ad ad

राजनीति


प्रचण्डविरुद्ध उठ्लान् त बादल?

बादल कमरेड निर्वाचनमा भाग लिनैपर्छ भन्ने सोचमा देखिनुहुन्न : मणि थापा
प्रचण्डविरुद्ध उठ्लान् त बादल?

रुपक चौलागाईं
भदौ ५, २०७९ आइतबार ११:४१, काठमाडौँ

आम निर्वाचनमा चर्चाको केन्द्रमा हुनेमध्येको एक जिल्ला हो, चितवन। 

यहाँ प्रतिनिधिसभाका ३ वटा निर्वाचन क्षेत्र छन्। ०७४ को निर्वाचनमा चितवनका ३ वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए। 

क्षेत्र नम्बर १ बाट एमालेका सुरेन्द्रप्रसाद पाण्डे, क्षेत्र नम्बर २ बाट एमालेकै कृष्णभक्त पोखरेल र क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदको यात्रा तय गरेका थिए। 

यसपटक पनि चितवन गृहजिल्ला भएका दुई ‘हेभिवेट’ नेताका कारण चितवन चर्चा र चासोको केन्द्रमा पर्ने भएको छ।

माओवादी अध्यक्ष प्रचण्ड र उनका सहपाठी समेत रहेका पूर्वमाओवादी नेता रामबहादुर थापा बादलबीच चुनावी भिडन्त हुनसक्ने चर्चा राजनीतिक वृत्तमा हुन थालेको छ। प्रचण्ड चितवन–३ र बादल चितवन–२ का मतदाता हुन्। 

प्रचण्डसँग होला भिडन्त? 
दुवै नेता जनयुद्धको पृष्ठभूमिबाट स्थापित भएका हुन्। निर्वाचनको सरगर्मी बढ्दै जाँदा एमाले अध्यक्ष ओलीले प्रचण्डकै क्षेत्रबाट बादललाई उठाउने तयारी रहेको हल्ला चलिरहेको छ।

प्रचण्डले आफू यसपटक चितवन–३ बाटै निर्वाचन लड्ने प्रस्ट पारिसकेका छन्। 

गत २४ साउनमा जापान भ्रमणमा रहेका बेला प्रचण्डले आफू चितवन–३ बाट निर्वाचन लड्नेमा कुनै द्विविधा नभएको बताएका थिए।

‘म अन्तबाट होइन। अहिले चितवनबाटै चुनाव लड्छु,’ प्रचण्डले भनेका छन्, ‘चितवनको पनि क्षेत्र नम्बर ३ बाटै चुनाव लड्छु, क्लियर हुनुहोला।’

त्यसो त बादलले पनि ‘प्रचण्ड भर्सेस बादल’ हुनसक्ने सार्वजनिक अभिव्यक्ति यसअघि नै दिइसकेका छन्। गत ८ असोजमा चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा बादलले सो कुरा बताएका थिए। 

‘चितवनमा प्रचण्डविरुद्ध बादल चुनाव लड्न तयार छ,’ उनले भनेका थिए। 

फरक क्षेत्रका मतदाता भएपनि बादललाई एमाले अध्यक्ष ओलीले प्रचण्ड उठेकै क्षेत्रबाट उठाउने तयारी गरेको एमाले नेताहरु बताउँछन्। 

एमाले पदाधिकारीको सूचीमा समेत रहेका बादललाई यो पटक प्रचण्डसँग भिडाउने वा नभिडाउने भन्नेबारे एमालेपंक्तिमा चर्चा समेत सुरु भएको छ। 

‘उहाँले यसअघि चितवनमा प्रचण्डसँगै लड्न पनि सक्छु भनेर भनिसक्नुभएको छ,’ एमालेका एक नेताले भने, ‘अध्यक्षले पनि सोही चाहना राख्नुभएको हामीले बुझेका छौँ।’

तर, बादलसँगै माओवादी छाडेका नेता मणि थापा भने अहिलेसम्म यो विषयमा केही निर्णय नभएको बताउँछन्। 

‘बादल कमरेड निर्वाचनमा भाग लिनैपर्छ भन्ने सोचमा देखिनुहुन्न,’ थापाले नेपालखबरसँग भने, ‘पार्टीले निर्णय गरेर त्यहीँबाट उठ्नपर्छ भन्यो भने उहाँ पछि हट्नुहुन्न।’

पार्टी पदाधिकारी समेत भएकाले चुनावबाट पछि हट्न नहुने थापाको भनाइ छ।

चुनावी जोडघटाउ
०७४ को निर्वाचनमा ३ नम्बर क्षेत्रमा प्रचण्ड झण्डै १० हजार मत अन्तरसहित विजयी भएका थिए।

प्रचण्डले ४८ हजार २ सय ७६ मत ल्याएका थिए भने राप्रपाका उम्मेदवार विक्रम पाण्डेले ३८ हजार ९ सय ३५ मत प्राप्त गरेका थिए।

हुन त एमालेले सत्ता गठबन्धनसँग एक्लै लड्ने दाबी गरिरहेको छ। तर, ‘हेभिवेट’ नेताहरुलाई हराउन एमालेले राप्रपा लगायतका साना दलसँग चुनावमा सहकार्य गर्न सक्छ। राजेन्द्र लिङ्देनलाई झापामा र विक्रम पाण्डेलाई चितवनमा एमालेले साथ लिनसक्छ। 

एमाले चितवन ३ मा राप्रपाको साथ लिएर अघि बढ्नसक्छ। राप्रपाले अहिलेसम्म यो निर्णय गरेको त छैन। तर, केही दिनअघि मात्र एमाले अध्यक्ष ओलीले बालकोटमै बोलाएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग चुनावी तालमेल लगायतका विषयमा छलफल गरेका थिए।

गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको निर्वाचनमा एमाले र राप्रपाले तालमेल गरेका थिए।

तर, तालमेल अनुसार मत नखसेपछि यी दुवै दलले एक अर्कालाई शंकाको घेरामा राखेका छन्। 

चर्को आलोचना
अहिले प्रचण्ड र बादलबीच पानी बाराबारको सम्बन्ध छ। एमाले र माओवादी एकताको प्रमुख सूत्रधार समेत थिए, बादल। त्यसैले बादलकै नेतृत्वमा प्रचण्डले माओवादी सरकारमा गएको थियो।

राष्ट्रियसभा सदस्य मनोनित गरेर प्रचण्डकै प्रस्तावमा बादललाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको थियो। तर, नेकपा विभाजनसँगै बादलले प्रचण्डको साथ छाडे।

त्यसयता उनीहरुबीच सार्वजनिक कार्यक्रममा चर्को कटाक्ष हुने गरेको छ। 

त्यतिबेला एमालेको सभामा बोल्दै बादलले प्रचण्डलाई चिडियाखानमा राख्नु पर्ने अभिव्यक्ति दिएका थिए। बादलको उक्त अभिव्यक्ति पछि आक्रोशित भएका प्रचण्डले बादललाई खराब दिमाग भन्दै आलोचना गरेका थिए।

त्यतिबेला देशको गृह प्रशासनको बागडोर बादलले नै सम्हालिरहेका थिए। 

प्रचण्ड–बादल सम्बन्ध
प्रचण्ड र बादल सानैदेखिका दौँतरी हुन्। 

सहपाठी समेत रहेका उनीहरु लामो समय एउटै विचारधारा बोकेर राजनीतिमा होमिएका थिए। ०५२ मा सशस्त्र जनयुद्धको सुरुवात गर्दैगर्दा प्रचण्ड र बादल सँगै थिए। 

बादललाई प्रचण्डकै प्रस्तावमा माओवादी नेता अमिक शेरचनले पार्टी सदस्यता दिएका थिए। 

जनयुद्ध सुरु हुनासाथ बादललाई रोल्पा, रुकुमसहित पश्चिम क्षेत्रको जिम्मेवारी दिइएको थियो। माओवादीको आधारभूमि रोल्पा, रुकुममा राम्रो संगठन बनाउँदै चलाएको सिस्ने–जलजला अभियानले उनलाई निकै चर्चित बनाएको माओवादी नेताहरु बताउँछन्।

त्यही क्रममा ०५३ सालमा बादल पार्टीभित्रै कारबाहीमा परे। नैतिक पतन भएको भन्दै पार्टीबाट आरोपित भएपछि बादल कारबाहीमा परेका थिए। उनलाई पार्टीले ‘लिन प्याओवादी’ को आरोप समेत लगायो। लिन प्याओ चिनियाँ कम्युनिस्ट पार्टीका षडयन्त्रकारी नेताका रुपमा चिनिन्छन्। 

बादलमाथि लगाइएको आरोप ०५५ सालमा फुकुवा भयो। चुनवाङ बैठकसम्म आइपुग्दा यी दुई नेताको सम्बन्ध एकले अर्कालाई सम्झेर ‘धुरुधुरु’ रुने अवस्थासम्म पुग्यो। चुनवाङ बैठकमा रुँदै बादलले भनेका थिए, ‘के म लिन प्याओ हो त? इतिहासले यो जवाफ दिनुपर्छ।’

‘हामी सिद्दिने छौँ, तर कहिल्यै झुक्ने छैनौं,’ बादलले भनेका थिए, ‘मैले अध्यक्षलाई भन्ने गरेको थिएँ, म शिखर होइन आधार हुँ कमरेड! म जग हुँ।’

प्रचण्डको अपेक्षामा अधिकतम रुपमा खरो उभिने संकल्प समेत सोही बैठकमा बादलले गरेका थिए। 

०६९ सम्म आइपुग्दा तत्कालीन माओवादी विभाजनको तहसम्म पुग्यो। मोहन वैद्यको नेतृत्वमा पार्टी विभाजन भयो, पार्टी विभाजनको समयमा बादल प्रचण्डसँगै रहने धेरैको अनुमान थियो। तर, उनी वैद्यतिर लागे।

०६४ को निर्वाचनमा चितवनबाटै निर्वाचित भएका बादल ०७० को निर्वाचन बहिष्कार गरे। 

मोहन वैद्य नेतृत्वको पार्टीको महासचिव बने बादल। वैद्यसँग पनि उनको यात्रा लामो समयसम्म टिक्न सकेन। उनी फेरि एक समूहसहित प्रचण्ड नेतृत्वकै पार्टीमा फर्किए। प्रचण्डले उनलाई फेरि आफूपछिको दोस्रो नेता बनाएर अघि बढाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .