ad ad

राजनीति


बाको मुख हेर्ने दिन ओलीको सम्बोधन : पकेटमारदेखि होसियार! एक बुथ सय युथ

‘टिकटकको लहर चल्छ, फेसबुकमा पार्टीविरुद्ध लेख्नेको धतुरो झारिन्छ’
बाको मुख हेर्ने दिन ओलीको सम्बोधन : पकेटमारदेखि होसियार! एक बुथ सय युथ

नेपालखबर
भदौ १३, २०७९ सोमबार ११:४३, काठमाडौँ

नेकपा एमालेले चुनावी रणनीति तयार पार्न शुक्रबार र शनिबार दुई दिन ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयका केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । बैठकको अन्तिम दिन अध्यक्ष केपी शर्मा ओलीले समापन मन्तव्य व्यक्त गरे । मन्तव्यका क्रममा उनले आगामी चुनावी रणनीति र घोषणापत्रमा समेटिने विषयबारे प्रष्ट पारे ।

अध्यक्ष ओलीले बैठकमा व्यक्त गरेको सम्वोधनको नोट नेपालखबरले फेला पारेको छ । सम्वोधनका क्रममा ओलीले घोषणापत्रमा कस्ता विषय समेट्ने, सामाजिक सञ्जाललाई कसरी लिने, चुनावमा कसरी जाने लगायतका रणनीतिक विषयमा प्रष्ट पारेका छन् ।

शुक्रबारको बैठकमा अध्यक्ष ओलीले १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदनमाथि ९ वटा समूह बनाएर छलफल गरिएको थियो । शनिबारको बैठकमा समूहका नेताहरुले सुझाव प्रस्तुत गरेका थिए । सबैको सुझाव आइसकेपछि बैठकको अन्तिममा ओलीले सम्वोधन गरेका थिए ।

बैठकमा ओलीले घनश्याम भुसाललाई व्यंग्य गर्दै भने, ‘प्रतिवेदन केन्द्रीय कमिटीको बैठकमा दिएर पढ्न नभ्याउने पहिला प्रतिवेदन दियो भने मिडियातिर आउने डर छ ।’

एमाले अध्यक्ष ओलीको सम्वोधनमा समेटिएका केही भनाइ यहाँ टिपोटका रुपमा प्रस्तुत गरिएको छ–

केन्द्रीय कमिटीका कमरेडहरु, हामीले बैठकको महत्वपूर्ण भाग समेट्दै, टुंग्याउँदै ल्याएका छौँ । आज कुसे औँसी, हाम्रा अग्रजहरुले अनेक प्रचलन चलाएका छन् । बाको मुख हेर्ने दिन पनि भनिन्छ । सबैलाई कुसे औँसीको शुभकामना ।

एमालेको बैठक भव्य हुँदैछ । समूहगत छलफल, प्रस्तुति एकदम राम्रो भयो । सबै कमरेडहरुलाई धन्यवाद । कमरेडहरुको रचनात्मक सुझावलाई धन्यवाद । यसले अझै राम्रो हुनेछ यो प्रतिवेदनमा कमरेडहरुले उठाएका जिज्ञासा विषयमा म थोरै व्याख्या गर्छु ।

यसपालि हामी घोषणा पत्र अलि फरक किसिमको बनाउनेछौँ । बुलेट राख्छौँ । त्यसपछि हामीले गरेका काम लेख्छौं । मनमोहन अधिकारीका बेलाका कुराहरु पनि लेख्छौं । हामीले पछिल्लो समय गरेका कामहरुबारे उल्लेख गरेर अगाडि जाने छौँ ।

संक्षिप्तमा यो गठबन्धनको भण्डाफोर गर्नेछौँ । हामी कसरी काम गर्छौं ? पारदर्शिता, जवाफदेहिता, परराष्ट्र नीतिका बारे हामी स्पष्ट बनाएर जानेछौँ । हाम्रा विभागहरुले नीतिहरु बनाएका छन्, हामी त्यसलाई समेटेर घोषणा पत्र ल्याउने छौँ । सबै विभागहरु, जनसंगठनहरु, पेसागत र भुगोलका संगठनहरुले गरेका कामहरुलाई हामी समेट्नेछौँ ।

आफ्ना ठाउँमा हुने विकासका सबै कामबारे ध्यान दिनुपर्छ । स्थानीय रुपमा विभिन्न आवश्यकता हुन्छन् । बालबालिका, शिक्षा सबै विषय समेटेर घोषणा पत्र बनाउनेछौँ ।

अहिले त टिकटकको लहर हुन्छ । फेसबुकमा स्टाटस लेख्ने, फेसबुकमा पार्टीविरुद्ध लेख्नेलाई धतुरो झार्ने, त्यसलाई निमिट्यान्न पार्ने हो । नेकपा एमालेको पक्षमा बोल्नु देशको पक्षमा बोल्नु हो । त्यसो भएर हामी अरुभन्दा फरक छौँ । प्रचार गर्ने र यसलाई सम्प्रेषण हामी गरिरहने छौँ।

चुनाबमा २ वटा कुरामा ध्यान दिनुपर्छ । एक कन्भिन्स गर्ने । दुई–समर्थकहरु बढाउने । एकजना संगठित सदस्यहरुले ५ मत संरक्षण गर्नुपर्छ । यति गरियो भने यसपालि काम लाग्छ ।

संगठन नभएको ठाउँमा पनि भोटहरु आएको र जितेको उदाहरणहरु छन् । पार्टीलाई आन्तरिक उल्झनबाट निकालेर जानुपर्छ ।

हामीले लामो–लामो र्यालीहरु देखेर हाम्रो र्यालीमा मान्छेहरु हिँड्छन् । हामीले लामो लामो मास एकपटक देखाऔं । एकपटक देखिएपछि गाराे हुन्न । यसरी जनपरिचालन गर्नुपर्छ । मान्छे जब परिचालित हुन्छ, उसको प्रतिवद्धता पनि हुन्छ ।

हरेक टोलमा संगठन, हरेक घरमा सदस्य बनाएर पार्टीले, अनेमसंघले काम गर्नुपर्ने छ । पार्टी प्रवेशको लहर चलेको छ । आमरुपमा लाग्नु पर्नेछ ।

अत्यन्त सक्रिय भएर मत वृद्धि गर्छौँ । एक बुथ एक सय युथ गरिने छ । हाम्रा लागि चुनाव महत्वपूर्ण हो । हामी न्यान्सी पेलोसी, युक्रेन युद्धको विश्लेषणतिर नलागौँ । हाम्रो महत्वपूर्ण कुरा चुनाव हो ।

हामी पञ्चशीलमा विश्वास गर्छौँ । पारस्परिक हित , एक अर्काको सार्वभौम सत्ताको सम्मान गर्दै अगाडि बढ्ने कुरामा विश्वास गर्छौँ । यस तरिकाबाट जानुपर्छ । नेकपा एमाले देशभक्त शक्ति, लोकतान्त्रिक र प्रगतिशील सबै शक्ति हरुलाई एक हुन आह्वान गर्छ । तर, हामी एकतामा नाममा कहीँ नपुग्ने ठाउँमा जान्नौं । एकताको आधार हुन्छ । यथार्थसँग मित्रता, नक्कलीसँग होसियार । पकेटमार पकेटमारजस्तो देखिन्न । चिन्निन । त्यसो भएर पाकेटमारसँग होसियार हुनुपर्छ ।

गठबन्धनका पक्षमा जसले एमालेविरुद्ध बहस गरे, तिनलाई मानपदवी दिइयो । तर, जो न्याय र विधिका विषयमा उभियो, उसलाई महाभियोग लगाइयो । यहाँ महाभियोग भ्रष्टाचारविरुद्ध लगाइएको होइन । यो वदनियतपूर्ण छ । १४÷१५ जनाको भोलिपल्ट पेसी भएका कारण महाभियोग तयार गरेर महाअभियोग गरेको हो ।

सभामुखले एमाले विरोधीहरुको पंक्तिमा उभिएर एमालेको राष्ट्रवादी, देशभक्त अडान विरुद्ध संसदीय मर्यादा विपरीत काम गरेका कुरालाई रोक्न चोलेन्द्र शमशेरलाई महाअभियोग लगाइएको हो । न्याय, सुशासन दिनका लागि लगाइएको होइन । गठबन्धनको आपराधिक मनोदशाका कारण लगाइएको छ । एकजना व्यक्ति भ्रष्टाचारी हो भनेर गरिएको कुरा कुनै सम्बन्ध छैन ।

ऋषि कट्टेलको पार्टीको नाम हुँदाहुँदै त्यही नाम अदालतले किन दिन्छ ? कहिले कहीँ अदालतले पनि राम्रो निर्णय गर्दछ । हामीले ४० वा ४० को अध्यादेश ल्याउँदा संसद छलेको देख्ने अदालत हाम्रो विरुद्ध २० को वा २० ल्याउँदा प्रक्रिया पुगेको देख्ने अदालत ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशको महाअभियोग ६ महिना घर्रामा हालेर राख्ने सभामुख आफैं षडयन्त्रमा संलग्न छन् । यो एमाले विरुद्धको षडयन्त्र हो । एमाले विरुद्धको षडयन्त्र भनेको जनता विरुद्धकै षडयन्त्र हो ।

माओवादीबाट आउनेहरुलाई मीठो शब्दमा आह्वान गरौँ भनिएको रहेछ । सबैलाई आह्वान गर्ने । यसबाट, उसबाट आउने सबैलाई आह्वान गर्ने ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .