राजनीति


नवलपरासी पश्चिमका मतदाता भन्छन् : विनोद चौधरीले पनि केही गर्ने आश छैन

नवलपरासी पश्चिमका मतदाता भन्छन् : विनोद चौधरीले पनि केही गर्ने आश छैन

नवलपरासीका मतदातामाझ विनोद चौधरी


नेपालखबर
असोज ३१, २०७९ सोमबार १५:५३, काठमाडौँ

स्थानीय मतदाताले नवलपरासी पश्चिमको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार उद्योगपति विनोद चौधरीबाट पनि कुनै अपेक्षा नगरेको बताएका छन्।

अहिलेसम्म निर्वाचनबाट जितेर सांसद भएकाहरुले नगरेको र सत्तारुढ गठबन्धनको तर्फबाट त्यस क्षेत्रमा उम्मेदवारी दिएका उद्योगपति चौधरीबाट पनि केही होला भन्ने आशा नगरेको उनीहरुको भनाइ छ। 

स्थानीय वैदनाथ खरालले अहिलेसम्म कसैले कही नगरेकाले चौधरीले पनि गर्ने नलागेको प्रतिक्रिया दिए। 

न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले अब जितेर जाने सांसदले बाटोको आवश्यक व्यवस्था मिलाइदिए सहज हुने अपेक्षासमेत गरे। 

उद्योगपति चौधरीले चाहेमा आफ्नो क्षेत्रको सडक बाटोको आवश्यक व्यवस्था २ दिनमा नै मिल्ने बताए।

‘अब उहाँले केही गर्नु होला भन्ने आशा त छैन। तर आशावादी भइ यो बाटो बनाई दिएमा राम्रै हुन्थ्यो', उनले भने, 'तर गर्नुहोला भन्ने आशा छैन है फेरि ढुक्कै । उहाँले चाहे २ दिनमा पनि बाटो बनाइदिन सक्नुहुन्छ । यसमा उहाँले चाहनु पर्‍यो । अहिलेसम्म कसैले गरेका छैनन् । अब कसैले गर्लान् भन्ने आशा पनि छैन।’

केही स्थानीय भने चौधरी आगामी निर्वाचनमा उठ्नेबारे आफूलाई चासो नरहेको बताउँछन्। 

स्थानीय दीननाथ कँडेलले उद्योगपतिलाई आफ्नो क्षेत्रमा नचिनेको भन्दै उनीबाट आशा गर्ने ठाउँ नरहेको बताए। 

जनतालाई खुशी राख्ने, गरिबलाई हेर्ने, रोजगारी दिने काम गर्न सक्छन् कि सक्दैनन्? त्यो बुझेर मात्रै उहाँलाई मतदान गर्न सकिने उनको प्रतिक्रिया थियो । 

‘चिनिएको छैन, जानिएको छैन । चिनिन पर्‍यो । सबैभन्दा ठूलो कुरा चुनाव जितेर गएर उनले के गर्छन्? अनि, हामी जनतालाई के भन्छन्?', उनले प्रश्न गरे, 'जनतालाई खुशी राख्न सक्छन् कि सक्दैनन्? रोजगारी दिने, गरिब जनतालाई हेर्ने काम गर्न सक्छन् कि सक्दैनन्? वास्तवमा हामीले चिनेका पनि छैनौँ।’

नेताहरु व्यक्तिगत स्वार्थका लागि सांसद बन्न चाहेकाले उनीहरुबाट विकास, निर्माणको काममा पनि आशा गर्न सकिने ठाउँ नरहेको केही मतदाताको गुनासो थियो। 

उनीहरुले जनताको पीडा बुझ्ने, सडक बाटा पिच गरिदिने नेतालाई आगामी निर्वाचनमा जनताले मत दिने धारणासमेत राखेका छन्।

कांग्रेसले उद्योगपति चौधरीलाई सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। तर, जनताले भने उनीबाट पनि अपेक्षा गर्ने ठाउँ नरहेको बताएका छन्। 

विगतमा सांसद बनेकाहरुले विकासको लागि कुनै काम अघि नबढाएको भन्दै रुष्ट बनेका स्थानीयहरुले अबकाले पनि जनमुखी काम गर्छन् भन्नेमा विश्वस्त हुने आधार नरहेको बताए। 

उद्योगपति चौधरी एमालेको समर्थनमा उम्मेदवार बनेका जनता प्रगतिशील पार्टीका नेता एवम पूर्वमन्त्री हृदयेश त्रिपाठीसँग चुनावी प्रतिष्पर्धा गर्दैछन्। 

राजनीतिक पृष्ठभूमिका त्रिपाठी र व्यापारिक पृष्ठभूमिका चौधरीबीचको चुनावी प्रतिष्पर्धा रोचक हुने अनुमान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .