ad ad

राजनीति


राजेन्द्र लिङ्देनले ‘धोका’ दिँदा पछि परे प्रकाशचन्द्र लोहनी

महाधिवेशनमा भएको थियो तीन बुँदे सहमति
राजेन्द्र लिङ्देनले ‘धोका’ दिँदा पछि परे प्रकाशचन्द्र लोहनी

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०७९ बुधबार १३:५१, काठमाडौँ

नेकपा एमालेसँग गठबन्धनको गृहकार्यसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबाट अर्का नेता डा. प्रकाशचन्द्र लोहनीले धोका पाएका छन्। 

एमालेसँग तालमेल चर्चा भइरहँदा केपी शर्मा ओलीको जस्तै कार्यशैली राप्रपा अध्यक्ष लिङ्देनले पनि अपनाउँदा त्यसको मारमा वरिष्ठ नेता लोहनी परेका छन्। 

‘नेकपा’ कालमा ओलीले लिखित सहमति पालना नगरिदिँदा आफूले आधा कार्यकाल नेतृत् गर्न नपाएको गुनासो पुष्पकमल दाहाल प्रचण्डले गरिरहन्थे।

लिखित सहमतिअनुसार आधा कार्यकाल प्रधानमन्त्री हुनुपर्ने अडान थियो प्रचण्डको। तर उनले नेकपाको कार्यकारी अध्यक्षको हैसियतमा पनि काम गर्न पाएनन्। 

डा. लोहनीसँग तीन बुँदे गोप्य सहमति गरेपछि कमल थापालाई पराजित गरी लिङ्देन २०७८ मंसिरमा राप्रपा अध्यक्ष निर्वाचित भएका थिए।

तर, त्यसबेला भएका भएका गोप्य सहमति लिङ्देनले कार्यान्वयन नगरिदिँदा डा. लोहनीको समानुपातिक सांसद र त्यसपछि राप्रपा दलको नेता बन्ने सपना पूरा नहुने भएको छ। 

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको सोमबार (१० असोज) को बैठकमा समानुपातिकतर्फको सूचीमा कसको नाम १ नम्बरमा राख्ने भन्ने विषयमा मतदान नै भयो। उक्त पूर्वअध्यक्ष पशुपति शमशेर जबरासँग पराजित भएपछि डा. लोहनीको सपना अधुरै रहने भएको हो। 

गत मंसिरमा भएको राप्रपा महाधिवेशनमा निवर्तमान अध्यक्ष थापालाई आश्चर्यजनकरुपमा पराजित गरी लिङ्देन अध्यक्ष निर्वाचित भएका थिए। प्रतिस्पर्धामा पूर्व अध्यक्ष राणा तटस्थ रहे पनि डा. लोहनीले लिङ्देनलाई समर्थन गरेका थिए। 

गोप्य सहमति
समानुपातिकतर्फको बन्दसूची तयार गर्ने क्रममा लिङ्देनबाट धोका पाएपछि डा. लोहनीले त्यो बेला भएको गोप्य सहमति सोमबारको बैठकमार्फत सार्वजनिक गरिदिएका छन्। 

राप्रपाले समानुपातिकतर्फको बन्दूसूची ३ असोजमा निर्वाचन आयोगमा बुझाएको थियो। आयोग जानुपूर्व बन्दसूचीलाई अन्तिम रुप दिन त्यसैदिन केन्द्रीय कार्यसम्पादन समिति बैठक डाकिएको थियो।  

लिङ्देनले बैठकबाट निर्णय गराएर आयोगमा पेश गरेको बन्दसूचीमा पहिलो नम्बरमा पार्टी नेता हरिबहादुर बस्नेतको नाम थियो। त्यसपछि क्रमैसँग उद्धव पौडेल, नीलकण्ठ काफ्ले, दीपक खनाल, डा. लोहनी र पशुपति शमशेर जबरााको नाम छ। 

राजनीतिक दलहरुले समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा बन्दसूचीको क्रमसंख्यामा अगाडि रहेका उम्मेदवारले समानुपातिक सांसद बन्ने अवसर पाउँछन्।

बन्दसूची अनुसार खस–आर्य पुरुष समूहतर्फ सबैभन्दा अगाडि बस्नेतको नाम भएकाले राप्रपाले आवश्यक मत प्राप्त गरेमा उनैले यो अवसर सबैभन्दा पहिले पाउने भए। 

तर, बन्दसूचीमा अध्यक्ष लिङ्देनले बस्नेतको नाम पहिलो नम्बरमा राखेपछि डा. लोहनी आक्रोशित भए। बैठकमा उनले अध्यक्ष लिङ्देनले आफूसँगको सहमति कार्यान्वयन नगरेको भन्दै आक्रोश मात्रै व्यक्त गरेनन्, महाधिवेशनमा लिङ्देनले आफूसँग गरेको गोप्य सहमतिपत्र सार्वजनिक गरिदिए।   

महाधिवेशनमा डा. लोहनी पक्षको मत प्राप्त गर्न अध्यक्ष लिङ्देनमा उनी (डा. लोहनी) सँग तीन बुँदे सहमति गरेका रहेछन्।  

बैठकमा डा. लोहनीले बाचन गरेको त्यो गोप्य सहमतिपत्र अनुसार, महाधिवेशनपछि डा. लोहनीलाई केन्द्रीय निर्देशन समितिको अध्यक्ष बनाउने उल्लेख छ। 

अर्काे बुँदामा समानुपातिकतर्फको पहिलो नम्बरमा डा. लोहनीको नाम राख्ने र निर्वाचनपछि संसदीय दलको नेताको जिम्मेवारीपनि उनैलाई दिने उल्लेख गरिएको छ। 

खासमा यही गोप्य सम्झौतापछि डा. लोहनी गत महाधिवेशनमा अध्यक्षमा लिङ्देनलाई सघाउन तयार भएका थिए। डा. लोहनीको साथ पाएका लिङ्देन दुई सय मतान्तरसहित कमल थापालाई आश्चर्यजनक रुपमा हराउँदै अध्यक्ष निर्वाचित भए।

राप्रपाका निवर्तमान थापाले भने महाधिवेशनका क्रममा निर्मल निवासले चलखेल गरेकाले आफू पराजित भएको आरोप लगाउँदै आएका छन्। यसको छानबिन गर्न लिङ्देन तयार नभएपछि राप्रपा परित्याग गरी थापाले ‘राप्रपा नेपाल’ ब्यूँत्यााएर त्यसको नेतृत्व गर्दै आएका छन्। 

महाधिवेशनका क्रममा गरिएको सहमतिविपरित समानुपातिकतर्फ आफ्नो नाम नराखिएको भन्दै डा. लोहनीले असन्तुष्टि जनाएपछि बन्दसूचीलाई अन्तिम रुप दिन सोमबार (१० असोज) मा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्यो।

यो बैठकमा पनि डा. लोहनीले महाधिवेशनका क्रममा भएको सहमति अनुसार आफ्नो नाम पहिलो नम्बरमा राख्नुपर्ने माग गरे। अर्का पूर्व अध्यक्ष पशुपति शमशेर राणाले पनि बरिष्ठताका आधारमा आफ्नो नाम पहिलो नम्बरमा राख्नुपर्ने माग गरे।

बन्दसूचीको पहिलो नम्बरमा नाम राखिएका बस्नेतले चाहिँ निर्वाचन आयोगमा पेश भएको बन्दसूचीलाई यथावत राख्नुपर्ने धारणा राखे। 

पहिलो बन्दसूचीमै १ नम्बरमा नाम राखिएका बस्नेतले मतदानको विरोध गरे। पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरिले पनि पार्टीभित्र युवालाई स्थान दिने भनिएपनि बन्दसूचीमा बृद्ध भइसकेका नेताहरुलाई स्थान दिइएको भन्दै विरोध गरे। 

तर, पूर्वअध्यक्षद्वय राणा र डा. लोहनीले आ–आफ्नो नाम पहिलो नम्बरमा राखेर बन्दसूचीको नाम सच्याउनुपर्ने अडान राखेपछि मतदानमार्फत नाम टुङ्ग्याइने भयो।  

मतदानको निर्णय भएपछि लिङ्देनले तत्काल आफैँले  मतपत्र बनाएका थिए। उनैले हस्ताक्षर गरेको मतपत्र अनुसार बैठकमा गोप्य मतदान भयो। 

यसअघि पहिलो नम्बरमा नाम राखिएका हरिबहादुर बस्नेतले मतदान बहिस्कार गरेकाले मत पाएनन्। मतपत्रमा उनको नाम पनि राखिएन। 
कार्यसम्पादन समितिका २२ जना नेता मतदाता थिए। यसअघि बन्दसूचीको पाचौँ नम्बरमा नाम रहेका डा. लोहनीले ९ मतमात्रै प्राप्त गरे। अर्का पूर्वअध्यक्ष राणालाई ११ मत मिल्यो।

अर्थात, बैठकले राणाको नाम बन्दसूचीको पहिलो नम्बरमा राख्नुपर्ने निर्णय गर्यो। 

‘पहिलो चरणकै मतदानमा डा. लोहनीभन्दा राणाले मत बढी प्राप्त गरेकाले अध्यक्ष लिङ्देनले मतदान गर्नुपरेन’ राप्रपाका एक नेताले भने, ‘मतदान बहिष्कार गरेकाले बस्नेतले पनि मतदानमा भाग लिएनन्।’

तर, पहिलो नम्बरमा कसको नाम राख्ने भन्ने निर्णय गर्नमात्रै मतदान भएकाले दोस्रो नम्बरमा डा. लोहनीको नाम रहन्छ वा बस्नेतको नाम राखिन्छ, यो विषय अन्योल नै छ। 

स्रोतका अनुसार यो विषयको टुङ्गो दुई दिनभित्र लगाउने भनिएको छ। तर अझै टुङ्गो लाग्न सकेको छैन। 

‘निर्देशन समिति, संसदीय दलको नेताजस्ता जिम्मेवारी पार्टी बैठकबाट निर्णय हुनुपर्ने विषय हुन्, तर लिङ्देनले अध्यक्ष निर्वाचित हुन महाधिवेशनअघि नै गोप्य सहमति गरिदिएका रहेछन्’, राप्रपाका ती नेताले भने, ‘कि त्यस्तो सहमति नै गर्नुहुन्नथ्यो, सहमति गरेपछि इमानपूर्वक कार्यान्वयन गर्नुपर्थ्यो तर, ओलीलेझैँ सहमति कार्यान्वयन नगरिदिँदा राप्रपामा पनि समस्या सिर्जना हुन थाल्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .