राजनीति


भोट माग्दै प्रदीप पौडेल, बालेन र सुनितासँग जम्काभेट (तस्बिरहरु)

भोट माग्दै प्रदीप पौडेल, बालेन र सुनितासँग जम्काभेट (तस्बिरहरु)

काठमाडौं महानगरका मेयर र उपमेयरसँग भेटका क्रममा प्रदीप पौडेल। तस्बिर : नेपालखबर


नेपालखबर
असोज २४, २०७९ सोमबार १५:३१, काठमाडौँ

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ मा घरदैलो सुरु गरेका छन्। 

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेको एक दिन पछि उनले काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट घरदैलो सुरु गरेका हुन्। 

भोट माग्ने क्रममा निस्किएका पौडैल सोमबार हाँडीगाउँको जात्रास्थलमा पुगे। त्यहाँ उनले युवाहरुदेखि वृद्धवृद्धासम्म भेटेर भोट माग्दै आशिर्वाद पनि लिए।

त्यहीक्रममा हाँडीगाउँ जात्रामा सहभागी हुन पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसँग प्रदीपको जम्का भेट भएको छ।

उक्त जम्काभेटका क्रममा पौडेले मेयर-उपमेयरसँग भलाकुसारी पनि गरे। भेटमा बालेन र प्रदीपले अंकमाल गर्दै हात मिलाएर सद्भाव आदानप्रदान गरे। 

काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरुको भूगोल समेटेर काठमाडौं–५ निर्धारण गरिएको छ। 

काठमाडौं–५ मा सत्ता गठबन्धनले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ कांग्रेस केन्द्रीय सदस्य पौडेललाई उम्मेदवार बनाएको छ। 

यो क्षेत्रबाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि चुनाव लड्दै छन्। त्यस्तै रञ्जु दर्शना पनि चुनावी मैदानमा छिन्। 

२०७४ को निर्वाचनमा काठमाडौं–५ मा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई पराजित गर्दै पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। 

उनले कुल खसेको मतमध्ये २३ हजार २९ मत र डा. महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए। 

यस पटक प्रवक्ता महत समानुपातिकतर्फ उम्मेदवार बनेपछि कांग्रेसले युवा नेता पौडेललाई काठमाडौं–५ बाट उम्मेदवार बनाएको छ। 

यद्यपि, उनले गृहजिल्ला तनहुँ–२ बाट प्रतिनिधिसभा सदस्यमा उठ्ने आकांक्षा राखेका थिए। 

नेता पौडेलले हाँडिगाउँको जात्राको अवसर पारेर मतदाता भेटघाट गर्न घरदैलो सुरु गरेको बताएका छन्। 

उनले घरदैलोका क्रममा मतदातामा देखिएको उत्साहले कांग्रेसको पक्षमा जनाधार बलियो देखिएको पनि प्रतिक्रिया दिएका छन्। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा काठमाडौं–५ मा नेकपा एमालेको १९ हजार ७०३ र कांग्रेसको १४ हजार ८५३ मत देखिन्छ। 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा २ हजार ८२२, नेकपा एकीकृत समाजवादीको पक्षमा १ हजार ८२७, एकीकृत नेकपा माओवादीको पक्षमा १ हजार १६८ र जनता समाजवादी पार्टी (जसपा) को पक्षमा ५८ मत खसेको थियो। 

निर्वाचन आयोगका अनुसार यो क्षेत्रमा पर्ने चार वडाहरुबाट महानगर प्रमुख बालेन्द्र शाहले ९ हजार ८ मत प्राप्त गरेका थिए। 

यही क्षेत्रमा रञ्जु दर्शनाले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छन्। उनी २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा उठेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .