ad ad

राजनीति


कमल थापाद्वारा आफ्नै पार्टीलाई धोका

कार्यकर्तालाई ‘तीर’ थमाएर आफू ‘सूर्य’ बोकी हिँडे
कमल थापाद्वारा आफ्नै पार्टीलाई धोका

सीताराम बराल
असोज २३, २०७९ आइतबार १९:२, काठमाडौँ

दोस्रो प्रतिनिधि सभाकाल (२०५१–२०५५) मा एमाले समर्थित आफू नेतृत्वको सरकारविरुद्ध आएको अविश्वास प्रस्तावको जवाफ दिने क्रममा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राप्रपाका केही नेताहरुलाई ‘मुसा’ को संज्ञा दिएका थिए। 

‘जहाज डुब्न लाग्यो भने सबैभन्दा पहिले मुसाहरु आफ्नो ज्यान जोगाउन समुद्रमा हाम्फाल्छन्,’ प्रधानमन्त्री चन्दले भनेका थिए, ‘राप्रपामा पनि यस्ता केही मुसा छन्, जो सरकार अप्ठेरोमा परेको बुझेपछि अर्काे जहाज चढ्न समुद्रमा हाम्फालिसकेका छन्।’

आफ्नै सरकारमा मन्त्री रहेका कमल थापाले कांग्रेसको साथ पाएका सूर्यबहादुर थापालाई सहयोग गर्न थालेपछि चन्दले यस्तो अभिव्यक्ति दिएका थिए। ‘अवसरवाद’ प्रति इङ्गित गर्न चन्दले उतिबेला  बिम्बका रुपमा प्रयोग गरेको ‘मुसा प्रवृत्ति’ अहिलेसम्म पनि राजनीतिक अवसरवादीहरुका हकमा प्रयोग भइरहन्छ।  

अध्यक्ष राप्रपा नेपालको, उम्मेदवार एमालेको 
आफैँ संलग्न रहेको सरकारलाई ‘धोका’ दिन पछि नपरेका थापाले आगामी निर्वाचनमा आफ्नै सन्तान ‘राप्रपा नेपाल’ लाई समेत ‘धोका’ दिन अप्ठेरो मानेनन्। 

राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि आफ्नो हारमा निर्मल निवासलाई दोष दिँदै राप्रपा परित्याग गरेका थापाले पुरानै ‘राप्रपा नेपाल’लाई पुनर्गठन गरे। आगामी निर्वाचनका लागि ‘राप्रपा नेपाल’ ले चुनाव चिन्ह ‘तीर’ प्राप्त गरेको छ। 

राप्रपा नेपालका प्रवक्ता सुरेशप्रसाद आचार्यका भनाइमा तीर चुनाव चिन्ह लिनेगरी देशैभरि उम्मेदवारी परेको छ। ‘हाम्रो पार्टीले देशैभरि उम्मेदवारी दिएको छ,’ प्रवक्ता आचार्यले भने, ‘हाम्रो पार्टीका उम्मेदवारहरुले पार्टीकै चुनाव चिन्ह ‘तीर’ बाट प्रतिस्पर्धा गर्नेछन्।’

उम्मेदवारी दिने पार्टीका अन्य नेता–कार्यकर्ताले पार्टीको आधिकारिक चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्दा अध्यक्ष कमल थापाले भने ‘तीर’ चिन्हबाट होइन, एमालेको चुनाव चिन्ह ‘सूर्य’ बाट मकवानपुर– १ मा प्रतिस्पर्धा गर्ने भएका छन्।

आइतबार उम्मेदवारी दर्ता गरेपछि थापाले ‘जित सुनिश्चित गर्न आफूले एमालेको सूर्य चिन्ह रोजेको’ बताएका छन्। उम्मेदवारी दर्तापछि थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा एमालेको लोकप्रिय चुनाव चिन्ह ‘सूर्य’ बाट चुनाव लड्न पाउँदा खुसी लागेको छ।’  

निर्वाचन सम्बन्धी कानुन अनुसार अर्काे पार्टीको चुनाव चिन्ह लिने हो भने निर्वाचन कार्यक्रम सुरु हुनुअघि नै निर्वाचन आयोगलाई जानकारी दिनुपर्ने हुन्छ। यही प्रावधान मान्दै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले माओवादी केन्द्रको चिन्ह लिएर आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्दैछ। 

तर, ‘राप्रपा नेपाल’ ले आगामी निर्वाचनमा एमालेको चुनाव चिन्ह लिने जानकारी निर्वाचन आयोगलाई गराएको छैन। त्यसैले, राप्रपा नेपालका कुनै उम्मेदवारले आगामी निर्वाचनमा ‘सूर्य’ चिन्ह लिएका छन् भने उनीहरु आधिकारिक रुपमा एमालेकै उम्मेदवार हुनेछन्।  

यो प्रावधानका कारण थापाले पेस गरेको उम्मेदवारीको मनोनयन पत्रमा आफू एमाले उम्मेदवार रहेको उल्लेख गरेका छन्।  

‘हो, अध्यक्ष थापाले मनोनयन पत्रमा एमाले उम्मेदवार भनेरै मनोनयन पत्र दर्ता गराउनु भएको छ,’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्ताैलाले नेपालखबरसँग भने, ‘अहिलेको विशिष्ट स्थितिका कारण अध्यक्ष थापा एमाले उम्मेदवारका रुपमा निर्वाचनमा खडा हुनु भएको हो।’

अध्यक्ष थापा नै एमाले उम्मेदवारका रुपमा खडा भएपछि राप्रपा नेपालका अन्य नेता–कार्यकर्ताहरुलाई ‘सूर्य’ को प्रचार गर्ने कि ‘तीर’ को प्रचार गर्ने– नैतिक प्रश्न खडा भएको छ। 

‘अध्यक्ष नै एमालेको उम्मेदवार बनेर चुनाव लडेपछि राप्रपा नेपाललाई किन भोट दिने भनेर जनताले सोध्लान्,’ सो पार्टीका एक नेताले अप्ठेरो व्यक्त गरे, ‘यो प्रश्नले आगामी निर्वाचनमा हामीलाई नाजावाफ बनाउने स्थिति सिर्जना भएको छ।’ 

ती नेताको भनाइमा प्रत्यक्षतर्फ एमाले उम्मेदवार रहेकाले अध्यक्ष थापासँग मकवानपुर– १ मा समानुपातिकतर्फ ‘राप्रपा नेपाल’ को ‘तीर’ को पक्षमा मत माग्ने नैतिक हैसियत पनि रहने छैन। 

‘प्रत्यक्ष उम्मेदवार चाहिँ एमालेको बन्ने, समानुपातिकतर्फ चाहिँ राप्रपा नेपाललाई मत माग्न मिल्छ र?’ ती नेताले प्रश्न गरे, ‘एमाले उम्मेदवार बनेर राप्रपा नेपालको पक्ष (समानुपातिकतर्फ) मा मत माग्नुभयो भने एमालेका मतदाताले उहाँलाई मत देलान्?’ 

थापाको अवसरवादः नानीदेखिको बानी 
२०५१–२०५५ मा कसैको बहुमत नरहेको ‘हङ पार्लियामेन्ट’ का कारण मन्त्री बन्ने अवसरका लागि पटक–पटक कित्ता परिवर्तन गरेपछि आफ्नै पार्टीका नेताबाट ‘मुसा’ संज्ञा पाएका थापाको छवि शाही शासनकालमा राप्रपा विभाजन गरेपछि अरु धुमिलिन पुगेको थियो।   

तर, २०६२–०६३ को आन्दोलनपछि उनले ‘राप्रपा नेपाल’ गठन गरेर राजतन्त्र पुनर्स्थापनाको पक्षमा माहोल सिर्जना गर्न थाले। राजतन्त्रवादीहरुका लागि प्रतिकूल स्थिति रहँदा पनि थापाले राजतन्त्र पुनर्स्थापनाको पक्षमा अडान लिएपछि थापाको ‘अवसरवादी’ छवि विस्तारै पखालिँदै जान थाल्यो। 

‘मुसा प्रवृत्तिको अगुवा’ को साटो उनी ‘प्रतिकूल स्थितिमा पनि अडान लिन सक्ने नेता’ रुपमा चिनिन थाले।

दोस्रो संविधान सभा निर्वाचन– २०७० मा राप्रपा नेपालले समानुपातिकतर्फ २५ सिटमा विजय हासिल गर्नुको कारण यही थियो। समानुपातिकतर्फ त राप्रपा नेपाल काठमाडौँमा सबैभन्दा ठूलो दल नै बनेको थियो।

तर, विस्तारै बन्दै गरेको सकारात्मक छविको रक्षा थापा आफैँले गर्न सकेनन्। उपप्रधानमन्त्री बन्न पाउने भएपछि गणतान्त्रिक संविधान जारी हुनासाथ उनी केपी ओली नेतृत्वको सरकारमा सहभागी भए। 

‘गणतन्त्रवादी’ संविधान जारी गर्न सहमति जनाएपछि राजतन्त्रवादीहरु थापासँग असन्तुष्ट भए। त्यहीकारण २०७० को निर्वाचनमा राप्रपा नेपालले राष्ट्रिय पार्टीको हैसियत समेत जोगाउन सकेन। कांग्रेससँगको गठबन्धनका बाबजुद थापा आफैँ मकवानपुर– १ मा पराजित भए। 

संविधान जारी हुन दिएर थापाले गलत गरेका थिएनन्। तर, उनको निर्णय ‘परिस्थिति’ को भन्दा पुरानै ‘अवसरवादी’ चरित्रको उपज थियो भन्ने कुरा त्यतिबेला प्रष्ट भयो, जब उनी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बन्न गए। 

राप्रपाको गत महाधिवेशनमा आफैँले हुर्काएका कार्यकर्ता राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनको अवसरवाद थप प्रकट भयो। पराजयलाई सहज रुपमा लिन नसकेका उनले नतिजामा निर्मल निवासको हात रहेको दाबी गरे।  

निर्मल निवासले राप्रपा महाधिवेशनमा हस्तक्षेप गरेको ‘अडियो रेकर्ड’ आफूसँग रहेको र निकट भविष्यमा सार्वजनिक गर्ने दाबी थापाले गरेका थिए। 

उनीसँग साँच्चिकै त्यो प्रमाण थियो भने प्रतिबद्धता बमोजिम सार्वजनिक गर्नुपर्ने हो। तर, उनले अहिलेसम्म सार्वजनिक गर्न सकेका छैनन्।

रोचक चाहिँ के भने राप्रपा अध्यक्षमा पराजित भएपछि थापाले  राजतन्त्रको एजेन्डा नै परित्याग गरेको घोषणा गरे, जबकि गणतन्त्र स्थापनापछि उनको राजतन्त्रको पुनर्स्थापना गर्ने अडानकै कारण उनको छवि ‘अवसरवादी नेता’ को साटो ‘प्रतिकूल स्थितिमा पनि आफ्नो विचारको पक्षमा अडिन सक्ने नेता’ का रुपमा निर्माण हुँदै थियो। 

थापाको अवसरवाद आगामी निर्वाचनका सन्दर्भमा थप उदाङ्गो हुन पुगेको छ। आफ्नो स्वार्थका लागि आफैँले गठन–पुनर्गठन गरेको ‘राप्रपा  नेपाल’ लाई समेत धोका दिन उनलाई अप्ठेरो लागेन। र, नेता–कार्यकर्ताहरुलाई ‘तीर’ को पक्षमा मत माग्न लगाएर आफू चाहिँ ‘सूर्य’ चिन्हको झण्डा बोकी हिँड्ने निर्णयमा पुगे। 

‘हाम्रो चुनाव चिन्ह जनतामा स्थापित छैन, त्यसैले तीर चिन्ह लिएर चुनाव जित्ने स्थिति थिएन,’ महामन्त्री बर्ताैलाले भने, ‘अध्यक्षज्यूले सूर्य चिन्ह रोज्नुको कारण यही हो।’ 

उम्मेदवारी दर्तापछि थापाले पनि जित सुनिश्चितताका लागि एमालेको सूर्य चिन्ह लिएको प्रतिक्रिया दिएका छन्। 

यसको अर्थ हो, अवसरका लागि राजनीतिक नैतिकताको हद पार गर्न तयार हुने उनको स्वभाव गएको रहेनछ, बरु अरु वृद्धि भएको रहेछ। 

राजतन्त्र र दरबारको कुरा छाडौँ, आफैँले गठन–पुनर्गठन गरेको, आफ्नै सन्तानजस्तो ‘राप्रपा नेपाल’ लाई त धोका दिन तयार हुने कमल थापाले देश र समाजलाई चाहिँ के देलान्! 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .