ad ad

राजनीति


४१ वर्षअघि गोर्खा राइफल्स छिरेका चौहान बने भारतको दोस्रो चिफ अफ डिफेन्स स्टाफ

४१ वर्षअघि गोर्खा राइफल्स छिरेका चौहान बने भारतको दोस्रो चिफ अफ डिफेन्स स्टाफ

नेपालखबर
असोज १२, २०७९ बुधबार २०:२५, काठमाडौँ

भारतीय सेनाका पूर्ववरिष्ठ अधिकारी अनिल चौहान भारतका नयाँ चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्त भएका छन्। 

भारतीय रक्षा मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी चौहानलाई सो पदमा नियुक्त गरिएको घोषणा गरेको छ। चौहानलाई भारत सरकारको मिलिटरी डिपार्टमेन्टको सचिवको अतिरिक्त जिम्मेवारी पनि तोकिएको छ। 

चौहानले सन् १९८१ मा भारतीय सेनाको ११ औं गोर्खा राइफल्सबाट जागिर सुरु गरेका थिए। उनले भारतीय सेनाको ११ औं गोर्खा राइफल्सको इतिहासबारे एक पुस्तक पनि लेखेका छन्। 

४० वर्षभन्दा बढी भारतीय सेनामा बिताएका चौहान सन् २०२१ मा मात्रै लेफ्टिनेन्ट जनरल पदबाट उमेरहदका कारण अवकाश पाएका थिए। सन् १९६१ मा जन्मिएका चौहानले भारतीय सेनाले जम्मु र कस्मिरमा सञ्चालन गरेका विभिन्न सैन्य कारबाहीमा प्रत्यक्ष सहभागी भएका थिए। 

भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ विपीन रावतको तामिलनाडुमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि भारत सरकारले उनको स्थानमा चौहानलाई नियुक्त गरेको हो। 

रावत नेपालसँग राम्रो सम्बन्ध भएका भारतीय सैनिक अधिकारी मानिन्थे। रावत, उनकी श्रीमती मधुलिका र अन्य ११ भारतीय सैनिक अधिकारीको गतवर्ष मंसिरमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो। 

चौहान भारतको दोस्रो सीडीएस नियुक्त भएका हुन्। भारत सरकारले उक्त पद सन् २०२० मा सिर्जना गरेको थियो। सन् २०२० जनवरी १ मा भारत सरकारले विपीन रावतलाई पहिलो सीडीएस नियुक्त गरेको थियो। 

रावतको नियुक्ती अघि भारतको सैनिक संरचनामा परिवर्तन गरिएको थियो। जसअनुसार रावतले भारतको स्थल, जल र वायु सेनाको नेतृत्व गरे। चौहानले त्यही जिम्मेवारी पाएका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .