ad ad

राजनीति


यी हुन् बागमतीका ३३ क्षेत्रमा एमालेका उम्मेदवार, तीन दिनभित्रै टुंग्याउने तयारी

यी हुन् बागमतीका ३३ क्षेत्रमा एमालेका उम्मेदवार, तीन दिनभित्रै टुंग्याउने तयारी

राजन भट्टराई काठमाडौं, गोकुल बास्कोटा काभ्रे र देवी ज्ञवाली चितवनबाट उम्मेदवार बन्नेछन्


सागर न्यौपाने
असोज १०, २०७९ सोमबार ६:२९, काठमाडौँ

नेकपा एमालेले प्रतिनिधि सभा अन्तर्गत बागमती प्रदेशमा पुराना र नयाँ नेतालाई उम्मेदवार बनाउने भएको छ। 

बागमतीमा ३३ निर्वाचन क्षेत्र छन्। जसका लागि उम्मेदवार चयन अन्तिम चरणमा पुर्याएको एमाले बागमती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डेले नेपालखबरलाई जानकारी दिए।

जसमा केही क्षेत्रमा नयाँले अवसर पाउनेछन्। 

उनका अनुसार २०७४ को प्रदेश सभा चुनाव जितेकाहरु मंसिर ४ गते तय भएको प्रतिनिधि सभाका लागि उम्मेदवार बन्नेछन्। 

ललितपुर १ मा नवराज सिलवाल, भक्तपुर २ मा महेश बस्नेत, काभ्रे २ मा गोकुल बास्कोटा, काठमाडौ ३ कृष्णकुमार राई, ४ मा राजन भट्टराई र ५ मा ईश्वर पोखरेल उम्मेदवार बन्ने निश्चित छ।

यस्तै काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठ नै दोहोरिने सम्भावना छ। सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा शेरबहादुर तामाङ दोहोरिने पक्का छ। 

२०७४ मा भट्टराईबाहेक सबै उम्मेदवारले प्रतिनिधि सभा चुनाव जितेका थिए। भट्टराई कांग्रेसका गगन थापासँग पराजित भएका थिए। यसपटकको चुनावको उम्मेदवार बन्न उनीहरु सबैको नाम एकल सिफारिस भएको पाण्डेले बताए।

उता रसुवामा जनार्दन ढकाललाई एकल सिफारिसमा उद्धब रिजाल बाधक बनेका छन्। माओवादी छाडेर एमालेमा प्रवेश गरेका रिजालको नाम पहिलो र ढकालको नाम दोस्रो नम्बरमा राखेर एमालेले सिफारिस गरेको छ। 

बागमती प्रदेशमा १३ जिल्ला छन्।

२०७४ को चुनावमा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन थियो। चितवन ३, ललितपुर ३, नुवाकोट १, काभ्रे १, सिन्धुपाल्चोक १, रामेछाप र सिन्धुली २ माओवादीले जित्यो।

त्यसबाहेक एमालेले बागमती प्रदेशको प्रतिनिधि सभा तर्फ २० क्षेत्र जितेको थियो।

त्यसबेला एमालेबाट निर्वाचितमध्ये काठमाडौं २ बाट माधवकुमार नेपाल, ८ बाट जीवनराम श्रेष्ठ, ललितपुर २ बाट कृष्णलाल महर्जन, मकवानपुर २ बाट निर्वाचत सांसद विरोध खतिवडा नेकपा एकीकृत समाजवादी पार्टीमा छन्।

अबको ५६ दिनपछि हुने चुनावको उम्मेदवार चयनमा एमालेले धेरै विश्लेषण गरेको जनाएको छ।

पार्टी विभाजनमात्र होइन, एमालेविरुद्ध पाँच दलीय गठबन्धन बनेको छ। 

यी सबै कुराको विश्लेषण गरेको एमालेले ललितपुर २, चितवन २, मकवानपुर १ र २, नुवाकोट २ काठमाडौं २, ८ मा प्रभावपार्न सक्ने नेतालाई उम्मेदवार बनाउँदैछ।

त्यसबाहेक माओवादीले २०७४ मा जितेका स्थानमा एमालेले यसपटक उम्मेदवार चयनमा सजगता अपनाउने जनाएको छ।

चितवन २ मा देवी ज्ञवाली र कृष्णभक्त पोखरेलको नाम सिफारिस भएको छ।

ज्ञवालीले टिकट पाउने सम्भावना रहेको नेताहरु बताउँछन्। उनी स्थायी समिति सदस्य पनि हुन्।

त्यसबाहेक अध्यक्ष केपी शर्मा ओलीको सबैभन्दा विश्वासिला मध्येमा पर्छन् ज्ञवाली।

‘अध्यक्षलाई सहयोग गरेको, माथिल्लो कमिटीमा हुनुभएकोले ज्ञवाली जीकै सम्भावना छ,’ एमाले बागमती प्रदेश कमिटीका एक उच्च पदाधिकारीले नेपालखबरसँग भने, ‘अन्तिममा अध्यक्ष आँफैले छान्ने भएकोले दुवैको चान्सपनि देखिन्छ।’

चितवन १ मा सुरेन्द्र पाण्डेले २०७४ को चुनाव जितेका हुन्। तर, यसपटक पाण्डेसँगै जगन्नाथ थपलियाको पनि नाम सिफारिस भएको छ।

एमालेको उपाध्यक्ष समेत रहेकाले पाण्डे नै उम्मेदवार बन्ने आधार बढी छ। तर, अध्यक्ष ओलीले निर्णय गर्ने भएकोले यसै भन्न नसकिने नेताहरु बताउँछन्।

चितवन ३ मा यसपटक एमालेले अध्यक्ष रामप्रसाद न्यौपानेको नाम सिफारिस गरेको छ।

तर, राप्रपासँग चुनावी तालमेल हुँदा सो क्षेत्र विक्रम पाण्डेलाई दिन सक्ने एमालेका नेताहरुले बताए।

ललितपुर २ मा प्रेमभक्त महर्जनको सम्भावना बढी छ। यस्तै ३ मा अमृत खड्का, बाबुराम थापा र केशव आचार्यको नाम सिफारिस भएपनि खड्का बलिया दाबेदार छन्।

काठमाडौं २ मा मणिराम फुयाल उठ्ने निश्चित छ।

काभ्रे १ मा चन्द्र लामाको सम्भावना बढी छ। त्यहाँबाट नवीना लामाको नाम पनि सिफारिस भएको छ।

सिन्धुपाल्चोक १ मा अरुण नेपाल उठ्ने सम्भावना बढी छ। उनी २०७४ मा सो क्षेत्रबाट प्रदेश सभा सदस्य जितेका थिए।

माओवादीबाट अग्नि सापकोटाले निरन्तर जितेको सो क्षेत्रमा यसपाली एमालेबाट सरेश नेपालको नाम पनि सिफारिस भएको छ।

दोलखामा यसअघि जितेकै पार्वत गुरुङ, आनन्द पोखरेलको नाम सिफारिस भएको छ। यी दुवै ओलीका विश्वासपात्र हुन्। त्यहाँको निर्णय गर्न एमालेलाई हम्मे परेको छ।

रामेछापमा कैलास ढुङ्गेलको सम्भावना बढी छ। यसअघि उनी बागमती प्रदेश सभा सदस्य थिए। अर्थमन्त्री पनि भएका थिए।

यस्तै सिन्धुली १ मा गणेश पहाडिले जितेका थिए। अहिले प्रदीप कटुवाल र सुवास देवकोटाको नाम सिफारिस भएको छ।

सिन्धुली २ मा भने मनोजजंग थापा र कौसल कोइरालाको नाम सिफारिस भएको छ। 

धादिङ १ मा भूमि त्रिपाठीले नै टिकट पाउने निश्चित भएको नेताहरु दाबी गर्छन्। 

तर, पुष्प कँडेल, मीनराज कँडेल र उर्मिला रेग्मीको पनि नाम सिफारिस भएको छ।

मकवानपुर १ मा कृष्णप्रसाद दाहाल र रामेश्वर रानाको नाम सिफारिस भएको छ।

२ मा सुवासचन्द्र ठकुरी र महेश गर्तौलाको नाम सिफारिस छ। यसमध्ये ठकुरी बलिया दाबेदार हुन्। 

नुवाकोट १ मा बद्री मैनाली उम्मेदवार बन्ने लगभग टुंगो लागेको छ।

२ मा यसअघि निर्वाचित नारायणप्रसाद खतिवडा, केशवप्रसाद पाण्डेसहित पाँच जनाको नाम सिफारिस भएको छ।

पाण्डे यसअघि प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।

उम्मेदवारका लागि एमालेले जिल्लातहबाट सिफारिस मागेको थियो।

जिल्लाले प्रदेश हुँदै केन्द्रमा पठाएको उम्मेदवारको नाममाथि अहिले छलफल चलिरहेको बागमतमी प्रदेश कमिटी अध्यक्ष पाण्डेले जानकारी दिए। उनका अनुसार अबको बढीमा एक हप्ताभित्र उम्मेदवार टुंगो लगाउने तयारी छ।

‘हामी अबको तीनदिनभित्र उम्मेदवार टुंगो लगाउँछौं,’ अध्यक्ष पाण्डेले नेपालखबरसँग भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .