ad ad

राजनीति


कांग्रेसको आरोप : नागरिकता विधेयक रोकेर राष्ट्रपतिले लोकतन्त्रमै प्रहार गरिन्

कांग्रेसको आरोप : नागरिकता विधेयक रोकेर राष्ट्रपतिले लोकतन्त्रमै प्रहार गरिन्

फाइल तस्बिर


नेपालखबर
असोज ११, २०७९ मंगलबार १७:१२, काठमाडौँ

नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य–मान्यतामा गम्भीर प्रहार गरेको आरोप लगाएको छ।

केन्द्रीय कार्यालय सानेपामा मंगलबार कांग्रेसले पत्रकार सम्मेलन गरेर राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य–मान्यतामा गम्भीर प्रहार गरेको आरोप लगाएको हो। 

संसदको दुवै सदनबाट दुई–दुई पटक पारित भएको नागरिकता विधेयक संविधानमा उल्लेखित समयावधिमा प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीबाट संविधानको उल्लंघन भएको कांग्रेसको ठहर छ। 

‘राष्ट्रपतिको यो कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तान नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएका छन्,’ पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य–मान्यतामा गम्भीर प्रहार भएको छ।’

प्रवक्ता महतले नागरिकता विधेयक प्रमाणीकरण नगरेर निर्वाचनको मुखमा यसलाई राजनीतिक रङ्ग दिने कोशिस भएको आरोप लगाए।उनले यसबारे निर्वाचनको बेलामा बहसको विषय बन्ने बताएका छन्। 

‘नागरिकता विधेयक सम्बन्धी विषय छ, यो विषय नयाँ विषय होइन, ओलीजीको पालामा पनि त्यो अध्यादेशमार्फत राष्ट्रपतिजीले त्यसलाई तत्काल नै स्वीकृत गरेको थियो। अदालतले त्यसबेलामा संसदबाट नै छलफल गरेर यसलाई टुंगो लगाउनुपर्छ भनेर त्यसबेलामा त्यो लागू नभएको हो। नेपाली काँग्रेसको नेतृत्वमा सरकार आएपछि यो प्रक्रियालाई हामीले संसदमा अघि बढायौँ। एकपटक मात्रै नभइ दुईपटकसम्म संसदले पारित गरेर राष्ट्रपतिसम्म पुर्‍याउँदा पनि त्यसलाई हस्ताक्षर गरेर नफर्काउनु यो दुर्भाग्यपूर्ण छ', उनले भने, 'यो संविधानको ठाडो उल्लंघन भएको हाम्रो निस्कर्ष छ। जुन बाउआमाले नेपालको संविधानअनुसार नागरिकता प्राप्त गरिसके उनीहरुको छोराछोरी उमेर पुगेपछि संविधानकै व्यवस्था अनुसार नागरिकता प्राप्त गर्ने मौलिक अधिकार हो। त्यसकारण नागरिकता विधेयकलाई तत्त्काल हस्ताक्षर गर्नुपर्नेमा नगरेकोमा ठाडो संविधानको उल्लंघन भएको हामीले महशुस गरेका छौँ। निर्वाचनको मुखमा यसलाई राजनीतिक रङ्ग दिने कोशिस भएको छ। नेपाली जनतामा भ्रमको खेती गर्ने कोशिस भएको छ। यो निर्वाचनको बेलामा वहसको विषय हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .