्प गयो। कात्तिकमा राष्ट्रपतिको निर्वाचन भयो। भूकम्प दिवसमा भूकम्प आएको केन्द्रमा स्तम्भ शिलान्यास गर्नपर्यो भनियो। ‘स्मृति स्तम्भ त बन्छ नि? मैले भनें, ‘मलाई शिलान्यास गर्दै हिँड्नु छैन, काम हुनुपर्यो।’

एनआरएनएले पनि सपोर्ट गर्ने भनेर त्यहाँ गयौं।

अहिलेको देशको आर्थिक अवस्था हेर्दा यो बढी हुन सक्ला तर हाम्रो सिम्प्लिसिटीमा प्रश्न गरिराख्न जरुरी छैन। हिजोकै चिज लगाएर हिँड्न पनि सकिन्छ। सांसद भइयो, मन्त्री भइयो, अहिले राष्ट्रपति भइयो, यसलाई कसरी हेर्ने?

मैले बजारबाट लोकल उत्पादन किन्छु। प्रायः चिनेका घरेलु तानबाट सारी किनेर लगाउँछु। हतार हुँदा बजारबाट पनि ल्याउँछु। ढाकाको कपडा लगाएकी थिएँ। सेतो माला दुईवटा हैन, एउटा लगाएकी थिएँ। मोती सस्तो पनि हुन्छ, महँगो पनि हुन्छ। मेरो बारेमा थाहा छैन भने भनिदिनू, लेख्ने सम्बन्धित पात्रलाई जानकारी हुनुपर्छ।

गर्मीको बेला थियो जस्तो लाग्छ। त्यसलाई गगल्स भन्ने कि के भन्ने, त्यो मैले लगाएर हिँडेकै हो। लाउनुपर्ने आवश्यकतै परेन। अहिले पनि दुई–तीनवटा छन्। छोरीहरू छन्, कहिलेकाहीँ गिफ्ट पनि ल्याइदिन्छन्। मेरो बानी कस्तो भने तपाईंहरूले जे लेखे पनि फरक पर्दैन। कतिपय कुराहरू चित्त बुझ्दैन, तर शतप्रतिशत नभएको कुरा लेखेको देख्दा भने हाँस उठ्छ। मैले त्यो लगाएकै हो।

फाइल तस्बिर

ढाकाको प्रमोसन
ढाकाको सारी मैले एउटाले लगाएर देशको अर्थतन्त्र जोगिएन, यसलाई कसरी लेख्नुहुन्छ, तपाईंहरूको कुरा हो। मैले तान बुन्न लगाएर खाँडीको पनि लगाएँ, त्यसले पनि जोगिएको छैन।

संखुवासभाको कपास भनेको त पछि मित्रले ट्रकका ट्रक कपास विदेशबाट आउँछ भन्नुभो। मलाई त्यो कुर्ता-सुरुवालको धागोले पोलेजस्तै भयो। म रिसाएँ। मलाई पहिल्यै भन्नुपर्थ्यो भनें। उहाँले मेरो मनोदशा हेर्नुभयो होला, तपाईंलाई ल्याइदिएको चाहिँ गाउँकै हो भन्नु्भयो। पछि अर्थशास्त्रीहरूले सुनाउनुभयो, यहाँ जनै, गुन्द्रुक सबै बाहिरैबाट आउँछ।

मैले घरेलु उत्पादनलाई प्रमोसन गर्छु भनेर ढाकाको कपडा प्रयोग गरें। तर, यसको जात कस्तो हुन्छ भने दुई/चारचोटि धोएर लगायो भने चमक हराउँछ। राष्ट्रपति त्यस्तो लगाएर हिँड्न भएन।

तर, मलाई के लागेको छ भने अहिले दलका महिलाहरूले ढाकाको कपडा बढी लगाउने गरेको जस्तो लाग्छ। राम्रै भएछ क्यारे भन्ने अनुभव भएको छ।

अवकाशपछि के गर्ने?
राष्ट्रपति भण्डारीलाई सहभागीका तर्फबाट सोधियो– अबको केही महिनापछि तपाईंको कार्यकाल सकिँदै छ, त्यसपछि के गर्नुहुन्छ? राजनीतिमा आउनुहुन्छ या पूर्वराष्ट्रपति डा. रामवरण यादवकै जस्तो भूमिकामा रहनुहुन्छ?

राष्ट्रपतिको जवाफ यस्तो थियो–

भोलिको दिनमा हेरौं। तर, अहिलेको स्थिति हेर्दा कति योगदान गर्न सकिन्छ? कतिपय कुराहरू चाहँदा चाहँदै सकिँदैन। कतिपय कुरा पहुँचमा हुँदैन। अरू पनि पहुँचमा हुन्छन्। हाम्रो जस्तो देशमा जलवायु, शिक्षा आदि विषयमा साझा धारणा बनाउँदै जानुपर्छ। राष्ट्रिय सुरक्षाका कुराहरूलाई पनि हेर्नुपर्छ।... सत्ताका स्टेक होल्डरहरूले गर्दिएनन् भने चाहेर पनि नसकिने रहेछ।

सफलता भन्ने कुरा आफूले मात्रै चाहेर पनि हुँदैन, सम्बन्धित अंग र निकायहरूले कति तदारुकता देखाए भन्नेमा भर पर्छ।

पहिलो कार्यकाल संविधानका संरचनागत कुराहरूमै बित्यो। दोस्रो पक्ष–विपक्षमा विभाजन भयो। आर्थिक–सामाजिक क्षेत्रमा साझा दृष्टिकोण बनाएर जानुपर्छ भन्दा विभाजन भयो र नयाँ गठबन्धन बनेको छ। मैले सुरुदेखि नै आर्थिक सवाल उठाउँदै आएकी छु। खुट्टाले टेकेर उभिनुपर्ने, टाउकाले टेकेर हिँड्दा हुन्छ त? खुट्टाले नै टेकौं। खुट्टाले टेकाउने मेरो प्रयास छ। तर, ठूलो हात्तीलाई सानो लगामले नसक्ला। सिंहदरबारमा हात्ती धेरै छन्। तपाईं (पत्रकार) हरू पनि हात्ती हो। जे–जे लेख्न चाहनुहुन्छ। म झगडा लगाउने, यताको कुरा उता गर्न रूचि राख्ने मान्छे होइन।

म महिला आन्दोलनबाट आएँ। एकातिर एक्टिभिस्ट, अर्कातिर राज्यको बेग्लै जिम्मेवारी। वातावरण मन्त्री भएँ, रक्षामन्त्री भएँ। फाइनल चरणमा यो खालको भूमिका भयो। सामान्य जनताकी छोरीले यो भूमिका पाउँदा गौरव नै लागेको छ।

मान्छेले अरूलाई ढाँट्न सक्छ, आफूलाई ढाँट्न सक्दैन। अन्तरआत्मालाई नै साक्षी राखेर भन्दा इन्टेसन नै त्यस्तो देखियो भने अरूले भने हुन्छ, तर मैले देशलाई राम्रो बनाउने नै सोचें। हिजो सांसद, मन्त्री हुँदा पार्टीको नीतिको हिसाबले केही गरियो भने त्यो बेग्लै कुरा हो, तर राम्रो गरियो भन्ने लाग्छ। यो तपाईंहरूले भन्ने कुरा हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .