राजनीति


मंसिर ४ को चुनाव अग्रगमनकारी र प्रतिगमनकारीबीचको लडाइँ : प्रचण्ड

मंसिर ४ को चुनाव अग्रगमनकारी र प्रतिगमनकारीबीचको लडाइँ : प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
कात्तिक २, २०७९ बुधबार ११:९, काठमाडौँ

सत्तारुढ नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेआगामी मंसिर ४ मा हुने चुनाव अग्रगमनकारी र प्रतिगमनकारीबीच लडाइँ भएको बताएका छन्। 

उनले त्यो चुनावमा सामान्य भोट हाल्ने चुनाव मात्र नभएर प्राप्त उपलब्धिको रक्षा र त्यो उल्ट्याउन चाहने शक्तिबीचको लडाइँ भएको उनको भनाइ छ। 

प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको मिलन स्मारिका विमोचनका क्रममा बुधबार बिहान मंसिर ४ को चुनाव आफूहरूका लागि मात्र नभएर नेपाली जनताकै जीवन–मरणको सवाल भएको उनले बताए।

‘मंसिर ४ गते दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धाराको बीचमा ब्याटल हुँदै छ वास्तवमा। यो संविधान र परिवर्तनलाई उल्ट्याउन चाहने र यसलाई रक्षा गर्दै अझ अगाडि बढ्न चाहने दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धारा जे भने पनि दुइटा शक्ति आमनेसामने छन्’, प्रचण्डले भने, ‘यसैले यसलाई हामीले सामान्य निर्वाचनका रूपमा मात्र लिने छुट छैन। हाम्रो लागि यो निर्वाचन मात्रै छैन। यो जनक्रान्ति र जनयुद्धका उपलब्धि रक्षा गर्ने त्यो उल्ट्याउन खोज्नेबीचको लडाइँ जस्तो छ।’

माओवादीसँग हिजो जस्तो फौज नभएकाले शान्तिपूर्ण प्रतिस्पर्धाबाटै आफ्नो श्रेष्ठता साबित गर्नुपर्ने चुनौती रहेको उनले बताए। 

‘हामीसँग हिजोको जस्तो फौज त छैन। हामी शान्तिपूर्ण प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता साबित गर्ने चरणमा छौं’, प्रचण्डले भने, ‘समाजवादको उद्देश्य प्राप्तिका निम्ति नयाँ तरिकाको बाटो कोर्दै छौं।’

उनले गतसाल झन्डै झन्डै प्रतिक्रान्तिको अवस्था आएको तर त्यसलाई आफूहरूले रोकेको दाबी उनले गरे। 

‘हामी बलियो हुँदा परिवर्तन पनि रक्षा हुन्छ, समाजवादको आधार निर्माण गर्ने वातावरण पनि बन्छ। हामी कमजोर हुँदाचाहिँ सबैथोक उल्टिने खतरा छ’, उनले भने, ‘हाम्रा लागि यो निर्वाचन भोट हाल्ने सामान्य निर्वाचन मात्र होइन। हामी सबैका निम्ति ती महान् सहिदहरू, बेपत्ता, घाइते योद्धाहरू र अपांगहरू र यो क्रान्तिमा सहभागी सम्पूर्ण जनताका निम्ति जीवन–मरणकै संघर्षको रूपमा छ।’

अहिले पनि प्रतिगमनको खतरा नटरेको उल्लेख गर्दै मंसिर ४ गते प्रतिगनकारी र अग्रगमनकारीको शक्ति परीक्षण हुने प्रचण्डले बताए। 

‘तर अहिले पनि प्रतिगमनको खतरा टरेको छैन। मंसिर ४ को चुनावमा शक्ति परीक्षण हुनेवाला छ। प्रतिगमनको शक्ति कति छ, अग्रगमनको शक्ति कति छ, प्रगतिशीलको शक्ति कति छ, प्रतिगामीको चाहिँ शक्ति कति छ भनेर फैसला हुनेवाला छ’ , उनले भने, त्यसकारण पनि यो (निर्वाचन) हाम्रा लागि धेरै महत्वको छ।’     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad