ad ad

राजनीति


काठमाडौं-२ मा माधव नेपालले प्रमेशलाई उठाउन खोजेपछि कांग्रेस र समाजवादीबीच ‘ल्याङल्याङ’

काठमाडौं-२ मा माधव नेपालले प्रमेशलाई उठाउन खोजेपछि कांग्रेस र समाजवादीबीच ‘ल्याङल्याङ’

माधव नेपाल, प्रमेश हमाल र माधवी भट्ट


रुपक चौलागाईं
भदौ २५, २०७९ शनिबार १५:७, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहटबाट चुनाव लड्ने भएपछि काठमाडौं–२ मा सत्ता गठबन्धनका आकांक्षीबीच टिकटका लागि हानथाप सुरु भएको छ। 

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनबीच सिट बाँडफाँटमा कुरा मिलिसकेको छैन। ठूला नेताहरूकै क्षेत्रमा आकांक्षी थपिँदा कसरी तालमेल मिलाउने भन्ने सकस छ। 

तीमध्येको एउटा क्षेत्र हो, काठमाडौं–२।

शंखरापुर नगरपालिकाको १ देखि ९, कागेश्वरी–मनोहरा नगरपालिकाको ४ देखि ९ र काठमाडौँ महानगरपालिकाको ९ र ३२ नम्बर वडा यस क्षेत्रमा पर्छन्। 

सत्ता गठबन्धनभित्र यसअघि जितेका क्षेत्र सोही दलले पाउने मोटामोटी सहमति छ। सोहीअनुसार काठमाडौँ–२ मा एकीकृत समाजवादीले आफ्नो दाबी रहने सत्ता गठबन्धनको बैठकमा बताएको छ।

एकीकृत समाजवादीका तर्फबाट यहाँ माधव नेपालको नाम एकल सिफारिसमा परेको छ। तर, नेपालले गठबन्धनको बैठकमा काठमाडौँ क्षेत्र नम्बर २ मा उपाध्यक्ष प्रमेश हमाललाइ उठाउने प्रस्ताव गरेका छन्।

माधवले छाडेपछि कांग्रेसको दाबी
माधव नेपालले यो क्षेत्र छाडिसकेपछि यहाँ कांग्रेसका उम्मेदवारले टिकट पाउनुपर्ने दाबी गरेका छन्। 

कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले काठमाडौं क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभामा ५ जना उम्मेदवार सिफारिस गरेको छ। लोकेश ढकाल, मनिष कोइराला, कबिर शर्मा, दीपक कुँइकेल र डा. माधवी भट्ट पराजुली सिफारिसमा परेका छन्।

कांग्रेसले सिफारिस गरेका ५ जनामध्येकी माधवी भट्ट अन्यत्रको मतदातालाई यो क्षेत्रमा ल्याएर उठाउन नहुने बताउँछिन्। 

‘अघिल्लो चुनावमा जो जो उठेको छ उसलाई दिने सहमति भएको छ,’ भट्टले नेपालखबरसँग भनिन्, ‘तर माधव नेपाल आफैँ नउठ्ने भएपछि मतदातासमेत नभएको मान्छेलाई उम्मेदवार बनाउन ल्याउन हुँदैन।’

यहाँको भूगोलसँग नभिजेको र तेस्रो पक्षले फाइदा उठाउनेगरी गठबन्धनले निर्णय नगरोस् भन्ने पक्षमा आफूहरु रहेको उनले बताइन्। 

‘समाजवादीले यो क्षेत्रमा उम्मेदवार बनाउन ल्यायो भने त्यो गठबन्धनको नाममा जनताका लागि गरेको धोका हुन्छ,’ उनले भनिन्।

यसअघि पनि जितेको र शीर्ष तहको नेता पनि भएको कारणले माधव नेपाललाई भने त्यहाँ स्वीकार गर्न सकिने भट्टले बताइन्। यद्यपि, उनीबाहेकका अन्य बाहिरका उम्मेदवारलाई सो क्षेत्रबाट टिकट दिँदा गठबन्धनको माहोल बिग्रने उनको भनाइ छ।

हमाल भन्छन्– रुचि ललितपुर ३ नै हो, काठमाडौँ २ को मूल्याकंन गर्दैछु
पार्टीका उपाध्यक्ष समेत रहेका हमाल माधव नेपालका विश्वासिला पात्र हुन्। 

माओवादीसँग एकतासम्मकै प्रयासमा रहेको एकीकृत समाजवादीले ऊर्जामन्त्री पम्फा भुसालको निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाललाई सिफारिस गरेको छ।

तर, हमाललाई काठमाडौं–२ बाट चुनाव लडाउने तयारी नेपालको छ। 

‘मेरो सिफारिस चाहिँ ललितपुर ३ बाट भएको हो, अध्यक्ष नउठेपछि काठमाडौँ २ जाने हो कि भन्ने कुरा पनि भएको छ। तर, निश्चित भइसकेको छैन,’ हमालले नेपालखबरसँग भने। 

ललितपुर–३ मा ऊर्जामन्त्री समेत रहेकी माओवादी नेतृ पम्फा भुसाललाई गठबन्धनका तर्फबाट उठाइने भएपछि हमाललाई नेपालले काठमाडौं २ मा लाने तयारी नेपालले गरेका हुन्।

नेपालले आफूलाई काठमाडौँ २ बाटै उठ्नका लागि अनुरोध गरेको पनि हमालले बताए। 

‘गठबन्धनमा सल्लाह  यही भएको छ। काठमाडौं २ मै जान भनिरहेका छन्,’ हमालले भने, ‘त्यहाँको स्थिति मूल्याकंन गर्दैछु, मेरो इन्ट्रेस्ट ललितपुर ३ नै हो तर काठमाडौं २ बाट कुरा चलिरहेको छ।’

आफू सो क्षेत्रमा जाने भएपछि गठबन्धनबाट कांग्रेसले दाबी नगर्ने विश्वास रहेको हमालले बताए। 

‘म जाने हो भने गठबन्धनबाट सम्भवत कांग्रेसले दाबी नगर्ला,’ हमालले भने, ‘म आफैँले पार्टीलाई भनेको छु, आन्तरिक मूल्याकंन गरौँ, त्यसपछि निर्णय गर्छु भनेको छु।’

कांग्रेस र समाजवादीको ‘ल्याङल्याङ’
नेपालले रौतहट छाडेर आएपछि काठमाडौं–२ बाट ०७४ मा माधव नेपाल २७ हजार ३ सय ३६ मतसहित निर्वाचित भए। अहिले पनि नेपाल आफैँ चुनाव उठेको खण्डमा आफूहरुले खुलेर जिताउन सहयोग गर्ने माधवी बताउँछिन्। 

तर, कांग्रेसबाट ५ जनाको सिफारिस र दाबी रहँदारहँदै बाहिरबाट उम्मेदवार ल्याउन नहुने उनको तर्क छ। 

‘गठबन्धनमा राजनीतिक इमानदारी छैन भन्ने मेसेज त्यसले जाने भयो,’ उनले भने, ‘जुन खालको प्रावधान बनाइयो, त्यो त माधव नेपाल आफैँ उठ्दा मात्रका लागि हो।’

नेपाललाई नचाहिँदा यो क्षेत्रमा हमाललाई ल्याउनु भनेको ‘ल्याङल्याङ’ गर्न खोजेको रुपमा आफूहरुले लिएको उनले बताइन्। 

‘जनताले अपनत्व महसुस गर्ने उम्मेदवार दिनुपर्छ,’ उनले भनिन्, ‘एमालेले चाहिँ यहाँको लोकल मान्छेलाई सिंगल सिफारिस गर्ने अनि गठबन्धनले चाहिँ बाहिरबाट उम्मेदवार ल्याउने भन्ने हुँदैन।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौं–२ मा मणिराम फुयाँललाई एकल सिफारिस गरेको छ। 

सहर र गाउँको मिसिएको क्षेत्र भएकाले यहाँ जनताको भावना नबुझी उम्मेदवार बनाउन नहुने उनको तर्क छ। 

सिफारिसमा परेका ५ जना को–कस्ता?
कांग्रेसको प्रदेश कार्यसमिति बैठकबाट सिफारिसमा परेकामध्ये एक हुन लोकेश ढकाल। उनी यही क्षेत्रबाट ४ पटकसम्म चुनाव उठे। २०५३ सालको उपनिर्वाचन र २०५६ सालको आम निर्वाचनमा तत्कालीन काठमाडौं क्षेत्र नम्बर १ उनी संसदीय निर्वाचनमा सहभागी भएका थिए। 

काठमाडौं क्षेत्र नम्बर १, २, ३, ४ बाट सिफारिस हुँदा समेत २०६४ र २०७० सालको निर्वाचनमा उनले अवसर पाएका थिएनन्। २०७४ सालको निर्वाचनमा प्रदेश सभा निर्वाचनमा पनि उनी काठमाडौँ २ (क) बाट पराजित भएका थिए।

त्यस्तै, सिफारिसमा परेका अर्का उम्मेदवार दीपकप्रसाद कुँइकेल पनि ३ पटक निर्वाचन लडिसके। ०७४ को निर्वाचनमा उनी भारी मत अन्तरसहित माधव नेपालसँग पराजित भएका थिए। ०७० को उपनिर्वाचनमा भने उनले जित हात पारेका थिए। 

०७० मा माधव नेपालले दुई वटा क्षेत्रमध्ये रौतहट रोजेपछि भएको उपचुनावमा उनले जित निकालेका थिए। 

कांग्रेसको सिफारिसमा परेका अर्का नेता कबिर शर्मा कांग्रेसको १४ औं महाधिवेशनबाट क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए। ०७४ को स्थानीय चुनावमा कागेश्वरी मनोहरा नगरपालिका वडा ७ बाट शर्मा पराजित भएका थिए। १२ औँ महाधिवेशनपश्चात् युवा तथा खेलकुद समितिमा सहसंयोजक भएर काम गरेका उनी पछि संयोजकको भूमिकामा आएका थिए।

सिफारिसमध्ये एक मात्र महिला माधवी
सिफारिसमा परेका अर्की नेतृ डा. माधवी भट्ट पराजुलीको परिवार नै कांग्रेसनजिक छ। प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको दाबी कमजोर भएको चर्चा चलिरहँदा उनले आफूलाई सशक्त दाबेदार भएको बताएकी छिन्। 

पत्रकारितामा सक्रिय हुँदै सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी समेत बनेर काम गरेकी भट्ट ०७६ वैशाख १ देखि सक्रिय राजनीतिमा छिन्। ०७१ माघदेखि ०७५ माघसम्म सत्य निरुपण तथा मेलमिलाप आयोगको आयुक्तको जिम्मेवारीमा बसेर काम गरेकी थिइन्। 

उनका बुबा रोहणीदेव भट्ट पूर्वसांसद हुन्। गणेशमान, बीपी, किसुनजी लगायतका कांग्रेस नेताहरुसँग उनका बुबा नजिक थिए।

‘राजनीतिक पृष्ठभूमिबाटै हुर्किंएँ,’ उनले भनिन्, ‘१९ वर्षमा नै स्ववियु सभापतिको उम्मेदवार बनेकी थिएँ, त्यतिबेला पनि महिला उम्मेदवार उठ्ने सामान्य कुरा थिएन।’

उनले कोरियाबाट पीएचडी गरेकी छिन्। कोरियामा रहँदा उनले संगठनमा काम अघि बढाएकी थिइन्। पीएचडी सकेर पार्टीकै राजनीति गर्न नेपाल फर्किए पनि संवैधानिक आयोगमा काम गरेका कारणले पार्टीको सदस्यता खारेज गराएकी थिइन्। त्यसपछि अहिले सक्रिय राजनीतिमा रहेको उनले बताइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .