ad ad

राजनीति


काठमाडौंका १० निर्वाचन क्षेत्र : ठूला दललाई साना र स्वतन्त्रको चुनौती, यस्ता छन् प्रतिस्पर्धी

एमाले र सत्ता गठन्धनबीच हुन सक्छ मुख्य प्रतिस्पर्धा
काठमाडौंका १० निर्वाचन क्षेत्र : ठूला दललाई साना र स्वतन्त्रको चुनौती, यस्ता छन् प्रतिस्पर्धी

कठमाडौंको विभिन्न क्षेत्रका उम्मेदवारहरु


केशव सावद
कात्तिक १, २०७९ मंगलबार ६:५४, काठमाडौँ

आगामी मंसिर ४ का लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ठूलादेखि साना दलसमेत गठबन्धन गरेर मैदानमा उत्रिएका छन्। 

सत्तारुढ र प्रतिपक्षी दलसमेत गठबन्धन गरेर चुनावमा उत्रिएपछि परिणाम कसको पोल्टामा जान्छ भन्ने अनुमान गर्न मुस्किल भएको छ।

परम्परागत दलहरुलाई चुनौती दिने गरी स्वतन्त्रको पनि लहर आएपछि यो पटक प्रतिस्पर्धा कडा र रोचक हुने देखिएको छ।

संघीय राजधानी रहेको  काठमाडौंका १० वटा क्षेत्रमा सत्ता गठबन्धनलाई नेकपा एमालेले चुनौती दिँदैछ। अर्कातिर राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी र स्वतन्त्रका उम्मेदवार पनि ठूला दललाई चुनौती बनेका छन्। 

काठमाडौंमा खास गरी कांग्रेस र एमालेको बलियो प्रभाव छ। एक्ला एक्लै भिड्दा पनि यी दुई दलबीच नै यसअघि टक्कर हुने गरेको थियो। तर यस पटक काठमाडौंको चुनावी परिणामको आकलन सजिलो छैन। 

काठमाडौं क्षेत्र नम्बर १ देखि १० सम्म दलीय र स्वतन्त्र उम्मेदवारबारे यहाँ चर्चा गर्दैछौँ। काठमाडौंका अधिकांश क्षेत्रमा पुरानै अनुहार मैदानमा छन्। केहीमा नयाँ अनुहारले पुरानालाई टक्कर दिँदैछन्।

काठमाडौं–१


निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका १०, ११, २९ र ३१ नम्बर वडाहरु समेटेर काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को भूगोल निर्धारण गरेको छ। 

मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेकपा एमालेका किरण पौडेलले उम्मेदवारी दिएका छन्। 

काठमाडौं–१ बाटै विवेकशील साझा छाडेर भर्खरै नयाँ यात्रा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, सुशासन पार्टीका रमेश खरेल चुनावी प्रतिष्पर्धामा छन्। 

२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता सिंहले काठमाडौं–१ मा ‘ह्याट्रिक’ गर्दै जितेका थिए। उनले १० हजार ९३६ मतसहित विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रलाई हराएका थिए।

मिश्रले १० हजार ११८ मत पाएका थिए। दुई उम्मेदवारबीचको मतान्तर ८१८ मात्रै थियो। 

नेकपा माओवादी केन्द्रले यो क्षेत्रमा अर्थमन्त्री जनार्दन शर्माका भाइ अनिल शर्मालाई टिकट दिएको थियो। उनी ५ हजार ३३६ मत ल्याएर तेस्रो भएका थिए। एमालेले माओवादीसँग गठबन्धन गरेर अनिललाई सघाएको थियो।

२०७४ मा विवेकशील साझाबाट उठेका मिश्र यसपटक राप्रपाबाट चुनावी मैदानमा छन्। सुरुमा उनलाई एमालेले सघाउने भनिएको थियो। तर, अन्तिम समयमा एमालेले पौडेललाई उठाएको छ। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं–१ मा पर्ने महानगरका चार वडामा महानगर प्रमुखमा विजयी बालेन्द्र शाह अगाडि देखिएका छन्। 

स्थानीय तह निर्वाचनको परिणामअनुसार बानेश्वर (वडा नं. १०), त्रिपुरेश्वर (११), डिल्ली बजार (२९) र शान्ति नगर (३१) क्षेत्रअन्तर्गत पर्ने काठमाडौं–१ मा उनले कांग्रेस र एमालेलाई उछिनेका थिए।

महानगरपालिका प्रमुख साहले यी चार वडाबाट ९ हजार ६७४ मत ल्याएका थिए। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ६ हजार ५१६ मत पाएकी छन्। 

एमालेका उम्मेदवार केशव स्थापित ४ हजार ७९४ मतका साथ निर्वाचन क्षेत्र नम्बर १ मा तेस्रो स्थानमा सीमित भए।

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा काठमाडौं–१ मा कांग्रेसको ९ हजार ८९५, एमालेको ९ हजार ५४१, राप्रपाको १ हजार ३७६ र नेकपा माओवादी केन्द्रको १ हजार १५९ मत छ। 

काठमाडौं–२


काठमाडौं महानगरपालिकाका ९ र ३२ तथा शंखरापुर नगरपालिकासँगै कागेश्वरी मनोहरा नगरपालिकाका ४, ५, ६, ७, ८ र ९ नम्बर वडा क्षेत्र नम्बर २ मा समेटिएका छन्। 

यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती, एमालेका मणिराम फुयाँल, राप्रपाका कुन्तीदेवी पोखरेल, स्वतन्त्रबाट कोषराज सुवेदी र रोहन कार्की लगायत प्रतिनिधिसभा सदस्यमा प्रतिष्पर्धा गर्दैछन्। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–२ मा एमालेका तर्फबाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विजयी भएका थिए। उनी २७ हजार ३६६ मतसहित विजयी हुँदा कांग्रेस उम्मेदवार दीपकप्रसाद कुइँकेल १४ हजार ९०३ मत ल्याए। 

यहाँ तेस्रो भएका विवेकशील साझाका उम्मेदवार डा. सूर्यराज आचार्यले ७ हजार ४३७ मत ल्याएका थिए। गत स्थानीय तह निर्वाचनमा काठमाडौं–२ का दुई वडाबाट महानगर प्रमुख साहले ८ हजार ८३३ मत पाएका थिए। 

काठमाडौं–२ मा कागेश्वरीका वडाध्यक्षहरु र शंखरापुरामा उपप्रमुखले पाएको मतअनुसार कांग्रेस १६ हजार ४९३ सहित पहिलो बनेको छ। त्यस्तै, १३ हजार ५९६ मतसहित एमाले काठमाडौं–२ मा दोस्रो भएको थियो।

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारको मतका आधारमा काठमाडौं–२ मा एमालेको पक्षमा १७ हजार ३२८, कांग्रेसको पक्षमा १४ हजार १२८, नेकपा एकीकृत समाजवादीको पक्षमा ७ हजार ९११, राप्रपाको पक्षमा ७ हजार २०० र माओवादीको पक्षमा ३ हजार १३१ मत खसेको देखिन्छ। 

काठमाडौं–३


काठमाडौं महानगरपालिकाको ६ नम्बर, कागेश्वरी मनोहरा नगरपालिकाका १, २, ३ र गोकर्णेश्वर नगरपालिकालाई समेटेर काठमाडौं–३ को भूगोल निर्धारण गरिएको छ। 

आसन्न निर्वाचनमा यो क्षेत्रबाट सत्ता गठबन्धनबाट कांग्रेसका सन्तोष चालिसे, एमालेका कृष्णबहादुर राई, राप्रपाका गणेश गिरी तथा स्वतन्त्रबाट हरिशरण लामिछाने र जगन्नाथ देवकोटालगायत उम्मेदवार छन्। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट एमाले नेता राई विजयी भएका थिए। कांग्रेस नेतृ अम्बिका बस्नेत दोस्रो र विवेकशील साझाकी सुमित्रा सिंह लामा तेस्रो भए।

एमालेका राई १९ हजार १६९ मतसहित विजयी हुँदा कांग्रेसकी बस्नेतले १४ हजार ८८४ मत र विवेकशील साझाकी लामाले २ हजार २०५ पाए।

गत स्थानीय तह निर्वाचनको परिणामअनुसार यो क्षेत्रमा कांग्रेस र एमालेबीचको मतान्तर मात्र २६४ छ। 

कांग्रेस ११ हजार २१८ मतसहित पहिलो बनेको छ। १० हजार ९५४ मतसहित एमाले दोस्रो बनेको छ। 

यो निर्वाचन क्षेत्रमा पर्ने काठमाडौंको वडा नम्बर ६ बाट महानगर प्रमुख साह ३ हजार ४७६ मत ल्याएर तेस्रो भएका थिए।

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा काठमाडौं–३ मा कांग्रेसको १५ हजार ७९५, एमालेको १४ हजार ८७६, माओवादीको १ हजार ७३०, राप्रपाको १ हजार ३१४, एकीकृत समाजवादीको १ हजार ५६ मत छ। 

काठमाडौं–४


क्षेत्र नम्बर ४ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० समेटिएका छन्। 

यसका साथै बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडाहरु पनि ४ नम्बर क्षेत्रमा पर्छन्।

आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेस महामन्त्री गगन थापा, एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराई, राप्रपाका डा. ठाकुरमोहन श्रेष्ठ, स्वतन्त्रबाट अर्जुन प्रसाई, आकर्षण पोखरेल, राधा पोखरेल र शिवराज पोखरेललगायत मैदानमा छन्। 

२०७४ प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ४ बाट कांग्रेस महामन्त्री थापा २१ हजार ५५८ मत ल्याएर विजयी भएका थिए। 

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका डा. भट्टराईले १८ हजार १४० मत पाएका थिए। तेस्रो भएको विवेकशील साझाकी सुबुना बस्नेतले ३ हजार ४० मत ल्याएकी थिइन्।

स्थानीय  निर्वाचनको मतपरिणामले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेलाई पहिलो स्थानमा देखाएको छ। यो परिणाामले आगामी चुनावमा कांग्रेस महामन्त्री थापालाई चुनौती दिएको छ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा काठमाडौं–४ मा एमालेको पक्षमा १६ हजार ५०७, कांग्रेसको पक्षमा १५ हजार ७६३, नेकपा एकीकृत समाजवादीको २ हजार ४१४, राप्रपाको पक्षमा २ हजार २९३, माओवादीको पक्षमा ८४४ र जनता समाजवादी पार्टी (जसपा) को पक्षमा ३१७ मत छ। 

स्थानीय तह निर्वाचनमा यो क्षेत्रअन्तर्गत पर्ने काठमाडौंका ४ वटा वडाबाट महानगर प्रमुख शाहले ७ हजार ९४० मत पाएका थिए। 

यही मतका आधारमा कांग्रेस महामन्त्री थापाको क्षेत्रमा स्वतन्त्र उम्मेदवारले आँखा लगाएका छन्। 

काठमाडौं–५


काठमाडौं–५ मा सत्ता गठबन्धनले कांग्रेसका युवा नेतालाई प्रतिनिधिसभा सदस्यका लागि ‘डेब्यु’ गराएको छ। 

यसअघि यहाँ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जितेका थिए। यो क्षेत्रमा महानगरपालिकाका २, ३, ४ र ५ नम्बर वडा पर्छन्। 

त्यसैगरी बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ७  पनि यही क्षेत्रमा पर्छन्। टोखा नगरपालिकाका २, ३, ४, ५, ६ र ७ नम्बर वडाहरुसमेत समेटेर निर्वाचन क्षेत्र नम्बर ५ निर्धारण गरिएको छ।

काठमाडौं–मा कांग्रेसका पौडेल, एमालेका पोखरेल, राप्रपाका डा. रामप्रसाद उप्रेती, स्वतन्त्रहरु रञ्जु दर्शना, विजय कँडेल, गोपीलाल न्यौपाने, मधुसुदन पाठकलगायत उम्मेदवार छन्। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल विजयी भएका थिए। 

२३ हजार २९ मतका साथ पोखरेल विजयी हुँदा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए। 

तेस्रो भएको विवेशशील साझाका उम्मेदवार स्वर्गीय उज्वलबहादुर थापाले ६ हजार ८५३ मत ल्याएका थिए।

स्थानीय चुनावको परिणााम हेर्दा यो क्षेत्रमा पनि एमाले नै पहिलो छ। यहाँ पनि एमालेले कांग्रेसभन्दा २ हजार २७९ मत बढी ल्याएको स्थानीय तह निर्वाचनको परिणामले देखाएको छ।

निर्वाचन आयोगका अनुसार यो क्षेत्रमा एमालेका पक्षमा १४ हजार ७१५, कांग्रेसको पक्षमा १२ हजार ४३६ र महानगर प्रमुख शाहको पक्षमा ९ हजार ८ मत खसेको देखिन्छ।

काठमाडौं–६


काठमाडौं महानगरपालिका २६, २७ र २८ नम्बर वडाहरु समेटिएका काठमाडौं–६ मा समेटिएका छन्।

तारकेश्वर नगरपालिकाका १, २, ६, ७, ८, ९, १० र ११ नं. वडा यो निर्वाचन क्षेत्रमा पर्छन्। टोखाका १, ८, ९, १० र ११ नम्बर वडाहरु पनि यही निर्वाचन क्षेत्रमा पर्छन्।

काठमाडौं–६ मा कांग्रेसका भीमसेनदास प्रधान, एमालेका सर्वेन्द्र खनाल र राप्रपाका विष्णुप्रसाद आचार्य प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। प्रधान पूर्वरक्षामन्त्री र खनाल नेपाल प्रहरीको पूर्व प्रमुख हुन्। 

गत प्रतनिधिसभा निर्वाचनमा यहाँ कांग्रेस नेता प्रधान विजयी भएका थिए। प्रधान १६ हजार ७८५ मत पाएर विजयी हुँदा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले १५ हजार ४८५ मत पाएका थिए। तेस्रो भएका विवेकशील साझाका उम्मेवार रमेश चिलुवालले ४ हजार २२५ मत ल्याएका थिए।

स्थानीय तह निर्वाचन परिणामले काठमाडौं–६ मा कांग्रेसलाई पहिलो देखाएको छ। यहाँ कांग्रेसको पक्षमा १७ हजार २७७ र एमालेको पक्षमा १४ हजार ३०३ मत खसेको छ। 

यस्तै माओवादीले १ हजार ८५९ र राप्रपाले १ हजार ८१६ मत पाएका थिए। काठमाडौं–६ अन्तर्गत पर्ने ३ वटा वडाबाट महानगर प्रमुख साहको पक्षमा ३ हजार ७२५ मत खसेको थियो।

काठमाडौं–७


काठमाडौं महानगरपालिकाका १६, १७, १८ र २५ नम्बर वडाहरु निर्वाचन क्षेत्र नम्बर ७ मा समेटिएका छन्। 

नागार्जुन नगरपालिकाका १, २ र ३ वडा तथा तारकेश्वर नगरपाकिलाकाका ३, ४ र ५ नम्बर पनि निर्वाचन क्षेत्र नम्बर ७ मा पर्छन्।

आसन्न निर्वाचनमा यो क्षेत्रबाट सत्ता गठबन्धनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईलाई प्रतिनिधिसभा सदस्यका लागि ‘डेब्यु’ गराएको छ। 

एमालेले यहाँ श्याम घिमिरेलाई उम्मेदवार बनाएको छ। यस्तै राप्रपाबाट ध्रुवविक्रम मल्ल, स्वतन्त्रबाट यादवलाल कायसथ र रवीन्द्रकुमार श्रेष्ठलगायत उम्मेदवार छन्। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–७ बाट एमाले नेता रामवीर मानन्धर १८ हजार १०२ मतसहित विजयी भएका थिए। 

उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विक्रमबहादुर थापाले कांग्रेसको साथ लिएर १० हजार ७९ मत पाएका थिए। तेस्रो भएकी विवेकशील साझाकी अनुपा श्रेष्ठले ५ हजार ३७६ मत ल्याएकी थिइन्।

गत स्थानीय तह निर्वाचन मतपरिणामले यो क्षेत्रमा एमाले १६८ मतले कांग्रेसभन्दा बलियो देखाएको छ। 

वडागत मत विश्लेषणका आधारमा हेर्दा काठमाडौं–७ मा एमालेको पक्षमा १० हजार ६९० र कांग्रेसको पक्षमा १० हजार ५२२ मत खसेको देखिन्छ। 

यो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने वडाहरुबाट महानगर प्रमुख शाहले ७ हजार १९ मत ल्याएका छन्। यो मत कांग्रेस र एमालेको हाराहारी जस्तै सम्मानजनक नै हो।

काठमाडौं–८


स्थानीय तह निर्वाचनको मतअनुसार काठमाडौं–८ मा कांग्रेस र एमालेबीच मात्र २२ मतको फरक देखिएको छ। यो क्षेत्रमा कांग्रेसको पक्षमा १० हजार ८७२ र एमालेको पक्षमा ९ हजार २५३ मत खसेको छ। 

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा काठमाडौं–८ मा एकीकृत समाजवादीको ५ हजार १४२, राप्रपाको ३ हजार १६० र माओवादीको १८९ मत छ। 

यो क्षेत्रमा स्वतन्त्रको पनि बलियो उपस्थिति देखिएको छ। यो क्षेत्रमा पर्ने काठमाडौँका विभिन्न ६ वटा वडाबाट बालेन्द्रले ६ हजार १४५ मत प्राप्त गरेका थिए।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट एमालेका जीवनराम श्रेष्ठ १३ हजार ३९७ मतले निर्वाचित भएका थिए। श्रेष्ठ अहिले एकीकृत समाजवादीमा छन्।

श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी  स्वर्गीय नवीन्द्रराज जोशीले १२ हजार ९५२ मत पाएका थिए। तेस्रो भएका विवेकशील साझाका पुकार बमले ४ हजार ४१४ मत प्राप्त गरेका थिए। पुकार बम अहिले काठमाडौं–१ बाट चुनाव लड्दै छन्। 

काठमाडौं–८ मा महानगरका १३, १५, १९, २०, २३ र २४ नम्बर वडाहरु समेटिएका छन्। साथै, नागार्जुन नगरपालिकाका ४ र ५ नम्बर वडालाई पनि समेटेर यो निर्वाचन क्षेत्र निर्धारण गरिएको छ।

यसपटक यो क्षेत्रबाट सत्ता गठबन्धनका तर्फबाट साविक विजेता एकीकृत समाजवादीका नेता श्रेष्ठ नै चुनावी प्रतिष्पर्धामा उत्रिएका छन्। 

एमालेले शिवसुन्दरराज वैद्यलाई उनीविरुद्ध उम्मेदवार बनाएको छ। यहाँ राप्रपाका प्रकाश रिमाल र स्वतन्त्रतर्फ सुमन सायमीलगायत उम्मेदवार छन्। 

काठमाडौं–९


काठमाडौं महानगरपालिकाका वडा नं. १२, १४, २१ र २२ लाई समेटेर निर्वाचन क्षेत्र नं. ९ बनाइएको छ। 

साथमा चन्द्रगिरि नगरपालिकाका वडा नं. १, १२, १३, १४ र १५ लाई पनि यस क्षेत्रमा समेटिएको छ। त्यसैगरी नागार्जुन नगरपालिकाका ६, ७, ८, ९ र १० नम्बर वडाहरु पनि यो निर्वाचन क्षेत्रमा समेटिएका छन्।

आसन्न निर्वाचनमा यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट माओवादी नेतृ कल्पना धमला, एमाले नेता कृष्णगोपाल श्रेष्ठ आमुनेसामुने छन्। 

राप्रपाका देवेन्द्र प्रधान, विवेकशील साझाका पूर्वअध्यक्ष मिलन पाण्डे, विद्या श्रेष्ठ महर्जन (स्वतन्त्र) लगायतको उम्मेदवारी परेको छ। 

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा काठमाडौं–९ मा कांग्रेसको १९ हजार ९१६, एमालेको १९ हजार २८२, राप्रपाको २ हजार ४०१, माओवादीको ६९५, एकीकृत समाजवादीको ४६५ मत देखिन्छ। 

काठमाडौं महानगरपालिकाका वडा नं. १२, १४, २१ र २२ बाट स्थानीय तह निर्वाचनमा महानगर प्रमुख शाहले मत ५ हजार ९४८ मत पाएका थिए।   

काठमाडौं–१०


काठमाडौं–१० मा चन्द्रागिरी नगरपालिकाका २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिकाको भूगोल समेटिएको छ। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा यहाँ नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित भएका थिए। 

केसी २४ हजार १९० मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी माओवादीका हितमान शाक्यले २१ हजार ९०७ मत प्राप्त गरेका थिए। काठमाडौं–१० मा तेस्रो भएका विवेकशील साझाका प्रदीप ढकालले २ हजार ३ मत पाएका थिए। 

काठमाडौं–१० मा साविक विजेता कांग्रेसबाट नेता केसी र माओवादी केन्द्रबाट अंजना विशंखे उम्मेदवार रहेका छन्।

एमालेले नेता हिमेश केसीलाई चुनावी मैदानमा उतारेको छ। यहाँ राप्रपा नेता बलराम थापा पनि चुनावी प्रतिष्पर्धामा छन्। 

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा काठमाडौं–१० मा कांग्रेस एमालेभन्दा चार हजारभन्दा बढी मतले अगाडि देखिन्छ। 

आयोगका अनुसार स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा पर्ने वडाका वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा कांग्रेसको २४ हजार ६७५, एमालेको १८ हजार ८३८, माओवादीको ४ हजार ९४२, राप्रपाको २ हजार ४९६, एकीकृत समाजवादीको १ हजार ३४२ मत छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .