राजनीति


चोलेन्द्रको बयान : पत्रकारलाई बैठक कक्षमा राख्ने पक्षमा एमाले, कांग्रेस र माओवादी मानेनन्

चोलेन्द्रको बयान : पत्रकारलाई बैठक कक्षमा राख्ने पक्षमा एमाले, कांग्रेस र माओवादी मानेनन्

बयान दिन सिंहदरबार पुगेका जबरा। तस्बिर : उजिर कार्की/नेपालखबर


नेपालखबर
भदौ १५, २०७९ बुधबार १३:२७, काठमाडौँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग अहिले प्रतिनिधिसभाद्वारा गठित महाअभियोग सिफारिस समितिले बयान लिइरहेकको छ।

सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षको बन्द कोठाभित्र पौने १ बजेदेखि बयान थालिएको हो। 

बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक र बयान पत्रकारहरुलाई पनि राख्ने विषयमा सांसदहरुबीच गलफत्ती चलेपछि ढिलो गरी सुरु भएको हो। 

चोलेन्द्रको बयानका क्रममा प्रमुख प्रतिपक्षी नेकपा एमालेले पत्रकारहरुलाई पनि राख्दा फरक नपर्ने कुरा राखेका थिए।

तर चोलेन्द्रविरुद्ध महाअभियोग लगाएका नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले बन्द कोठाभित्र बयान लिनुपर्ने अड्डी कसेका थिए। 

समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडओ खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाएर बयान लिन थालिएको हो। 

त्यसअघि बन्द कोठाभित्र बयान लिने कि खुलामा भन्ने कुरालाई लिएर महाअभियोग सिफारिस समितिमा बहस चलेको थियो। 

जसकारण बयान लिन ढिलाइ भएको थियो। समितिका सदस्यसमेत रहेका नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले बयानलाई खुला राख्नुपर्ने अडान राखेका थिए। 

तर नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मा, नेकपा (माओवादी) का रेखा शर्मा र नेकपा (एकीकृत
समाजवादी) का कल्याणी खड्काले बन्द कोठामा बयान लिनुपर्ने अडान राखे। 

चोलेन्द्रसँग बयान लिइँदै। तस्बिर : उजिर कार्की/नेपालखबर

महाअभियोग पक्षधर सत्तारुढ दलका सांसदहरुको अडानपछि फोटो भिडिओ खिचिसकेर पत्रकारहरुलाई अहिले बाहिर निकालिएको छ।

चोलेन्द्रसँग बन्द कोठाभित्र समितिले ४३ वटा प्रश्न सोध्ने भएको छ। जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरिएको समितिले जनाएको छ। 

गत बुधवार समितिले निलम्वित प्रधानन्यायाधीश जबरालाई बयानका लागि बोलाएको थियो। बुधबार बिहान १० बजेर ५५ मिनेटमा नै आफूमाथि लागेको आरोपबारे बयान दिन जबरा सिंहदरबार पुगेका थिए।

 फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्वनमा परेका छन्। 

यो समिति गठन भएको झन्डै ६ महिनापछि यही भदौ १ गते पहिलो बैठक बसेको थियो। त्यसपछि जबरासँग बयान लिने गरी दोस्रो बैठक बसेको हो। 

महाभियोग सिफारिस समिति ११ सदस्यीय छ। जसमा एमालेबाट विष्णु पौडेल, कृष्णभक्त पोखरेल, शिवमाया तुम्बाहाङ्फे र लालबाबु पण्डित छन्। 

कांग्रेसबाट समितिमा रामबहादुर विष्ट र मीनबहादुर विश्वकर्मा, माओवादी केन्द्रबाट रेखा शर्मा र यशोदा सुवेदी गुरुङ छन्। नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह तथा लोसपाबाट एकबाल मियाँ छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .