ad ad

राजनीति


बाबुरामले भने – यसपालि म उम्मेदवार बन्दिनँ, मेरो ठाउँमा अझै सक्षम र जिम्मेवार नेतृत्व पाउनुहुनेछ

बाबुरामले भने – यसपालि म उम्मेदवार बन्दिनँ, मेरो ठाउँमा अझै सक्षम र जिम्मेवार नेतृत्व पाउनुहुनेछ

नेपालखबर
असोज १७, २०७९ सोमबार १२:१५, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई यसपटक चुनाव नलड्ने भएका छन्।

उनले सोमबार गोरखाका मतदातालाई सामाजिक सञ्जालमा सम्बोधन गर्दै आफू आगामी मंसिरमा हुने चुनावमा नउठ्ने जानकारी गराएका हुन्। 

‘प्रिय गोरखा, २०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा, दिदीबहिनी, दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु’ उनले भनेका छन्,  ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।’

चुनाव नलड्नु भनेको राजनीति छोड्नु नभएको उल्लेख गर्दै उनले अगाडि भनेका छन्, ‘म सबै गोरखाली दिदीबहिनी, दाजुभाइहरूलाई विश्वास दिलाउन चाहन्छु – मेरो ठाउँमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीव्रता पाउनेछ। म त्यहाँ साथमा हुनेछु।’

यस्ताे छ उनकाे वक्तव्यकाे पूर्ण पाठ :

प्रिय गोरखा,
२०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा, दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु।

आगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।
मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही सुरु भएका आयोजना पूरा हुन बाँकी छन्। बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमुना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु।

२०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउने/जाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखेँ र तपाईंहरूबाट धेरै सिक्ने अवसर पाएँ। आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहनेछु।

चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन। कतिपय मानिसहरूले जानेर/नजानेर त्यस्तो सोच्नरभन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनतारसमाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।

म सबै गोरखाली दिदीबहिनी दाज्यूभाइहरूलाई विश्वास दिलाउन चाहन्छु - मेरो ठाउँमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीव्रता पाउनेछ। म त्यहाँ साथमा हुनेछु।
आसन्न बडादसैँ, तिहार, नेपाल सम्वत् नयाँ वर्ष लगायतका सबै पर्वहरूमा हार्दिक शुभकामना!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .