ad ad

राजनीति


‘भीम रावल एमालेको सम्पर्कमा छैनन्, अछाममा विकल्प खोजौँ’

सुदूरपश्चिमका नेताहरुसँग ओलीको छलफल
‘भीम रावल एमालेको सम्पर्कमा छैनन्, अछाममा विकल्प खोजौँ’

ओली भेट्न बालकोट पुगेका एमाले सुदूरपश्चिमका नेताहरु


गोकुल जोशी
असोज १२, २०७९ बुधबार १२:७, कञ्चनपु्र

नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावल अहिले एमालेमा कुनै जिम्मेवारीमा छैनन्।

तत्कालीन अवस्थामा वरिष्ठ नेता माधव कुमार नेपालनिकट रावल पार्टी विभाजनका क्रममा १० बुँदे सहमतिपछि एमालेमै रहे।

चितवनमा भएको १० औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका उनी पार्टीका गतिविधिमा निष्क्रिय जस्तै छन्। 

एमालेभित्र ओलीविरोधी कित्तामा उभिएका रावल पार्टीको कुनै कमिटीमा नभए पनि राष्ट्रवादी छवि र सार्वजनिक महत्वको मुद्दामा आवाज उठाएर चर्चामा आइरहन्छन्।

एमाले हुँदै तत्कालीन नेकपामा पनि सुदूरपश्चिमको इन्चार्ज रहेका रावलको उक्त पद पनि माओवादीबाट एमालेमा समाहित भएका लेखराज भट्टले खोसिदिए।

माधवकुमार नेपालको साथ छोड्दा भएको १० बुँदे समझदारीअनुसार एमाले सुदूरपश्चिमको इन्चार्ज नपाउँदा उनी ओलीसँग असन्तुष्ट थिए।

एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा उनी चर्को आलोचना गर्थे। महाधिवेशनताका सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा धावा बोलेपछि सम्बन्ध सुमधुर छैन।

यसैबीच आसन्न प्रतिनिधि र प्रदेश सभा चुनावमा रावल अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिसमा भएका छन्।

एमाले नेतृत्वले भने रावललाई अछाममा टिकट दिने वा नदिने अझै निर्णय गरेको छैन। एमाले सुदूरपश्चिमका नेताहरुले रावल पार्टी नीति नियमविपरीत चलेकोले उनको विकल्पमा जानुपर्ने सुझाव ओलीलाई दिएका छन्। 

‘उहाँ (रावल) पार्टीको संवाद र सम्पर्कमा हुनुहुन्न, पार्टी नीति नियमविपरीत चल्न खोज्नु भएको छ,’ एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भने, ‘पार्टी नीतिभन्दा माथि कोही हुँदैन, नीतिअनुसार चल्नु पर्छ भन्ने हामी सबैको कुरा हो।’

रावल अछामबाट सर्वसम्मत सिफारिस भए पनि पार्टीका कुनै बैठक, छलफलमा सहभागी नभएकाले कसरी उम्मेदवार बनाएर निर्वाचनमा जाने भन्ने प्रश्न खडा भएको एमाले नेताहरु बताउँछन्। 

‘पार्टीका गतिविधिमै सामेल हुनुहुन्न, आफ्नै मनोमानी हिसाबले चल्न खोज्नु भएको छ, यस्तै हो भने कसरी पार्टीको उम्मेदवार बनाउने? यसबारे सोच्नुपर्छ भनेर अध्यक्षलाई आग्रह गरिएको छ,’ ओलीसँग भेटेका एमालेका एक नेताले भने।

ती नेताका अनुसार रावल नसच्चिए अगामी चुनावमा अछाममा उनको विकल्पको खोजीमा जान पनि नेतृत्वलाई आग्रह गरिएको छ।

रावल पार्टी नीति अनुसार नचलेमा अछाम १  प्रतिनिधि सभामा नेता कृष्ण जैसीलाई उम्मेदवार बनाउन प्रस्ताव समेत गरिएको ती नेताको दाबी छ। 

स्थायी कमिटी सदस्य कर्णबहादुर थापा भने पार्टी केन्द्रले टिकटबारे निर्णय नगरेको बताउँछन्। 

‘कुनै पनि व्यक्ति निर्विकल्प हुनसक्दैन, टिकटको लागि छलफल जारी नै छ,’ उनले भने, ‘अहिले नै यसले टिकट पाउँछ भनेर पक्का भएको छैन ।’

ओलीलाई भेट्न सोमबार बेलुका एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य थापा, केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम इन्चार्ज झपट बोहोरा, अछाम अध्यक्ष चन्द्र बोहोरालगायत नेता बालकोट पुगेका थिए।

सुदूरपश्चिमका नेताहरुसँग करिब एक घण्टा लामो चलेको ओलीको वार्ता रावल केन्द्रित थियो। ओलीले पनि सुदूरपश्चिमका नेताहरुसँग रावलको गतिविधिबारे चासो राखेका थिए।

अछामबाट सर्वसम्मत सिफारिसमा परेपछि रावललाई टिकट दिनै पर्ने ओलीलाई  दबाब पनि छ। 

एमाले नेता रावलले अछामबाट वि.सं. २०४८ सालदेखि नै चुनाव लडिरहेका छन्। ०४८ सालमा चुनाव हारेका रावल ०५१ सालको मध्यावधि चुनावमा भने अछाम १ बाट जितेका थिए। 

भीम रावल ०५६ सालको चुनावमा एमाले–माले फुटेको कारण फेरि चुनाव हारे। त्यसपछि ०६४ को चुनावमा उनी समानुपातिकतर्फ लागे। ०७० र ०७४ को चुनावमा रावल क्षेत्र नम्बर १ बाटै दुई चोटि सांसद बनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .