दुई सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच एकताका लागि संयोजन समिति बनाउने तयारी थालिएको छ।
उक्त कुराको खुलासा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारहरुमाझ गरेका हुन्।
प्रचण्डले नौ वर्षपछि माओवादीकै चुनाव चिह्नबाट लड्न तयार डा. बाबुराम भट्टराईसँग पनि एकता तयारी भइरहेको उल्लेख गरे।
'बाबुरामजी र म अब एक ठाउँमा उभियौँ। यसको ठूलो राजनीतिक अर्थ रहेको छ', उनले भने, 'हामी अब माधव नेपालहरुसँग पार्टी एकताको तयारीमा छौँ। त्यसका लागि हामीले एकता संयोजन समिति बनाउँदैछौँ।'
उनले माधव नेपालहरुसँग एकताका लागि नामबारेमा छलफल भइरहेको पनि खुलाएका छन्।
प्रचण्डले पार्टीको नामबारेमा पनि अहिलेबाटै छलफल भइरहेको बताउँदै एकता भने चुनावपछि मात्रै हुने खुलाएका छन्।
'नयाँ पार्टीको नाम त नेपाल कम्युनिष्ट पार्टी नै हुन्छ', दाहालले भने, 'त्यसमा हामी सहमतिमा समाजवादी पनि थप्न सक्छौँ वा त्यस्तै केही हुन सक्छ। तर नेकपामा भने हाम्रो सहमति भइसकेको छ।'
दाहालले आगामी चुनावका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गराइसकेपछि एक भएर अघि बढ्नेबारे बाबुरामहरूसँग पनि गम्भीर रुपमा छलफल गरेको बताए।
'भविष्यसम्म हामी मिलेरै जानुपर्छ भन्ने भएका छौँ', उनले भने, 'अब मिलेर जानुको विकल्प छैन।'
Shares

प्रतिक्रिया