सत्तारूढ गठबन्धनले शुक्रबार बिहान ७ बजे 'गिभ एन्ड टेक' को नीति अपनाएर सिट बाँडफाँटमा हस्ताक्षर गर्ने सहमति गरेका छन्।
'हामीले ३० प्रतिशत जति सहमति भोलि बिहान गर्छौंँ,' कार्यदल सदस्यसमेत रहेका ती नेताले नेपालखबरसँग भने, 'गिभ एन्ड टेक अनुसार सहमति गरेर भोलि नै हस्ताक्षर हुन्छ।'
बिहीबार बिहान ८ बजेदेखि गठबन्धन बैठक बसेको थियो। तर ठोस सहमति नभएपछि शुक्रबारका लागि सारिएको हो। पाँच दलमा प्रदेशसभा तर्फको सिट बाँडफाँटमा लामो सहमति जुटेको थिएन।
काङ्ग्रेस-जसपा, काङ्ग्रेस-एकीकृत समाजवादीबीच केही सिट बाँडफाँटमा सहमति जुटेको थिएन।
यस्तै प्रदेश सभाको कुरा नमिलेकोले प्रतिनिधि सभाको पनि मिलेको सिटको सहमति घोषणा हुन सकेको छैन।
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १६५ र प्रदेश सभाको ३३० को उम्मेदवार मनोनयन २३ असोजमा तय भएको छ। त्यसअघि नै पाँच दल मिलाउने कोसिसमा लागेका थिए। तर बिहीबार ठोस सहमति भएन।
यसैबीच सत्ता गठबन्धन घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि बालकोट पुगेका छन्।
उनी एमालेसँग बढीमा २५ सिटमा चुनावी तालमेल गर्ने यसअघिको अनौपचारिक समझदारीलाई औपचारिकता दिन बालकोट पुगेका थिए। जसपा र एमालेबीच नेता रघुवीर महासेठको घरमा वार्ता भएको छ।
सत्ता गठबन्धनले जसपालाई १६ सिट मात्रै दिने भएपछि यादव असन्तुष्ट थिए। त्यहीकारण जसपा कार्यकारिणी समितिले सत्ता घटकबाहेकका दलसँग पनि चुनावी तालमेलको ढोका खुला गर्ने निर्णय लिएको थियो।
498
Shares
प्रतिक्रिया