नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले काम गर्नै नसकेको गुनासो गरेका छन्।
शुक्रबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ४ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
उनले कोभिड महामारीका बेलामा केपी शर्मा ओली नेतृत्वको सरकारले कामै गरेन भनेर आलोचना गरेको स्मरण गर्दै देउवा नेतृत्वको सरकार त्यो भन्दा कमजोर भएको टिप्पणी गरे।
'यत्रो डेंगु महामारीका बेलामा नेपाल सरकारले काम गरेकै छैन। काम गरेको तरिका पटक्कै चित्त्र बुझेको छैन', उनले भने, 'हिजो कोभिड महामारीका बेलामा सरकारले काम गरेन भन्यौँ। आज मैले भन्नु परेको छ यो सरकारले झन् कामै गरेन।'
उनले आफ्नै पार्टीको नेता प्रधानमन्त्री हुँदा पनि असन्तु्ष्टि पोखेर हिँड्नु परिरहेको गुनासो गरे। 'मेरो पार्टीको नेता प्रधानमन्त्री हुनुहुन्छ। उहाँ पार्टीको नेता पनि भएकाले एउटा जिम्मेवारी छ', उनले भने, 'टिकट बाँड्ने काम पार्टीको हो। तर उहाँको पहिलो प्राथमिकता सरकार हो, जनताको सुरक्षा र सेवा हो। चाडवाडका बेला देश अस्तव्यस्त भएको छ। तर सरकारले के काम गर्दैछ, अस्तव्यस्त अवस्था हुँदा पनि केही गरेको देखिएन।'
थापाले डेंगुको महामारी भएको अवस्थामा प्रधानमन्त्री देउवाले आपत्कालीन बैठक बोलाएर संक्रमण नियन्त्रणका लागि पहलकदमी लिनुपर्ने बताए।
'आपतकालीन बैठक बोलाएर चाडवाडका बेला संक्रमण कसरी रोक्ने उपाय खोजिनुपर्छ। बिरामीले अस्पताल भरिएका छन्। अस्पतालमा भएको दबाबलाई कसरी कम गर्ने? सरकारले योजना ल्याउनुपर्छ', उनले भने, 'डेंगु महामारी नियन्त्रणमा सरकारले छुट्टै अभियान चलाउनुपर्छ।'
थापाले सरकार कुनै हालतमा आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने बताए। 'सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन पाउँदैन', उनले भने, 'यो बेलामा वडा, नगर र सरकार सबैले काम गर्नुपर्ने छ। यत्रो डेंगु लागेको बेलामा नेपाल सरकारले जुन प्राथमिकताका साथ काम गर्नुपर्ने हो त्यो गरेको छैन, यसमा हाम्रो असन्तुष्टि छ।'
उनले डेंगुको संक्रमणले एउटा ठूलो प्रकोपको रुप लिएको पनि बताए। 'हिजोमात्रै हेर्दा ३८, ४० जनाको मृत्यु भएको छ। कम्तीमा धेरै गर्न नसके पनि आफ्नो निर्वाचन क्षेत्रभित्र संक्रमित भएकाहरुलाई केही सुविधान पुर्याउन सकिन्छ कि भनेर केही स्रोत जम्मा गरेर परीक्षणको अभियान चलाएका छौँ', उनले भने, 'चाडवाडमा जनताको स्वास्थ्य जोगाउन सरकारले तत्काल पहलकदमी लिनुपर्छ।'
Shares
प्रतिक्रिया