राजनीति


केपी ओली फेरि किन प्रधानमन्त्री? एमालेले दियो पाँच कारण

केपी ओली फेरि किन प्रधानमन्त्री? एमालेले दियो पाँच कारण

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०७९ सोमबार १६:७, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्रीका रुपमा अघि सार्नुका पाँच कारण दिएको छ।

राजधानीमा भदौ १० र ११ गते बसेको चौथो केन्द्रीय कमिटीको बैठकका निर्णयबारे सोमबार काठमाडौंमा गरिएको अन्तरसंवाद कार्यक्रममा एमाले नेताहरुले ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्नुका पाँच कारण दिएका हुन्। 

एमाले प्रचार विभागले गरेको कार्यक्रममा नेताहरुले अहिलेको समकालीन राजनीतिमा ओली जस्तो उचाई बनाएको अर्को नेता नभएको तर्क गर्दै तेस्रो पटकका लागि प्रधानमन्त्रीका रुपमा अघि सारिएको जिकिर गरेका छन्। 

पत्रकारहरुसँगको अन्तरसंवादका क्रममा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ओलीको जस्तो राष्ट्रवादी र देश विकास गर्ने सक्ने छवि भएको अर्को नेता कोही पनि नरहेको दाबी गरे। 

 देशको भविष्य  बनाउन सर्वमान्य नेताको रुपमा केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारिएको बताए।

'केपी शर्मा ओलीको पालामा जति कहिले पनि विकास भएको छैन। उहाँले यसअघि देशको नेतृत्व गर्दा राष्ट्रिय स्वाभिमान बढाउने काम गर्नु भएको थियो', उनले भने, 'केपी ओली इतिहासको व्याख्याता मात्रै होइन, इतिहास निर्माता पनि हुनुहुन्छ। नेपाली कम्युनिष्ट आन्दोलनलाई एउटा दिशा दिने झापा आन्दोलनको नेतृत्वकर्ता केपी ओली हुनुहुन्छ।'

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल। तस्बिर : नेपालखबर

ओलीले नेपालको वैदेशिक सम्बन्ध बलियो बनाएको तर्क रिजालले गरे। चीन र भारत जस्ता छिमेकी देशबीचको सम्बन्धमा नेपालको हितका लागि समदूरीको सम्बन्ध बनाउन ओलीको नेतृत्व आवश्यक रहेको तर्क एमालेले गरेको छ।

त्यसैगरी नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाइराख्न, विश्व समुदायमा नेपालका उच्च तहका नेताका बीपी कोइरालापछिको हैसियतसहितको नेता भएकाले पनि ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा एमालेले अघि सारेको रिजालको तर्क थियो। 

त्यसैगरी एमालेले अन्तरसंवादका क्रममा देश विकास र समृद्धिको बाँकी सपना पूरा गर्न पनि ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सारिएको जनाएको छ। 

एमालेले राष्ट्रिय स्वाभिमानको प्रवर्द्धकका रुपमा एकमात्रै साहसी नेताका रुपमा देशको नेतृत्व गर्ने गरी ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने घोषणा गरिएको पनि उल्लेख गरेको छ। 

'केपी शर्मा ओलीको पालामा जति कहिले पनि विकास भएको छैन, यो तथ्य हो। नत्र इतिहास पल्टाएर हेरे हुन्छ', रिजालले भने,  'अध्यक्ष ओलीको संघर्ष, त्याग र समर्पणको सम्मान गर्न पनि उहाँलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छौँ। विचारविहीन गठबन्धनका कारण देशमा अनेक समस्या आएका छन्। देशको अस्तित्व रक्षाका लागि ओली नै अबको निर्वाचनपछि सरकारको नेतृत्वमा आउनु जरुरी छ।'

पत्रकारसँगको अन्तरसंवादमा रिजालले एमालेमाथि लागेका आरोप चिर्न पनि ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad