राजनीति


वडास्तरमै डेंगु संक्रमण परीक्षणको व्यवस्था मिलाऊँ : प्रकाशमान सिंह

वडास्तरमै डेंगु संक्रमण परीक्षणको व्यवस्था मिलाऊँ : प्रकाशमान सिंह

नेपालखबर
असोज ९, २०७९ आइतबार ११:४९, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वडास्तरमै डेंगु संक्रमण परीक्षणको व्यवस्था मिलाउनुपर्ने बताएका छन्। 

वडास्तरका क्लिनिकलाई सुविधा सम्पन्न बनाएर डेंगुको परीक्षण र प्रारम्भिक उपचारको व्यवस्था मिलाउनु पर्ने उनले बताए। 

आइतवार काठमाडौंको बानेश्वरस्थित रत्नराज्य स्कुलको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले सरकारले विशेष अभियान चलाएर वडामै डेंगु परीक्षण व्यवस्था मिलाउनुपर्ने बताएका हुन्। 

यसो हुँदा अस्पतालमा बिरामीको चाप पनि कम हुने उनको भनाइ छ।

जनताले राहत महसुस गर्ने गरी काम गर्नुपर्ने भन्दै उनले तत्कालै विशेष अभियान चलाउन सरकारको ध्यानाकर्षण गराए ।

फरक प्रसंगमा बोल्दै उनले मुलुकमा संकटको निकासका लागि अवसर पाउँदा नेपाली कांग्रेसले जिम्मेवारी बहन गर्दै आएको भन्दै कांग्रेसलाई अवसर दिने हो भने मात्रै राजनीतिक स्थायित्व आउने बताए। 

भ्रष्टाचार मुक्त शासन प्रणाली कांग्रेसको प्राथमिकता रहेको बताउँदै उनले अवसर पाउँदा कुन दलले के गरेको छ भनेर लेखाजोखा गर्न जनतालाई आह्वान गरे। 

स्थानीय साधन स्रोतको परिचालन र पर्यटन क्षेत्रको विकास मार्फत रोजगारीको अवसर सृजना गरी युवा वर्गमा रहेको निराशा अन्त्य गर्न अहिले कांग्रेसले मुख्य ध्यान दिएको उनले बताए। 

स्वास्थ र शिक्षामा आमूल परिवर्तनको खाँचो औंल्याउँदै उनले त्यसतर्फ ठोस कार्ययोजनाका साथ आफू अगाडि बढेकाले सबैको साथ सहयोगको अपेक्षा गरेको बताए।

कार्यक्रममा रत्नराज्य स्कुलको सुविधा सम्पन्न विज्ञान प्रयोगशाला हस्तान्तरण गरिएको थियो। 

प्रदेश पूर्वाधार साझेदारी साझेदारी कार्यक्रम अन्तर्गत बागमती प्रदेशका पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठमार्फत प्राप्त सहयोग रकमबाट विज्ञान प्रयोगशाला निर्माण गरिएको छ। 

कार्यक्रममा मन्त्री श्रेष्ठले विद्यालयको क्षमता विकासका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .