ad ad

राजनीति


कार्यदलमा जुटेन सहमति, शीर्ष नेतालाई ब्रिफिङ

कार्यदलमा जुटेन सहमति, शीर्ष नेतालाई ब्रिफिङ

नेपालखबर
भदौ २२, २०७९ बुधबार २१:१९, काठमाडौँ

प्रतिनिधि सभा तथा प्रदेश सभाको सिट बाँडफाँटका लागि बनेको कार्यदल सहमति जुटाउन असफल भएको छ।

बुधबार अन्तिम बैठक बसि सहमति भएजति विषयमा शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी थियो।

तर, आज पनि सहमति नजुटेको कार्यदलका एक सदस्यले बताए। आजको बैठकमा पनि सहमति नजुटेपछि अब शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र उठेका विषयबारे काङ्ग्रेसले ब्रिफिङ गर्ने कार्यदलका एक सदस्यले नेपालखबरलाई जानकारी दिए। 

नेपाली कांग्रेसको तर्फबाट कार्यदल सदस्यले पार्टीका शीर्ष नेतालाई कार्यदलमा भएको प्रगतिबारे ब्रिफिङ गरेका छन्। 

बालुवाटारमा शीर्ष नेतालाई ब्रिफिङ भइरहेको कांग्रेसको ती नेताले जानकारी दिए।

अहिले सबै दलले पार्टीमा आन्तरिक छलफल गरिरहेका छन्। कार्यदल सकिए लगत्तै नेताहरूलाई कार्यदलको छलफलबारे जानकारी दिएका हुन्।

‘सिट बाँडफाँटका विषयमा आजपनि छलफल भयो, निर्वाचन क्षेत्र अनुसार कुरा गर्दा कतिपय क्षेत्रमा निर्विवाद भएपनि धेरै क्षेत्रमा सबैको दाबी रह्यो’ अर्का एक सदस्यले नेपालखबरसँग भने, ‘भोलि बिहान ९ बजे कार्यदल बसेर अन्तिम होमवर्क गर्छौं र सकभर मिलाउँछौँ। तर त्यसमा पनि सहमति नजुटे दिउँसो १ बजे शीर्ष नेताहरूको बैठकमा जानकारी दिन्छौं।’

उनले केही सिटमा दलहरूबीच कुरा नमिलेको र कांग्रेसले कहिले दाबी छोड्ने तथा कहिले अडान गरेका कारण समस्या भएको बताए।

कुन कुन निर्वाचन क्षेत्रमा सबैको दाबी भएको उनले खुलाएनन्।

जसपाका नेता तथा कार्यदल सदस्य रामसहाय प्रसाद यादवले १ सय ६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेस १०० बाट नझरेको बताए।

कांग्रेस १००, माओवादी ६०, नेकपा एकीकृत समाजवादी ४०, जसपा ३२ र राष्ट्रिय जनमोर्चा २ सिटको दाबी मै रहेको उनले बताए।

‘निर्वाचन क्षेत्र सिमित गरेर भोलि अझै सिट मिलाउँछौँ, बढी दाबीबाट तल झर्ने कोसिस हुन्छ’ यादवले नेपालखबरसँग भने, ‘नभए जति मिलेको छ त्यो स्वीकार गर्ने र बाँकी मिलाउन शीर्ष नेताहरूलाई बताउने कुरा भएको छ।’

मंगलबार मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका थिए। 

उता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने कांग्रेस ८० सिटको वरिपरि आउनसक्ने दाबी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .