ad ad

राजनीति


कांग्रेसको भाग खोस्छन् भने प्रचण्डविरुद्ध लड्न चितवन जान्छौँ : गुरु घिमिरे

कांग्रेसको भाग खोस्छन् भने प्रचण्डविरुद्ध लड्न चितवन जान्छौँ : गुरु घिमिरे

फाइल तस्बिर


नेपालखबर
असोज ११, २०७९ मंगलबार १७:५३, काठमाडौँ

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले चुनावी गठबन्धनका नाममा नेकपा माओवादी केन्द्रले आफूहरुको भाग खोसेको बताएका छन्। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकाहरुसँगको कुराकानीका क्रममा घिमिरेले माओवादी अध्यक्ष प्रचण्डलाई आफूहरुको भाग खोस्न खोजे उनैविरुद्ध चुनाव लड्ने चेतावनी दिएका हुन्। 

उनले आफू मोरङ क्षेत्र नम्बर ४ बाट उठ्न तयार भएको अवस्थामा गठबन्धनको भागवण्डका नाममा त्यहाँ माओवादीलाई दिने कांग्रेस नेतृत्वको निर्णयमा कडा आपत्ति जनाउँदै अब प्रचण्डविरुद्ध चितवनमा चुनाव लड्न जाने चेतावनी दिए। 

'मोरङ क्षेत्र नम्बर ४ मा पहिलेदेखि नै कांग्रेसको वर्चस्व छ। यो पटक त्यस क्षेत्रबाट मैले उठ्ने आकांक्षा राखेको छु। जुन कुरा मैले पार्टी नेतृत्वलाई पनि भनेको छु', उनले भने, 'तर,  मोरङ ४  बाँडफाँटका नाममा माओवादी दिने सहमति भएको सुनेँ। यदि माओवादीले कांग्रेसको भाग खोस्ने हो भने प्रचण्डविरुद्ध लड्न चितवन किन नजाने? उहाँले गठबन्धनका नाममा हाम्रो भाग खोसिरहने हो भने हामी पनि उहाँसँग भिड्न चितवन जान तयार छौँ।'

पार्टीभित्रको एकतालाई बचाइराख्ने हो भने २०६४ सालमा सभापति शेरबहादुर देउवाले एकता हुँदा अपनाएको फर्मुला नभुल्न पनि आग्रह गरे। 

'गठबन्धनको मुख्य घटक हो माओवादी र हामीबीच सिट बाँडफाँट गर्दा कांग्रेसभित्रका साथीहरुलाई अन्याय भएको 
छ', उनले भने, 'तपाईंहरुले चितवनलाई रोज्नुको कारण के हो भनेर सोधिरहनु भएको छ। खासमा सिट बाँडफाँटको आधारमा हाम्रा साथीहरुलाई अन्याय भएको छ। अन्यायविरुद्ध न्यायका लागि माओवादी अध्यक्षविरुद्ध नै हामीले किन नलड्ने?'

घिमिरेले अहिले आफूहरु विनम्र भएर आन्दोलित भएको पनि बताए। तर नेतृत्व नसच्चिए विद्रोह धेरै टाढा नरहेको पनि उनले चेतावनी दिए। 

समानुपातिकतर्फको बन्दसूचीमा व्यापक अन्याय भएको बताउँदै घिमिरेले यदि नेतृत्वले त्यसलाई नसुधारे देशभर विद्रोह हुने चेतावनी पनि दिएका छन्। 

'हामी अहिले विनम्र भएर आग्रह गरिरहेका छौँ। तर यो चरण अब विद्रोहसम्म पनि पुग्छ', उनले भने, 'अब हामी असोज १६ सम्म पर्खिन्छौँ। बन्दसूची सच्याएर सबैलाई सम्मानजनक स्थान नदिए निर्वाचनसम्म देशभर विद्रोह हुने निश्चित छ।'

घिमिरेले विगतका चारवटा निर्वाचनमा आफूलाई पार्टी नेतृत्वले उम्मेदवार नै बनाउन नचाहेको पनि गुनासो गरेका छन्। 

नेता घिमिरेले पार्टी नेतृत्वले २०६४ यताका कुनै पनि निर्वाचनमा आफूहरूलाई उम्मेदवार बनाउन नचाहेको आरोप लगाए । 

'यो लोकतान्त्रिक प्रणाली ल्याएर यसलाई सञ्चालन गर्ने हामी नै हौँ। तर यो प्रणालीमा वञ्चित गरेर चार चारवटा निर्वाचन लड्न दिइएन', उनले भने, 'हामीले न्याय मागेका छौँ। हामी न्यायका लागि जुनसुकै मूल्य चुकाउन तयार छौँ। अन्यायपूर्ण सहमति भएको छ भने हामी यसलाई मान्दैनौँ। मूल्य चुकाउन तयार भएर  नै हामी हिँडेको हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .