ad ad

राजनीति


कां‍ग्रेस समानुपातिक सूची : कसैलाई भागैभाग, कसैको पुर्पुरोमा हात

कां‍ग्रेस समानुपातिक सूची : कसैलाई भागैभाग, कसैको पुर्पुरोमा हात

फाइल तस्बिर


वाशुदेव मिश्र
असोज ९, २०७९ आइतबार १७:५७, पोखरा

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार पार्टीले बुझाएको प्रतिनिधिसभातर्फको बन्दसूचीको तीन नम्बरमा समेटिएका छन्। 

तीन नम्बरमा समेटिएपछि उनी आउँदो प्रतिनिधिसभा सदस्य बन्ने पक्का हुँदा प्रत्यक्ष चुनाव लड्ने आकांक्षा पूरा नहुहने भएको छ।

उनी कास्की क्षेत्र नम्बर १ का बासिन्दा हुन्। बौद्धिक युवाको छवि बनाएका उनी यो पटक प्रत्यक्ष चुनाव लड्न चाहन्थे। तर, अन्तिममा उनको नाम समानुपातिकमा समेटियो। 

पूर्वमन्त्री यज्ञबहादुर थापा, वर्तमान केन्द्रीय सदस्य गुरु बराल, कास्कीका निवर्तमान सभापति कृष्ण केसी, वर्तमान सभापति किशोरदत्त बराल, युवा नेता सुदीपमोहन भट्टराईलगायत नेताहरुसँगै जीवन पनि कास्की क्षेत्र नम्बर १ बाट प्रत्यक्षका आकांक्षी थिए।  

पहिलो संविधानसभामा कास्कीकी कृष्णकुमारी परियारले बिदा लिएपछि दोस्रो संविधानसभामा जीवन परियारले अवसर पाएका थिए। 

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका जीवन त्यो बेला केन्द्रीय सदस्य थिए। दलित आयोगको सदस्य भइसकेका परियार १२ औँ र १३ औँ महाधिवेशनमा आरक्षणतर्फबाट केन्द्रीय सदस्य बनेका थिए। 

उनै जीवन १४ औँ महाधिवेशनमा दलिततर्फकै सहमहामन्त्रीको उम्मेदवार बने। संस्थापनतर्फका मानबहादुर विश्वकर्मालाई ३७ मतले हराउँदै उनी कांग्रेसको इतिहासमै पदाधिकारीमा पुग्ने दोस्रो नेतामा दर्ज भए। 

परियारले २२ सय १२ र विश्वकर्माले २१ सय ७५ मत प्राप्त गरेका थिए। उनीहरुसँग गंगा सुनार पनि स्वतन्त्रको हैसियतमा प्रतिस्पर्धामा थिइन्। 

देवव्रत परियार कांग्रेसका संस्थापकमध्येका एक हुन् भने २००९ सालको दोस्रो महाधिवेशनबाट धनमानसिंह परियार महामन्त्री बनेका थिए। कांग्रेसबाट प्रत्यक्षतर्फ २०४८ सालमा बाँकेका कृष्णसिंह परियालेमात्रै चुनाव जितेको इतिहास छ। 

४५ हजार दलित सदस्य रहेको कांग्रेसको विधान अनुसार  केन्द्रीय समितिमा १० जना दलित सदस्य रहन्छन्।

पहिलो संविधान सभामा ११० सिट हुँदा कांग्रेसका सांसद ९ जनामात्र दलितलाई सांसद बनाएको थियो भने दोस्रोमा २०७ सिट हुँदा दलित सभासदको संख्या १२ थियो।  

विघटित प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसदमध्त्रये ६ जनामात्रै दलित थिए। कांग्रेसले मीन विश्वकर्मालाई वाणिज्य मन्त्री बनाएको थियो भने खड्गबहादुर बस्याल र मानबहादुर विश्वकर्मा राज्यमन्त्री अनि हरिशंकर परियार सहायकमन्त्रीसम्म पुगेका थिए। 

पार्टीको उच्च तहमा पुगेका जीवन मन्त्री हुन्छन् कि हुँदैनन् फरक कुरा तर उनलाई सम्भावित मन्त्री र आशालाग्दा युवाको रुपमा भने हेरिएको छ।

‘जीवन दाइ, यो क्षेत्रको सम्भावनायुक्त नेता हो, उहाँलाई प्रत्यक्ष चुनाव लडाएर कांग्रेसले नयाँ सन्देश दिनुपर्ने हो, त्यो भएन’,कास्की कांग्रेसका एक युवा नेताले भने,‘तर,उहाँलाई सरकार बनेमा भने ठाउँ दिनुपर्छ।’ 

उनले  त्यसो भने पनि जीवनलाई प्रत्यक्ष चुनाव सजिलो थिएन। जीवनले दाबी गरेको कास्की क्षेत्र नम्बर १ बाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका खगराज अधिकारी भारी मतले विजयी बनेका थिए।  

खगराजले ३९ हजार ३४२ मत ल्याउँदा कांग्रेसका यज्ञबहादुर थापाले २५ हजार ८२६ मतमात्रै ल्याएका थिए। 

१३ हजार ५१६ को मतान्तर सानो हैन। ५ दलीय गठबन्धनको प्रमुख शक्ति माओवादी केन्द्रसँगको तालमेलमा उम्मेदवार बनेका खगराज योपटक पनि सोही क्षेत्रबाट उम्मेदवारी दिँदैछन्। 

यो चुनावमा माओवादी र कांग्रेस एउटै मोर्चामा छन् तर कांग्रेसी उम्मेदवारलाई चुनाव जित्न सजिलो छैन। 

आफैंभित्रको अन्तरघातको रोग त छँदैछ,यत्तिकै पनि सो क्षेत्रमा कांग्रेस निरन्तर खस्कँदै गएको छ।  २०७० सालको संविधान सभा निर्वाचनमा भने यज्ञबहादुरले भिनो मतका साथ खगराजमाथि विजय प्राप्त गरेका थिए। 

चारपटक मन्त्री र चारपटक नै चुनाव लडेका नेता हुन्–गोपालमान श्रेष्ठ। २०४८ सालको आम निर्वाचनदेखि स्याङ्जामा एकछत्र राज गर्दै आएका गोपालमान उपप्रधानमन्त्री र कांग्रेस उपसभापति पनि बने। 

तर, चौथो चुनाव उनलाई फापेन। २०७४ सालको निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका उनी एमालेकी पद्मा अर्यालसँग भारी मतले पराजित भए। 

गोपालमानले ३१ हजार ४३६ मत ल्याउँदा पद्मा अर्यालले ३५ हजार १४२ मत प्राप्त गरिन्। पद्मासँग हारेसँगै वृद्ध गोपालमानको राजनीतिक जीवन सकिएको टिप्पणी गरियो। यद्यपि, उनले मैदान छाडेनन्।

कांग्रेस १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवार दिने भन्दै आफ्ना लामो समयका सहयात्री शेरबहादुर देउवामाथि दबाब बढाए। 

सभापतिको त्यो बार्गेनिङले काम गर्‍यो। उनी केन्द्रीय सदस्यमा मनोनित बने। त्यतिमात्र कहाँ हो र? राजनीतिमा युवालाई पालो दिनुपर्ने माग राख्दै आएका तथा आफूविरुद्धको मोर्चामा रहेका स्याङ्जाका कांग्रेसीसामु उनी समानुपातिक सांसदको सिफारिसमा परे। 


उनलाई कांग्रेसले समानुपातिकको ३१ औं नम्बरमा सिफारिस गरेको छ। गोपालमानलाई नजिकबाट चिन्नेहरु भन्छन्,‘कांग्रेसलाई लथालिङ्ग बनाए, विश्राम गर्ने बेला पनि सन्यास नलिनु भनेको पदलोलुपताबाहेक केही होइन। जित्नेजस्तो भएको भए उनले प्रत्यक्षमै मरिहत्ते गर्थे।’ 

गोपालमानलाई चुनाव हराएकी पद्मा प्रधानमन्त्री केपी ओली सरकारमा मन्त्री बनिन्। अहिले उनी एमालेको शक्तिशाली सचिव छन्। 

यस क्षेत्रबाट यो पटक पनि उनी नै उम्मेदवार बन्ने करिब तय भएको एमालेले जनाएको छ। गोपालमानले त्यो चुनावमा अन्तर्घात भएको आरोप लगाएका थिए।

अहिले कांग्रेसको समानुपातिकको सूचीको ५७ औं नम्बरमा परेका खुमाप्रसाद अर्यालले पनि चुनावको बेला गोपालमानको पक्षमा थिएनन्। 

त्यसो त स्याङ्जा क्षेत्र नम्बर १ मा पनि अघिल्लो चुनावमा कांग्रेस पराजित भएको थियो। कांग्रेसका जिल्ला सभापति राजु थापालाई एमालेका नारायणप्रसाद मरासिनीले १० हजार ५६४ मतान्तरले पराजित गरेका थिए। 

मुस्ताङका रोमी गौचन थकाली पनि अवसर पाउने नेताहरुमध्ये पर्छन्। २०७० सालको निर्वाचनमा संविधानसभा सदस्य निर्वाचित भएका थकाली प्रचण्ड नेतृत्वको सरकारमा वाणिज्यमन्त्री भएका थिए। रोमी २०७४ सालको चुनावमा एमालेका प्रेमप्रसाद तुलाचनसँग ३६३ मतले पराजित भएका थिए। 

रोमीले ३ हजार १८१ मत ल्याउँदा प्रेमले ३ हजार ५४४ मत प्राप्त गरेका थिए। मुस्ताङ कांग्रेसको सभापति रहेका उनले यो पटक प्रत्यक्ष हैन, समानुपातिक रोजे। उनीमाथि मुस्ताङ कांग्रेस कमजोर बनाएको आरोप लाग्नेगर्छ। हुन पनि,कुनै समय संगठन नै नभएको एमाले अहिले मुस्ताङमा शक्तिशाली देखिएको छ। 

नेपाली कांग्रेसको समानुपातिकको सूचीमा बागलुङ गलकोटकी निवर्तमान उपमेयर रेनुका काउचा मगर, यसअघिको स्थानीय निर्वाचनमा पोखरा महानगरकी उपमेयरकी उम्मेदवार सरस्वती गुरुङ, तीर्थकुमारी गुरुङ,स्याङ्जा वालिङकी सरस्वती अर्याल तिवारीको नाम पनि समावेश छ। 

सरस्वती कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी देउवा प्यानलमै क्रियाशिल छन्। तर जनस्तरमा उनको खासै प्रभाव नभएको स्थानीय नेताहरु बताउँछन्।  रेनुका विद्यार्थी राजनीतिबाट उदाएकी नेता हुन्। कानूनसमेत पढेकी रेनुका कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको दावेदार थिइन्। 

तर, गुट मिलाउँदा उनी उम्मेदारीबाट पछि हटिन्। गएको चुनावमा गलकोटको मेयर ताक्दा पनि उनलाई सफलता मिलेन। उनको जन्मस्थल बागलुङ क्षेत्र नम्बर २ मा पर्छ। यसअघि सो क्षेत्रबाट माओवादीका देवेन्द्र पौडेल निर्वाचित भएका थिए। 

देवेन्द्रले २८ हजार ८२७ मत ल्याउँदा कांग्रेसका नरबहादुर पुनले १९ हजार ९०५ मत ल्याएका थिए। सो क्षेत्रबाट यो पटक पनि देवेन्द्र नै उम्मेवार बन्ने सम्भावना छ। 

उता बागलुङ क्षेत्र नम्बर १ मा भने गठबन्धनको तर्फबाट जनमोर्चाका चित्रबहादुर केसी प्रत्यक्षमा लड्ने तयारी गरिरहेका छन्।

बागलुङबाट रेनुका समानुपातिकको सूचीमा समावेश हुँदा यसअघि क्षेत्र नम्बर १ बाट विजयी तथा पछिल्लो चुनावमा पराजित चम्पा खड्काको नाम समावेश गरिएको छैन। गोविन्द भट्टराई समानुपातिकको अर्को चर्चित नाम हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .